‘विगतका तिता मिठा कुरा त्याग्नु पर्छ र देश बनाउन लाग्नुपर्छ’

 नमोनारायण माझी अध्यक्षका उम्मेद्वार, ग्रामथान गाउँपालिका उपनिर्वाचन

आगामि मंसिर १६ गतेका लागि प्रदेश तथा पालिकाहरुमा रिक्त रहेको जनप्रतिनिधिहरुको पदहरुमा पदपूर्ति गर्न मिति तोकिएको छ । सोही मितिमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मंसिर २ गते उम्मेद्वारको मनोनयन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ । सो उपनिर्वाचनका लागि माओवादी केन्द्रले आफ्नो तर्फबाट नमोनारायण माझीलाई उम्मेद्वार घोषणा गरेर जनताको घरदैलोमा लागेको छ । काँग्रेस र एमालेले भने आफ्नो उम्मेद्वार तय गर्न सकेका छैनन् । निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या २७ हजार ४३९ जना रहेको छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा काँग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत मात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

पालिकाको ७ वटा वडामध्ये एमालेले ५, काँग्रेसले १ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा काँग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत रहेको छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेद्वार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र काँग्रेसको कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेद्वार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।

नमोनारायण माझीले भने त्यसबेला वडा नम्बर १ बाट ८२८ मतका साथ विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सत्यनारायण चौधरीले ५१८ मत पाएका थिए । २०७९ सालको निर्वाचनमा भने वडा नम्बर १ मा काँग्रेसका सुरेशकुमार माझी ७१८ मत ल्याएर विजयी भए । यस्तै एमालेका सत्यनारायण माझीले ७०९ मत ल्याउँदा नमोनारायण माझीले ५५४ मत ल्याएका थिए । विगतका निर्वाचनको मतपरिणाम र सांगठनिक आधार कमजोर रहेको ठाउँमा नमोनारायणलाई पार्टीमा भित्र्याउँदै माओवादीले जित निकाल्ने बताएको छ । यसैसन्दर्भमा हामीले माओवादी उम्मेद्वार माझीसँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानी ।

निर्वाचन हुँदा प्रतिस्पर्धी देखिने दुई ठूला दल काँग्रेस र एमालेले उम्मेद्वारी घोषणा नगर्दै तपाईले चाहिँ उम्मेद्वारी घोषणा गर्न किन हतार गर्नुभएको ?

– हतार भएको होइन । बरु ढिलो भयो । गत भदौ २९ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ग्रामथान ७ नेताचोकमा आयोजित कार्यक्रममा आउनु भएको थियो । त्यसबेला मैले १ हजार देखि ११ सय जनासम्म कार्यकर्ता लिएर त्यहाँ प्रवेश गरेको थिएँ । त्यसैबेला नै अनौपचारिक रुपमा उम्मेद्वार घोषणा भइसकेको थियो । पार्टीको आन्तरिक व्यवस्थापन गर्दा गर्दै औपचारिक घोषणा हुन करिब डेढ दुई महिना लाग्यो । त्यसकारण यो उम्मेद्वारी घोषणा हतार भएको होइन ढिलो भयो । किनकी म आन्तरिक रुपमा चुनावी अभियान लिएर डेढ महिना अगाडिदेखि नै जनताको घरमा गइसकेको छु ।

अगाडि नै उम्मेद्वारी घोषणा गर्दा तपाईले आर्थिक व्यवस्थापन धान्न सक्नु हुन्छ ?

– यो एकदमै गम्भीर विषय हो । तर, माननीय अमनलाल मोदीसहित सिंगो पार्टीको सहयोग मलाइ छ । पहिलो पटक उम्मेद्वारी घोषणा गर्दा अलिअलि खर्च भएको छ । नभए सामान्य ढंगले टोलटोलमा जाने, घरघरमा जाँदा धेरै खर्च हुँदैन ।

तपाईको राजनीतिक आवद्धताको इतिहास के हो ?

– म २०४५ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत महेन्द्र मोरङ क्याम्पसमा राजनीति सुरु गरेको हुँ । ५१ सालमा मैले स्ववियुको चुनावमा नेविसंघबाट उपसभापतिको टिकट पाएको थिएँ । तर, त्यहाँ १७ मतले म पराजित भएँ । ०५४ सालमा काँग्रेसबाट लखन्तरी गाविसको अध्यक्ष उम्मेद्वार भएँ । त्यसबेला मैले एमालेलाई २ मतले पराजित गरेको थिएँ । अहिलेको ग्रामथानको १ नम्बर पर्छ त्यो । ०५९ सालमा हाम्रो पदावधि सकियो । अनि माओवादी द्वन्द्व बढ्दै गयो । त्यतिबेलाको जनप्रतिनिधिको खर्च र जनप्रतिनिधिले पाउने सुविधा धेरै फरक थियो । त्यसबेला मलाई धेरै आर्थिक नोक्सान भयो । अर्कोतिर माओवादीको टार्गेट थियो । त्यसबेला काँग्रेसलाई छानिछानी कारबाही गर्ने अभियान माओवादीले चलाएको थियो । त्यसपछि म विदेशतिर (मलेसिया) गएँ । त्यहाँ ७ वर्ष बसें । ०६७ सालमा फर्किएपछि फेरि दुबइ गएँ र ४ वर्ष बसेँं । चाहना भन्दा बढी मैले आर्थिक व्यवस्थापन गर्न सकेँ । त्यसपछि ०७४ सालमा मैले कसैलाई जिताउने सोचका साथ निर्वाचनमा लागेको थिए । विजयकुमार गच्छदारसँग नजिकबाट चिनिने भएकोले उहाँको उम्मेद्वारलाई जिताउन आएको थिएँ । तर, यहाँ घुम्दै जाँदा मेरै माहोल देखियो । त्यसपछि म फोरम लोकतान्त्रिकबाट वडा नम्बर १ को उम्मेद्वार बने र धेरै मतले जितेँ । ०७९ सालसम्म मैले राम्रैसँग वडाध्यक्षको काम गरेंँ । तर, बिडम्बना काँग्रेसले मैले गर्न चाहेको काममा पनि साथ दिएन । मैले पनि उनीहरुले भनेको मानिन । जनताको पक्षमा काम गर्दा तपाईहरु बाधा गर्नुहुन्छ भने म मान्दिन भने । फेरि म २०७९ मा पालिकाको अध्यक्षको उम्मेद्वारको प्रतिस्पर्धाको दौडमा थिएँ । तर, काँग्रेसले टिकट दिएन । आर्थिक चलखेल भयो । त्यसपछि मैले सोचें गाउँपालिकामा लड्दा स्वतन्त्रको माहोल थिएन । अहिले बालन, हर्क, गोपाल हमालहरुको माहोल आएपनि त्यसबेला गाउँपालिकामा थिएन । खर्च मात्रै हुन्छ जित्न सक्दिन । यो मान्छे कसैलाई जिताउन र हराउन उठेको भन्ने आरोप लाग्ने देखियो । त्यसपछि मैले आफू वडामा जित्छु भनेर उठेँ । किनकी म घरघर चिन्दथें । मैले काम गरेको थिएँ । त्यसपछि मैले स्वतन्त्र उम्मेद्वारी दिएँ । माहोल राम्रो पनि थियो । तर, अन्तिम समयमा यो मान्छेले जितेर के हुन्छ र बजेट ल्याउन सक्दैन, के हुँदैन भनेर प्रचार भयो र मलाई हराइयो । म तेस्रो भएँ । तर, त्यसपछि मेरो क्रेज भने बढिरहेको छ । अहिले पालिकाको जुन क्रियाकलाप छ । वडाले जनताको काम नगर्ने, पालिकाले सेवाग्राहीलाई हप्किदप्की गर्ने, नानाथरी भन्ने, मुद्दा लगाइदिने खालको काम भयो । त्यसको विषयमा मैले विरोध गर्दै आएँ । त्यसपछि माहोल बढ्दै गएको छ । त्यसपछि धेरैजनासँग सल्लाह गरेर म माओवादीबाट टिकट लिएर लड्न लागेको हुँ ।

ग्रामथानमा माओवादीको सांगठनिक अवस्था धेरै कमजोर हो । काँग्रेस र एमालेजस्तो ठूला पार्टीहरु प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा तपाईले कसरी जित्नुहुन्छ ?

– तपाईले भनेको सही कुरा हो । पुरानो पार्टी काँग्रेस र एमालेको टोलटोलमा संगठन छ । तर, अहिले माओवादीबाट माननीय अमनलाल मोदीले २ पटक संघीय निर्वाचन जित्नु भयो । उहाँले केही कार्यकर्ता बढाउनु भएको छ । जब, म काँग्रेसबाट माओवादीमा प्रवेश गरेंँ त्यसपछि ओझेलमा परेका र डरले बाहिर निस्कन नसकेका मानिसहरु पनि अहिले संगठित भइरहेका छन् । जनताहरु नमोनारायणलाई जिताउनु पर्छ भनेर उत्साहपूर्वक आइरहेका छन् । यहाँ लहर पैदा भएको छ । तपाईहरु पनि चोक बजार, चिया पसलमा गएर अनुगमन गर्नुहोला त्यहाँ चर्चा नमोनारायणकै छ । भोली भोट के हुन्छ थाहा छैन । तर, अहिलेको माहोल जित्ने अवस्था छ । किनकी काँग्रेसमा १७ जना उम्मेद्वारका आकांक्षी छन् । एकाआपसमा हानाहान छ । काँग्रैसका ति फेसहरु सबै जनताले चिनेको छ । यस्तै एमालेमा पनि ७–८ जना प्रतिस्पर्धामा छन् । उनीहरुको फेस पनि जनताले चिनेका छन् । त्यसकारण काम गर्ने भनेको नमोनारायण नै हो । उ भएपछि यहाँको विकास राम्रो हुन्छ भन्ने जनतामा परेको छ । अझै मेरो साथमा पूर्व मन्त्री तथा संघीय सांसद अमनलाल मोदी, विजय विश्वास हुनुहुन्छ । मेरो सारथीहरु उहाँहरु नै हुनुहुन्छ । त्यसकारण जनता पनि उत्साहित छन् । पालिकाको कर्मचारीतन्त्रले सेवाग्राहीलाई पनि राम्रो गरिरहेको छैन । विकास निर्माणमा ढिलाइ छ । धेरै रकमहरु फ्रिज भएर गएको छ । त्यो विषयमा हामीले आवाज उठाउँदा मलाई पनि झुठा मुद्दा लगाएका छन् । जनतालाई नै मुद्दा लगाएपछि, जनताको करबाट सेवा सुविधा लिनेले जनताको सानो गुनासो पनि सुन्न नचाहने भएपछि जनताहरु एकदमै आक्रोशित भएको अवस्था छ । यो पालिकामा सुशासन ल्याउने, परिवर्तन गर्ने, समृद्धि गर्ने एउटै मान्छे नमोनारायण हो भनेर जनताले भनिरहेका छन् । अहिले मलाई जिताउन धेरै काँग्रेसका साथीहरु आइरहेका छन् । कोही प्रवेश गरेका छन् । कोही मसँग चुनावमा हिंडिरहेका छन् । त्यसकारण यस पटक ग्रामथानमा मेरो जित सुनिश्चित छ ।

तपाई माओवादी सशस्त्र युद्धको बेलामा माओवादीबाटै भाग्नु भएको थियो । तर, अहिले माओवादीबाटै टिकट लिनुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?

– राज्यसँग लड्दाखेरि क्षति हुन्छ । काँग्रेसले राणाशासनसँग लड्दा खेरि पनि जनताको क्षति भयो । पञ्चायतकालमा एमालेले गरेको झापा आन्दोलनमा त धेरै जनताको हत्या नै भयो । त्यसकारण यो क्षति हुने नै भयो । माओवादीले २५० वर्ष लामो तानाशाह शाही शासनलाई हटाउनका लागि १० वर्ष जनयुद्ध गरेको हो । त्यसबेला धेरै जनताले क्षति व्यहोर्नु पर्यो । कति मानिस सहिद भए, घर परिवार बिहीन भए, अपाङ्गता भए । कति अहिले पनि वेपत्ता छन् । त्यसकारण त्यो राज्यसँगको लडाइ हो । माओवादीको र अरु पार्टीको इतिहास एउटै एउटै हो । तर, अहिले प्रचण्डले भ्रष्टाचार निर्मुलको लागि एउटा अभियान चलाइरहनु भएको छ । सुशासनको लागि अभियान चलेको छ । त्यसबाट प्रभावित भएर म माओवादीमा आएको हुँ । अहिले तीन तहको सरकार, संघ, प्रदेश र स्थानीय सरकार बनाउने मोडल त माओवादीकै हो । तर, त्यो मोडलको सरकारहरु चलाउन माओवादीले राम्रोसँग पाएको छैन । तर, पाउनु पर्ने माओवादीले हो । प्रचण्ड र सिंगो पार्टी लागेपछि केही हुन्छ । विगतका तिता मिठा कुरा त्याग्नु पर्छ र देश बनाउन लाग्नुपर्छ भनेर यता लागेको हुँ ।

तपाईको शैक्षिक योग्यता कति हो ?

– मैले ४९ सालमा आइएसी गरेको हुँ । बिएसीमा हुँदा पहिलो वर्ष क्लियर भएको हो । दोस्रो वर्ष पढ्दादेखि राजनीतिमा लागेँ र पढाइ अलिक लथालिङ्ग भयो ।

सोमबार, १२ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर