कठै ! कक्षा ११ का विद्यार्थीको सास्ती

  केशव निरौला

आम नेपालीले हर्षोल्लासका साथ दसैँ, तिहारजस्ता चाडपर्व मनाइरहँदा भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत विद्यार्थीले भने सास्ती भोग्नुपरेको छ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी)को तीब्र परिवर्तनशील र अदूरदर्शी निर्णयबाट ती विद्यार्थीले पटक–पटक सास्ती बेहोर्नु परेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सर्वप्रथम दसैँलगत्तै शैक्षिक सत्र २०८१-०८२ मा कक्षा ११ भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन (विषय दर्ता) फारम भर्नका लागि सूचना प्रकाशन ग¥यो । उसले कात्तिक १५ गतेसम्म दोब्बर दस्तुर नतिरी विद्यार्थीलाई फारम भर्ने म्याद दियो । सो मितिपश्चात् दोब्बर दस्तुरको व्यवस्था गरियो । उक्त सूचनाबमोजिम हरेक विद्यालयले चाडपर्व मनाउन घरघरमा गएका विद्यार्थीलाई समेत खबर गरेर फारम भर्न भनिरहे । त्यसको केही दिनपछि नै ‘रजिस्ट्रेसन आवेदन फारम भर्ने सम्बन्धि संशोधित सूचना’ सार्वजनिक भयो र कात्तिक ३० गतेसम्म म्याद थपियो । केही विद्यार्थी थपिएको समय हेरेरविद्यालय आउँदा फारम भर्न स्थगन भएको अर्को सूचना आयो ।

तेस्रो पटक प्रकाशित पछिल्लो सूचनामा मिति उल्लेख नभएपनि बोर्डको वेभसाइडमा कात्तिक ४ गते अपलोड भएको पाइन्छ । उक्त सूचनाको बेहोरा यस्तो छ– ‘शैक्षिक सत्र २०८१÷८२ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन (विषय दर्ता) आवेदन फाराम प्रविष्टी एवम् बुझ्ने÷बुझाउने सम्बन्धमा सूचना प्रकाशन गरिएकोमा चाडपर्वका कारण देशका धेरैजसो विद्यालयहरू लामो समयसम्म बन्द रहेकाले रजिस्ट्रेसन सम्बन्धित कार्य गर्न÷गराउन असहज भएको बेहोरा सरोकारवालाहरूबाट अनुरोध भई आएकाले सबै जिल्लाबाट विवरण प्राप्त गरी यस सम्बन्धी सूचना पछि प्रकाशन गरिने भएकाले हाललाई रजिस्ट्रेसन (विषय दर्ता) आवेदन फाराम भर्ने÷भराउने सम्बन्धि कार्य स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

टाढा घर भएका (विशेषतः पहाडी क्षेत्रबाट तराईमा आएर पढ्दै गरेका) विद्यार्थी बल्लतल्ल चाडपर्वसमेत राम्ररी मनाउन छाडेर फारम भर्न विद्यालय आइपुगेको अवस्थामा फारम भर्न स्थगन भएको बेहोराको सूचना प्राप्त हुँदा हदैसम्मको हैरानी भोग्नुपरेको छ । परीक्षा बोर्डले यस्तो चाडपर्वको समयमा कक्षा ११ को रजिस्ट्रेसन फारम भर्न सूचना गर्दा विद्यार्थीले जति सास्ती भोगे त्योभन्दा बढी सास्ती चाहिँ फारम भर्ने कार्य रोकिँदा भयो । बोर्डको यस्तो तीब्र परिवर्तनशील निर्णयको मारमा विद्यार्थीमात्र नभई अभिभावक र विद्यालय प्रशासन पनि परेको पाइन्छ । चाडपर्वमाझ पनि फारम शुल्कको जोहो गर्नुपर्ने अभिभावकको जिम्मेवारी रह्यो भने पटक–पटक विद्यालय जाँदा पनि अन्ततः फारम भर्न स्थगन भएको सूचना सुन्नु विद्यार्थीका लागि विडम्बना बन्यो । यस्तै कतिपय विद्यालय प्रशासनले कामको चाप हेरी कर्मचारीलाई अतिरिक्त पारिश्रमिक दिएर खटाउनुपर्ने अवस्था पनि बन्यो । त्यसो त पछिल्लो समयमा बोर्डको वेभसाइडमा हेर्दा रजिस्ट्रेसन फारम भर्ने पहिलेको सूचना र लगत्तै समय थप भएको सूचना नै देखिँदैन ।

अधिकांश विद्यालयले कक्षा ११ को नियमित पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । धेरैजसो विषयको तेस्रो एकाइसम्मका पाठ पठनपाठन भइसक्यो । एसइई पूरक परीक्षाको नतिजापछि कक्षा ११ मा आएका नयाँ विद्यार्थीको पढाइ छुट्यो । एउटै कक्षामा दुई प्रकारका विद्यार्थीको राम्ररी घुलमिल पनि हुन नपाउँदै दसैँ बिदा भयो । अतः एसईईको पूरक परीक्षाबाट भर्खरै कक्षा ११ मा प्रवेश गरेका कैयौँ विद्यार्थीले विषयको नामसमेत पत्तो नपाई विषय दर्ता गरिसकेका छन् । उनीहरूको एकातिर पढाइ छुटेको छ भने अर्कातिर अञ्जानमै हतार–हतार रजिस्ट्रेसन फारम (विषय दर्ता) गरिसकेका छन् । यसको सुधारका लागि पनि सरोकारित पक्षले विशेष व्यवस्था गर्नैपर्ने हुन्छ ।

यता, एसइई पूरक परीक्षाको नतिजापछि ग्रेडेड भएका विद्यार्थीको छुटेको पढाइका विषयमा स्थानीय सरकार (पालिका)ले समेत औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । मन्त्रालयसहितका अन्य तालुकदार निकाय त झनै मौन छन् । यसले गर्दा गत असार १४ गते प्रकाशित एसइईको नतिजाअनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमितरूपमा कक्षा ११ को पढाइ पूरा गर्ने मौका पाए । तर, असोज ७ गते मात्रै प्रकाशन भएको पूरक परीषामा ग्रेडेड भएका १ लाख १९ हजार ४ सय २५ परीक्षार्थीका लागि कक्षा ११ मा छुट्टै अतिरिक्त सिकाइ हुन सकिरहेको छैन । कक्षा ११ का नवआगन्तुक विद्यार्थीले भोग्नुपरेको यस्तो समस्यालाई कसरी हल गर्ने होला ? सरोकारित पक्षको चाँडै ध्यान पुगोस् ।

मङ्गलबार, १३ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर