प्रदेश मन्त्रालयका सचिव अब मुख्यमन्त्री कार्यालयले खटाउने

विराटनगर । प्रदेश सरकारका मन्त्रालयका सचिवहरु अब सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै खटाउने भएको छ ।

यसअघि प्रदेशका मन्त्रालयमा संघीय सरकारले नै सचिव खटाउने गरेकोमा अब संघीय सरकारले मुख्यमन्त्री कार्यालयमा दरबन्दी अनुसारका सचिव पठाउने र मुख्यमन्त्री कार्यालयले आवश्यक मन्त्रालयमा खटाउने व्यवस्था गरिएको हो ।

प्रदेशका मन्त्रालयमा सहसचिव तहका कर्मचारीले प्रदेश सचिवको रुपमा काम गर्ने गर्दछन् । प्रदेशका मन्त्रालयमा संघीय सरकारले नै सचिव खटाउँदा उनीहरु प्रदेश सरकारप्रति उत्तरदायी नभएको भन्दै मुख्यमन्त्रीहरुले सचिव खटाउने अधिकार प्रदेशलाई नै दिनुपर्ने माग गर्दै आएका थिए । त्यसमा संघीय सरकारले गरेको पछिल्लो निर्णय अनुसार बाटो खुल्ला भएपछि पहिलो चरणमा संघ सरकारले प्रदेशका मुख्यमन्त्री कार्यालयहरुमै सचिवको सरुवा समेत गरेको छ ।

बिहीबार बसेको संघीय मन्त्रिपरिषद्को बैठकले ५९ जना सहसचिवहरुको सरुवा गरेकोमा प्रदेशमा खटाइएका सचिवहरुलाई प्रदेशको मन्त्रालय नतोकी प्रदेश मात्र तोकिएको छ । अब उनीहरु प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएपछि प्रदेश मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा र पदस्थापनको निर्णय गर्नेछ ।

पछिल्लो पटक मुख्यसचिवसँग भएको कुराकानी अनुसार अब सचिवहरु मुख्यमन्त्री कार्यालयमा आउने र प्रदेश सरकारले खाली भएका मन्त्रालयमा खटाउने कोशीका प्रमुख सचिव केदारनाथ शर्माले जानकारी दिए । ‘मौखिक रुपमा त्यहि जानकारी आएको छ,, लिखित भने आइसकेको छैन’ उनले भने ।

कोशी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा यसअघि देखि नै सचिव खाली रहेको थियो भने सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईको संघीय शिक्षा मन्त्रालयमा र आर्थिक मामिला तथा योजना मन्त्रालयका श्यामप्रसाद भण्डारीको अर्थ मन्त्रालयमा सरुवा भएको छ । दुई जनाको सरुवा भएपछि प्रदेशमा तीन जना सचिव खाली भएकोमा संघीय सरकारले हेमराज तामाङ र शंकर नेपाललाई सरुवा गरेर पठाएको छ ।

तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउने भएका हुन् । यस्तै नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउने भएका छन् ।

शुक्रबार, ३२ साउन, २०८१, दिउँसोको ०३:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर