विराटनगर । कतव्र्य ज्यान मुद्दामा राष्ट्रपतिबाट ६ वर्ष अगाडि आममाफी पाएर जेलमुक्त भएका मोरङ उर्लाबारी ५ का ३५ वर्षे सुवास तामाङ शृङ्खलावद्ध जघन्य अपराधमा संलग्न रहेको पाइएको छ । एकपछि अर्को जघन्य अपराध गर्नेको सूचिमा उनको नाम प्रहरीको अभिलेखमा भेटिन्छ ।
तामाङले ६ वर्ष अगाडि मदिरा पिएर आफ्नै साथीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायँ पाएका उनी जेलमा भएकै बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७६ फागुन ७ गतेको प्रजातन्त्र दिवसमा आममाफी पाए । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका उनले फेरि चार वर्षपछि अर्को हत्या गरेका छन् । यस पटक पनि उनले आफ्नै साथीको हत्या गरे ।
सरकारले आनिबानीमा सुधार आएको, अब अपराध गर्ने सम्भावना नरहेको दाबी गर्दै आममाफीयोग्य ठानेर जेलमुक्त गरिएका सुवास उस्तै प्रकृतिको हत्या गरेपछि पक्राउ परेका छन् । उर्लाबारी ४ आइतबारेका २१ वर्षे कुशल दाहालको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी यतिबेला इलाका प्रहरी कार्यालय उर्लाबारीको हिराशतमा छन् । प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
तामाङले लाठी र खुकुरी प्रहार गरेर १५ साउनमा दाहालको गरेको आरोप छ । अरु साथीहरूको साथ लिएर तामाङले दाहाललाई सुरुमा यातना दिएका थिए । त्यसपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । पुरानो रिसइबीबिना नै दाहालको हत्या भएको उनेल बताए । मंगलबार दिउँसो तामाङले दाहाललाई मोबाइल चोरेको आरोप लगाएका थिए । ‘दाहाललाई मंगलबार साँझ ६ बजेको समयमा उनले उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकैको आफ्नो घरमा लगेका थिए । दुईजनाबीचमा पुरानो झगडा–रिसिइबी केही देखिएन । मोबाइल चोरिएको विषयमा तामाङले दाहाललाई बोलाएर छलफल गर्ने भनेका रहेछन्’, एसपी कार्कीले भने, ‘छलफलका लागि भनेर दाहाललाई आफ्नो घरमा लगेका तामाङले त्यहीँ सुरुमा यातना दिए । त्यसपछि छुरा हानेर हत्या गरे, त्यो कुरा उनले स्वीकार गरिसकेका छन् ।’
प्रहरीले अनुसन्धानका क्रममा उर्लाबारी–५ का २५ वर्षीय करण लिम्बू, उर्लाबारी–६ का ३० वर्षीय रिजन आलेमगर र उर्लाबारी–७ का २८ वर्षीय आङसुहाङ देवानले ती दुई युवालाई तामाङको घरसम्म पु¥याउन सघाएको खुलेको छ । हत्याका क्रममा उनीहरूले सघाएको नसघाएको खुलिनसकेको एसपी कार्की बताउँछन् । उनीहरुको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोबाइल चोरिएको विषय आएपछि ती युवाहरूले दाहाल र आचार्यलाई तामाङको घरसम्म पु¥याउन सघाएको देखिएको छ । उनीहरूले दुवै युवालाई लैजान स्कुटर दिएको पाइएको प्रहरीले जनाएको छ । दाहालको हत्यामा हत्यामा लिम्बू, आलेमगर र देवानको संलग्नता भए नभएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूले तामाङको घरसम्म पु¥याउने कार्यमा भने उनीहरु सहभागी भएको देखिन्छ ।
घटनापछि यी तीनैजना युवाहरू फरार छन् । दाहालको हत्यापछि तामाङ पनि फरार भएका थिए । उनलाई प्रहरीले बुधबार दिउँसो मोरङकै सुन्दरहरैंचा नगरपालिका–४ बलिया नजिकबाट पक्राउ गरेको हो । तामाङ को १ ख ६४७१ नम्बरको सार्वजनिक बसमा सवार भएर धरानतिर भागिरहेको अवस्थामा पक्राउ परेका एसपी नवराज कार्कीले बताए ।
आधादर्जन अपराधमा संलग्न
सुवास आधा दर्जन बढी जघन्य अपराधमा संलग्न रहेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ । यसअघि पनि एकजनाको हत्यासहित आधा दर्जन बढी अपराधमा सुवास संलग्न भइसकेको प्रहरीको दाबी छ । उनी सुरुमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका थिए । अदालतबाट दोषी ठहरिएपछि उनी जेलमा बसेर कैद भुक्तान गरिरहेकै बेला राजनीतिक पहुँचका आधारमा सरकारबाट असल चालचलन भएको प्रमाणित गराउँदै राष्ट्रपतिसमक्ष सिफारिस गराउन सफल भए । सोही सिफारिसका आधारमा तत्कालीन राष्ट्रपतिले उनलाई आममाफी दिने निर्णय लिएपछि उनी कारागारबाट छुटेका हुन् ।
मोरङ प्रहरीका अनुसार उनले २०७१ असोज ८ गते राति उर्लाबारी नगरपालिका–२ का नवीन राईको ज्यान लिए । ढुंगाले हानेर नवीनको ज्यान लिएको आरोपमा उनी पक्राउ परेका थिए ।
सुवासले ढुंगाले हानेपछि गम्भीर बनेका नवीन साविकको उर्लाबारी–२ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि लाँदालाँदै बाटैमा उनको ज्यान गएको थियो । त्यसबेला एउटा संयोग कस्तो भएको छ भने तामाङले राईको हत्या गर्दा हालका मोरङ प्रहरी प्रमुख एवम् एसपी नवराज कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीका इञ्चार्ज थिए । उनै इन्सपेक्टर कार्कीको नेतृत्वमा प्रहरीले सुवासलाई पक्राउ गरेको थियो । त्यसबेला तामाङसहित साइँला भनिने २३ वर्षीय रमेश राजधामीलाई पनि २०७७ सालमा कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।
मोरङका तत्कालीन जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले २०७१ माघ २७ गते तामाङविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यो मुद्दामा राजधामीले सफाइ पाएका थिए ।यस मुद्दामा उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश कुमारप्रसाद पोखरेल र शिवराज अधिकारीको संयुक्त इजलासले २०७३ भदौ २९ गते तामाङलाई १० वर्ष कैद सजाय सुनायो । त्यसबेला उच्चले जिल्लाको फैसला उल्ट्याएको थियो ।
त्यसपछि यो मुद्दा सर्वोच्चमा पुग्दा २०७५ जेठ १० गते उच्चकै फैसलालाई सदर गर्दै सजाय १० वर्ष कायम ग¥यो । जिल्ला अदालत मोरङले सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका तामाङको आचारणमा सुधार आएको कारागार व्यवस्थापन विभागको प्रतिवेदनअनुसार राष्ट्रपतिबाट आममाफी मिलेको थियो ।
सरकारले आचरण सुध्रेको निष्कर्षसहित आममाफी दिएर छुटेका उनले त्यसपछि उनी अपराधकर्मलाई रोकेनन् । उनीविरुद्ध त्यसपछि ज्यान मार्ने उद्योग, लागूऔषध र अभद्र व्यवहारको मुद्दा चल्यो ।
उनीविरुद्ध २०७७ सालमा ज्यान मार्ने उद्योगको मुद्दा चल्यो । त्यस मुद्दामा उनी साढे २ वर्ष जेल बसे । २०७७ भदौ ८ गते दोषी ठहर भएपछि उनी २ वर्ष ६ महिनासम्म मोरङ कारागारमा बसे ।
त्यससँगै उनले लागुऔषध ऐनअन्तर्गत पनि मुद्दा खेपे । ब्राउन सुगर बरामद भएपछि मु्द्दा चल्दा उनलाई मोरङ अदालतले १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । तर अन्तिम फैसलाका क्रममा तामाङलाई मोरङ अदालतले २०७७ कात्तिक ७ गते ३ महिना कैद सजाय सुनायो ।
लागुऔषध मुद्दामा दोषी ठहर भएका तामाङ जेलमै थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा जेलमा सजाय काटिरहेका थिए । ती दुई अपराधमा जेलबाट छुटेलगत्तै उनीविरुद्ध २०८० असोज २४ गते अभद्र व्यवहारको अर्को मुद्दा चल्यो ।
त्यसबेला धरौटी तिर्न नसकेर मोरङ कारागारमा चलान भए । तर भोलिपल्ट धरौटी रकम जुटाएपछि उनी रिहा भए । त्यसबेला उनले १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । पछिल्लो पटक रिहा भएको ८ महिना नबित्दै उनले अर्का युवकको ज्यान लिएका हुन् ।