विराटनगरको एउटै केन्द्रबाट एसईई दिइरहेका तिम्ल्याहा

विराटनगर । यही चैत्र १५ गते देखि शुरू भएको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन् । जसमध्ये २ लाख ५३ हजार ६२७ छात्र, २ लाख ५० हजार ७७२ छात्रा र अन्य १५ जना सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सदा झै यस वर्ष पनि एसईई परीक्षाका उल्लेखनीय विभिन्न पाटा छन् । जसमध्ये बिरलै देखिने एउटा परिदृश्य हो– एकै केन्द्रबाट परीक्षा दिइरहेका तिम्ल्याहा विद्यार्थी । मोरङस्थित विराटनगरको कर्ण परिवारमा तिम्ल्याहा बच्चाको रुपमा जन्मिएका २ छोरा र १ छोरीले परीक्षा दिइरहेका छन् । विराटनगरमै रहेको सत्यनारायण माध्यमिक विद्यालयबाट मधुसुदन, शशि र माधवले परीक्षा दिइरहेका हुन् ।

तिम्ल्याहामध्ये मधुसुदन जेठा हुन् भने त्यसपछि बहिनी शशि र माधव सबैभन्दा कान्छा हुन् । उनीहरू २०६५ सालमा विराटनगरस्थित कोशी अस्पतालमा जन्मिएका हुन् । आमा ममता कर्णका अनुसार मधुसुदन र शशि ६ घण्टाको फरकमा जन्मिएका हुन् । यस्तै शशि र माधवबीचको फरक आधा घण्टाको मात्रै छ ।

उनीहरूले सामुदायिक विद्यालयमा पढिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीलाई अंग्रेजी माध्यमका निजी विद्यालयमा पढाउन नसकिएको गुनासो आमा ममताको छ । यद्यपि, पढाइमा तीनै जना अब्बल रहेको उनीहरूलाई पठाउने शिक्षक–शिक्षिका बताउँछन् ।

एकले नजानेका कुरा अर्काले सिकाउने गरेकाले पढ्न सहज भइरहेको तिम्ल्याहाहरू बताउँछन् । पहिला–पहिला विद्यालयमा जाँदा तिम्ल्याहा बच्चा भनेर साथीहरू छक्क पर्ने गरेको उनुभव पनि उनीहरूले सुनाए । तिम्ल्याहा पहिलोपटक देखेको भन्दै साथीहरूले जिस्क्याउने गर्थे,’ मधुसुदन भन्छन् ।

शुक्रवार परीक्षा सकिएपछि परीक्षा केन्द्रभन्दा बाहिर भेटिएका तीनै जनाले आफूहरूको एउटै इच्छा रहेको बताए । लोकान्तरसँगको कुराकानीमा उनीहरूले भविश्यमा विदेश पलायन नहुने अठोट गरे । बरु नेपालमै बसेर शिक्षक बन्ने इच्छा रहेको बताए ।

‘हामीसँग उच्च शिक्षाका लागि विदेश पढ्न जाने पारिवारिक अवस्था छैन,’ तिम्ल्याहाको प्रतिनिधित्व गर्दै माधवले भने, ‘ऋण काढेर भएपनि कमाउनका लागि खाडी जानेसम्म हैसियत होला । तर त्यो पनि हाम्रो सोचाइ छैन । तीनै जनाले विदेश नगइ केही गरौँ, सकेसम्म शिक्षक नै बनौँ भनेर सल्लाह गरेका छौँ ।’

सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको अवस्था देखेर शिक्षक बन्ने इच्छा राखेको उनीहरूको भनाइ छ । ‘हामीजस्तो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको अवस्था ठीक छैन । हामी शिक्षक बनेर यस्ता विद्यालयको पढाइ सुधार्न चाहन्छौँ,’ माधवले थपे ।

विराटनगरकै शंकरपुर आधारभूत विद्यालयमा कक्षा– ५ सम्म पढेका उनीहरूले कक्षा ६ देखि भने आदर्श माध्यमिक विद्यालयमा पढेका थिए । घरको आर्थिक ऋण काढेर छोराछोरी पढाउने गरेको आमा ममता बताउँछिन् । बुवा विवेक कर्ण भने एक उद्योगमा मजदुरी गर्छन् । विगत ३४ वर्षदेखि उनको यो काम गरिरहेका छन् । यसै कमाइबाट उनले तिम्ल्याहासहित ५ जना छोराछोरी पढाइरहेका छन् ।

तिम्ल्याहाका २ जना दिदीलाई आफूहरूले ग्रामीण विकास बैंकबाट ऋण लिएर सिटी कलेजमा पढाइरहेको बुवा विवेकले बताए । ठूली छोरी इसा बीएड पढ्छिन् भने माइली मुस्कानले बीबीएस पढिरहेकी छिन् । ‘नानीहरूले ले पढ्न मन गरेकाले ऋण निकालेका हौँ,’ आमा ममताले थपिन् ।

बुबा विकेकको कमाइले नै उनीहरूको ठूलो परिवार धानिएको छ । यसकारण आर्थिक दृष्टिले दुःखको सीमा नै नरहेको आमा ममता बताउँछिन् । ‘छोराछारीलाई पढाउन गाह्रो भइरहेको छ,’ उनी थप्छिन्, ‘तर उनीहरू आफ्नो खुट्टामा नउभिउन्जेलसम्म हामी भाग्न पनि त मिलेन नि १’ विवेक र ममताको इच्छा पनि भविश्यमा आफ्ना सन्तानले नेपालमै रहेर सरकारी जागिर खाउन् भन्ने इच्छा छ ।

कर्ण दम्पतीका २ वटी छोरी थिए । तर छोराको आशाले तेस्रो सन्तान जन्माएका थिए । तेस्रो जन्माउने हुँदा २ छोरासहित तिम्ल्याहा जन्मिएका हुन् । ‘हामीलाई एउटा छोरा चाहिएको थियो, एउटा छोरा र एउटी छोरी सित्तैमा पाइयो,’ ठट्टा शैलीमा उनले भनिन् ।

आइतबार, १८ चैत, २०८०, बिहानको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर