विराटनगर । जीवनको उत्तराद्र्धतर्फ बढ्दै गरेका ज्येष्ठ व्यक्तिहरु शरीर र स्वास्थ्यले साथ दिँदासम्म सक्रिय बन्न सक्छन् भन्ने उदाहरण विराटनगर ३ का ज्येष्ठ नागरिकहरुले व्यवहारबाटै पुष्टि गरिरहेका छन् ।
वृद्ध अवस्थामा घरमा एक्लै बस्नुपर्दा त्यसले निम्त्याउने निराशा घटाउँदै हरेक दिनलाई उपलब्धिमूलक बनाउने कार्यमा हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजमा आवद्ध सदस्यहरु सक्रिय छन् ।समाजले विराटनगर ३ मा व्यवस्थित भवन निर्माण गरेर संगठित गरेका सदस्यहरुसँग छलफल गर्ने, आपसी सहकार्य गर्ने, अध्ययन गर्ने, सदस्यहरुको पिरमर्कामा सहयोग गर्ने तथा परम्परागत चलन, सीप र संस्कृति संरक्षण आदि कार्यमा ध्यान दिएको छ ।
प्रदेश सरकार, विराटनगर महानगरपालिका, त्यस क्षेत्रका संघीय सांसद आदिको सहयोगबाट भवन निर्माण गरी समाजले आफ्ना गतिविधिहरुलाई व्यवस्थितढंगले संचालन गर्दै आइरहेको छ । त्यतिमात्र होइन समाजमा आवद्ध भएका ज्येष्ठ महिला र पुरुष सदस्यहरुले समाजको सहयोगबाट विभिन्न आयमूलक कामसमेत गर्दै आएका छन् । त्यसबाट ज्येष्ठ नागरिकहरुले फुर्सदको समय सदुपयोग गरेर आयआर्जन गर्नुका साथै परम्परागत सीप संरक्षणमा पनि योगदान गरिरहेको समाजका अध्यक्ष जिवेन्द्रराज घिमिरेले बताए ।
विराटनगर ३ स्थित फुटबल चोक नजिकै रहेको समाजको भवनमा हरेक दिन ३०–४० जना ज्येष्ठ नागरिकहरु भेला हुन्छन् । भेला भएकाहरु आपसमा कुराकानी गर्छन्, कोही लाइब्रेरीमा गएर अध्ययन गर्छन्, कोही विगतमा प्रचलनमा रहेर लोप भएका शव्दहरुको टिपोट गर्छन्, कतिपय आमाहरु नियमित बत्ती कात्छन् त केही बाहरु जनै बनाएर परम्परागत सीप संरक्षण गर्नुका साथै आयआर्जनको काम गर्छन् ।
समाजले बत्ती कात्ने आमाहरुलाई निःशुल्क कपास उपलब्ध गराउने गरेको छ । फुर्सदमा कातेको बत्ती एक लाख पु¥याएर समाजलाई उपलब्ध गराउँदा आमाहरुले ७ हजार ५०० रुपैयाँ कमाउँछन् । समाजले त्यो बत्ती प्रतिलाख ९ हजार रुपैयाँमा बिक्री गरेर भएको मुनाफाबाट संस्था संचालनका लागि राख्ने गरेको छ । अहिले धेरै आमाहरुले यो काम गरिरहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
त्यसैगरी कतिपय बाहरु पनि आफूले लगाउने जनै बनाउने र व्यवसायिकरुपमा बिक्री गर्ने कार्यमा सहभागी छन् । जनै बनाउनका लागि समाजले काँचो धागो उपलब्ध गराउँछ । जनै बनाएर उनीहरुले समाजलाई प्रतिगोटा १४ रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् । ज्येष्ठ नागरिकले उत्पादन गरेको शुद्ध जनै समाजले बिक्री गर्ने गरेको छ ।
तागाधारीहरुको बाहुल्यरहेको समाजमा जनै बनाउने सीप हराउँदै गएको छ । त्यसलाई जीवित राख्न र सीपलाई पुस्तान्तरण गर्न समाजले यो काम गरेको अध्यक्ष घिमिरेले बताए । उनले भने ‘अहिले हामीले लगाउने जनै बनाउन हाम्रा छोरानातिले जान्दैनन्, चीनबाट मेसिनले बनाएको जनै आउन थालेको छ त्यसैले ज्येष्ठ नागरिक हातेमालो समाजले यो कार्यलाई आयमूलक अभियानमा जोडेको र अहिले हामीसँग बिक्रीका लागि २५ सय ओटा जनै बाँकी छन् ।’
समाजले अनुकरणीय केही काम पनि अगाडि बढाएको छ । परम्परागत संस्कृतिभित्र पर्ने पञ्चेबाजा लोप हुँदै गएकोले त्यसको संरक्षण गर्न समाजले विराटनगर महानगरपालिकासँग प्रस्ताव गरेपछि महानगरले पञ्चेबाजा उपलब्ध गरायो । समाजले महानगरकै सहयोगमा बुहारीहरुलाई भेला गरेर पञ्चेबाजा बजाउने तालिम दिलायो । अध्यक्ष घिमिरेले भने ‘बुहारीहरले यो सिजनको दुई ओटा बिबाहमा बाजा बजाएर आर्जन गरिसकेका छन्, एउटा बिबाहमा नाचेरै १० हजार थप कमाएछन् ।’
समाजले आफ्ना सदस्यहरु दुःख बिमार पर्दा घरमा जाने, सान्त्वना दिने, आवश्यक सहयोग गर्ने काम गर्दै आएको छ भने मृत्यु हुँदा अनिवार्य मलामी जाने, समवेदना व्यक्त गर्ने र आजीवन सदस्यको मृत्यु हुँदा संस्थाले नै दाउरा खरिद गरिदिने प्रचलन चलाएका छन् ।६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरु सदस्य हुने समाजका पदाधिकारीहरु सक्रिय छन् । उनीहरुको सक्रियताले अन्य सदस्यहरुलाई पनि सक्रिय बनाउन सहयोग गरेको छ । राज्यका विभिन्न निकायहरुमा पुगेर लबिइङ् गर्ने र सहयोग जुटाएर समाजलाई सबल बनाउने काममा उनीहरु सक्रिय छन् ।
हरेक दिन भेला हुने सदस्यहरुको सुझावमा उनीहरुले निर्माण गरेको एउटा अक्षय कोषमा ३० लाख रुपैयाँ जम्मा गरेका छन् । त्यसको ब्याजबाट हुने आम्दानीबाट बिरामीहरु भेट्न जाँदा फलफूल लैजाने, समवेदना व्यक्त जाँदा हुने खर्च व्यहोर्ने र आजीवन सदस्यहरुमो निधन भएपछि दाउरा खरिद गर्ने काममा त्यो रकम खर्च गर्ने गरिएको छ । समाजमा नियमित मासिकरुपमा स्वास्थ्य परीक्षण गर्ने, मधुमेह जाँच गर्ने आदि व्यवस्था पनि मिलाएको छ ।
यसैबीच मंगलबार पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती समाजको भवनमा पुगेर ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा समाजका तर्फबाट परम्परागत वस्तुहरुको संग्राहलय बनाउन चाहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए भने चतरामा हुन लागेको कुम्भ मेलामा ज्येष्ठ नागरिकहरुलाई जाने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । मन्त्री उप्रेतीले मन्त्रालय ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्न तत्पर रहेको र बजेटको अवस्था हेरेर सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।