ठगीबाट बच्न सचेत बन्नुपर्ने खाँचो

 सम्पादकीय

पछिल्लो समयमा सहकारीबाट बचतकर्ता ठगिएको समाचार सामान्य जस्तै भइसकेको छ । तर, आम सहकारीको अवस्था त्यस्तो हैन । केहि ठूला सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुले बचतकतालाई ठगेका छन् । ठूला सहकारीमा ठगीको घटना भएकोले ठगीको रकम अर्बौ रहेको छ । सहकारीको सिद्धान्त र मान्यता विपरित सञ्चालनमा आएका सहकारीको ठगीधन्दा चल्नुमा नियामक निकाय राज्यको प्रमुख जिम्मेवारी हो । नियामक निकायले प्रभाबकारी काम गर्न नसकेकै कारण बचतकर्ताहरु आफ्नौ सबै सम्पत्ती गुमाएर सडकमा आउने अवस्था बनेको छ । त्यसो त सहकारी ठगी प्रकरणमा सहकारीका सदस्य बचतकर्ताहरु पनि जिम्मेवार छन् । किनकि सहकारी भनेको सबै सदस्यहरुको समान सहभागितामा सञ्चालन हुने संस्था हो । बचतकर्ता अर्थात सदस्यहरुले सञ्चालक र व्यवस्थापकलाई हर्ताकर्ता बनाएकै कारण उनीहरुले बचत रकममाथि ब्रम्हलुट गर्न पाएका हुन् ।

मोरङको कटहरी–२ मा रहेको नवआदर्श सहकारी संस्थाका व्यवस्थापक उमेशकुमार मण्डलले गरेको ठगी हेर्दा पनि कसरी सहकारीमा गडबढी भइरहेको छ भन्ने स्पष्ट हुन्छ । मण्डलले गएको चार वर्षमा सहकारीको एक करोड १५ लाख रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको निश्कर्ष कटहरी गाउँपालिकाले गठन गरेको चार्टर्ड एकाउण्टेन्ट नेतृत्वको अध्ययन टोलीले निकालेको छ । सोही अध्ययन अनुसार अहिले मण्डल जेलमा पुगेका छन् । सहकारीको आर्थिक सहायक हुँदै व्यवस्थापक बनेका मण्डललाई सञ्चालक समितिले व्यवस्थापक बनाउँदै सहकारीको सम्पूर्ण सहायक खाता व्यवस्थापन र कम्प्युटर सफ्टवेयर व्यवस्थापनको जिम्मा दिएको कारण उनले कसैले पत्तो नपाएर बचतकर्ताको रकम अपचलन गरेको देखिन्छ । उनले चार वर्षमा ३८० जना बचतकर्ताको रकम हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनबाट खुलेको छ ।

मुद्दती खातामा जम्मा गर्ने भन्दै बचतकर्तासँग लिएको रकम मण्डलले आफैं चलाउने गरेको लेखापरीक्षणका क्रममा खुलेको छ । जबकि चार वर्षसम्म उनको ठगी सहकारीका सञ्चालक र सदस्यहरुले पनि पत्तो नै पाएनन् । मण्डलले हस्ताक्षर दुरुपयोग गरी सफ्टवेयरमा जथाभावी पुरानो मिति राखेर कागजातबिना तथ्यांक प्रविष्ट गर्ने, प्रविष्ट गरेको तथ्यांक मेटाउने, एक व्यक्तिको बचत अर्को व्यक्तिको नाममा प्रविष्ट गर्ने, एक व्यक्तिको ऋण र सेयर अरु व्यक्तिको नाममा प्रविष्ट गर्ने, ऋण समितिमा ऋण निवेदनका लागि आफुखुसी ऋण प्रवाह गरेर सहकारीको रकम हिनामिना गर्ने गरेको पाइएको छ । उनले सो रकमले चार ठाउँमा घडेरी जोडेको, कटहरीमा ब्रोदर्स वर्कसप र एक घर किनेको देखिएको छ । अहिले अदालतको आदेशले उनको सम्पत्ती रोक्का भएको छ ।

मण्डलले बचतकर्ताको पासबुकमा रकम चढाएपनि सहकारीको खाता र सफ्टवेयरमा नराखेको पाइएको छ । सहकारीका सञ्चालकहरुले बचतकर्ताहरुले बचत माग्न आउँदा रेकर्डमा बचतकर्ताको बचत नदेखेपछि मात्र उनको ठगी थााह पाएका छन् । यसमा सहकारीका सञ्चालकहरुको पनि नैतिक जिम्मेवारी देखिन्छ । सहकारी सञ्चालनको सम्पूर्ण अधिकार एक व्यक्तिमा निहित पारेर मण्डललाई चेक एण्ड व्यालेन्स नगरी सञ्चालक समिति, लेखा समिति तथा ऋण समितका सदस्यले व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेको देखिन्छ । यद्ययी सञ्चालकहरुले बचतकर्ताहरुको बचतको जिम्मा लिएर सहकारी सञ्चालन गर्ने र सबैको रकम क्रमशः फिर्ता गर्ने निर्णय गरेका छन् । जुन सकारात्मक पक्ष हो । सहकारी संस्थामा सञ्चालक र शेयर सदस्य सबैको बराबरी हैसियत हुने भएकोले सहकारीको ठगीबाट बच्न सहकारीको सञ्चालकहरु तथा सबै सदस्यहरु पनि जिम्मेवार हुनुपर्छ ।

बिहिबार, १९ पुष, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर