विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुल्लतर्फका नेपाली काँग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।
निर्वाचनको लागि पुस २३ गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ । कोशीमा सत्तारुढ गठबधनमा आबद्ध दलकै सिट खाली हुन लागेको छ । गठबन्धनले साझा उम्मेदवार उठाउने घोषणा यसअघि नै गरिसकेका छन् ।
दुई पदमध्ये काँग्रेस र माओवादीले १–१ पद लिने तयारी गरेका छन् । यसअघि नै गठबन्धनमा खालीको गठबन्धनभित्रका सिट सम्बन्धित दलले नै लिने र नेकपा एमालेको सिट बाँडफाँड गर्ने सहमति भएको छ । यद्यपी एउटा प्रदेशको सिट अर्को प्रदेशमा साटफेर हुने संभावना पनि रहेको छ ।
राष्ट्रियसभामा २ सिटको लागि मात्र निर्वाचन हुने भएपनि १०० भन्दा धेरै आकांक्षी देखिएका छन् । गठबन्धनको बाँडफाँडमा १ सिट पाउने काँग्रेसमा उम्मेदवार बन्ने आकांक्षी ६३ जनाको नाम पार्टीको प्रदेश कमिटिले केन्द्रमा सिफारिस गरेको छ । यस्तै माओवादी केन्द्रले पनि एक दर्जन हाराहारी नाम केन्द्रमा पठाउँदा विपक्षी दल एमालेले पनि निर्णय गरिसकेको छैन ।
नेपाली काँग्रेसले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित पूर्वमन्त्रीहरु सुजाता कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालसहितको नाम सिफारिस गरेको छ । उनीहरुको नाम सिफारिस गर्दा प्रदेश कमिटिले सिटौलालाई प्राथमिकता दिन आग्रह गरेको छ । पछिल्लो समयमा काँग्रेस सभापति शेरबहादुर देउवासँग एउटै सिटममा रहेको कारण सिटौला उम्मेदवार हुने करिब निश्चित छ ।
नेकपा माओवादी केन्द्रले पार्टीका नेताहरु अजम्बर काङमाङ राई, टंक गिरी र भोगेन्द्र यादव, चम्पा कार्की, समिता कार्की, लक्ष्मी न्यौपाने, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायतको नाम सिफारिस गरेको छ । काँग्रेस र माओवादीबीच सिट बाँडफाँड हुँदा महिला कोटा माओवादीको भागमा पर्ने संभावना छ ।
एमालेले भने अहिले नै नाम सिफारिस गर्ने विषयमा छलफलको सुरुवात नै नभएको बताएको छ । प्रदेशमा गठबन्धन कायम भएमा एमालेको उम्मेदवार पराजित हुने निश्चित रहेकोले पनि एमालेले उम्मेदवार चयनलाई खासै प्राथमिकता दिएको छैन ।
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २१२०, काँग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, काँग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, काँग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ । जुन एमालेको भन्दा १२६४ ले बढि हो ।