काठमाडौँ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरिएको रिटमा बिहीबार सुनुवाइ हुने भएको छ ।
सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा एमालेले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरित सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको भन्दै एमालेले सर्वोच्च अदालत पुगेको हो । रिटमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धब थापा, सभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको मागसमेत गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट बिहीबारको लागि पेसीमा चढेको छ ।
रिट बिहीबार एक न्यायाधीशको इजलासमा पेस हुनेछ । इजलासले अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे निर्णय गर्नेछ ।