विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृर्जना दनुवारको शहीद गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ।
उपसभामुख दनुवारको सचिवालयले विज्ञप्ति जारी गर्दै गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना भई उनको उपचार भइरहेको जानकारी दिएको हो । कोशी प्रदेशसभाको बैठक छलेर काठमाडौं पुगेको आरोप लागेपछि सचिवालयले विज्ञप्ति नै जारी गरेर उनको बारेमा जानकारी दिएको हो ।
‘२०८० भदौ ३ गते बेलुका स्वास्थ्यमा समस्या देखिएको र सो सम्बन्धमा स्थानीय चिकित्सकसँग परामर्श गर्दा हृदय रोगसँग सम्बन्धित समस्या देखिई सुविधा समपन्न अस्पतालमा जान सल्लाह दिए बमोजिम काठमाडौंस्थिति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक कक्षमा भर्ना भई हालसम्म अस्पतालको श्ययामा रहेर उपचार गराइरहनु भएको छ । हालसम्म चिकित्सकको परामर्शअनुसार अस्पतालमै भर्ना भई उपचार गराइरहनु भएको र निजको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी प्राप्त भएको व्यहोरा जानकारी गराउँछु’ स्वकीय सचिव भुवन दाहलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कोशीका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मतका लिनका लागि समय दिएर उनी सोमवार बिहानै काठमाडौं गएकी थिइन् । उपसभामुख बैठक छाडेर हिँडेपछि बैठकको अध्यक्षता अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले गरेका थिए ।
विश्वासको मत दिँदा भने मन्सुरीले पनि मतदान गरेका थिए । सभाको अध्यक्षले मतदान गरेर नियम मिचेको भन्दै एमालेले विरोध जनाइरहेको छ । भोलि कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा जाने एमालेले जनाएको छ ।