विराटनगर । कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले एमालेले आफ्ना सांसदलाई नाटकीय रुपमा अनुपस्थित गराएको बताएका छन् ।
उनले एमालेले संसद विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले किन भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरे ।
‘संसदभित्रबाट बकाइदा विश्वासको मत लिने हो । संसद विघटन गर्न खोजेको होइन । त्यसो भएकोले सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ?,’ आङ्बोले भने, ‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने । अरुको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने ? यो विचित्रको प्रदर्शन प्रदेशसभामा किन गरिरहेका छौं ।’
आङ्बोले घरायसी समस्यामा परेको भन्दै विदा लिएका सांसदहरु एनजिओको कार्यक्रममा सहभागी भएको दृष्टान्त दिए । ‘तीन दिन अगाडिसम्म सहमतिमा फर्कौं, सहजीकरण गरौं, सहकार्य गरौं भन्ने राजनीतिक दलबाटै अहिले असंसदीय क्रियाकलाप भयो । यो सुहाउँदो कुरा होइन,’ उनले भने, ‘बिरामी भएर प्लेनमा चढेर आफैं हिंडेर अस्पतालमा किन लगियो । यसको पुष्टि कसरी हुन्छ ? यसरी यो सदन, संसद र प्रदेशको स्थायीत्वप्रति हामीलाई कति जिम्मेवार र जवाफदेही बनाउँछ ?’
उनले सामान्य विषयमा महिनौं संसद विघटन गर्नेहरुसँग सहज संसदीय अभ्यासको अपेक्षा कति गर्ने भन्ने विषय सोच्ने विषय भएपनि जिम्मेवारी राजनीतिक दलहरुले सकारात्मक सन्देश दिने बेलामा कोशी प्रदेशमा मनपरी भइरहेको दाबी गरे ।