ललिता निवास प्रकरण : सिआईबीले लियो नेपाल र भट्टराईको बयान

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ।

सिआइबीका अनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान लिइएको हो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले सिआइबीलाई बयान दिएको बताए।  उनले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका अधिकारीहरूलाई बताएको जानकारी दिएका छन् ।

भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको बताएका छन् ।सिआइबीको टोलीले घरमै गएर भट्टराईको बयान लिएको हो ।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिएको थियो ।

बयानका लागि सिआइबीको टोली नेपालको पनि घरमै पुगेको थियो। ललिता निवास प्रकरणमा सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। सकेसम्म छिटो प्रतिवेदन बुझाउने गरी काम भइरहेको स्रोतले बताएको छ।

सोमबार, ०४ भदौ, २०८०, दिउँसोको १२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर