विराटनगर । नेपाली काँग्रेसका प्रदेश सांसद गोपाल तामाङले पूर्वी सीमामा कायम रहेको आवागमनको समस्या सामान्यीकरण गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले कोभिडयताको समयमा भारत पश्चिम बंगाल सरकारको नीतिका कारण पूर्वी नाका हुँदै आउने तेस्रो देशका पर्यटकहरु आउन ठप्प रहेको बताए।
‘कोभिडपछि काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर, जस्ता नाकाबाट तेस्रो देशका पर्यटकहरु आउने क्रम ठप्प छ’, सांसद तामाङले भने ‘यसले हाम्रो पूर्वी नाकाको आर्थिक गतिविधिमा ठूलो असर परेको छ। यसलाई सामान्यीकरण गर्न म सरकारसँग माग गर्दछु।’
कोभिडयता पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटक संख्या शुन्य प्रायः छ। भारतीय सरकारले कडाई गरेपछि भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटक संख्या शुन्य रहेको हो। त्यसअघि विश्वका विभिन्न मुलुकका पर्यटक भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने गरेका थिए।
्े
सांसद तामाङले प्रदेशमा हाल फैलिएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। उनले प्रदेशमा प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति घटाउन पनि सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याए।