विराटनगर । संघीय संसदमा भइरहेको छलफलका क्रममा पर्यटन मन्त्रालयले पुस्तिकामा कोशीको नाम पुरानै १ नम्बर प्रदेश लेखेपछि विवाद भएको छ।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उक्त पुस्तिकामा कोशी प्रदेशको नाम प्रदेश नं. १ लेखेका थिए । उक्त विषयमा एमालेका सांसदहरुले विरोध गरेपछि छलफल प्रभावित बनेको छ ।
मन्त्री किरातीले संसद् बैठकमा पेश गरेको पुस्तिकाको पृष्ठ नम्बर ११ देखि १८ सम्म कोशीको साटो १ नम्बर प्रदेश लेखेका छन् । यस विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नियमापत्ति गरेको थियो।
एमाले सचेतक महेश बर्तौलाले संविधानसम्मत प्रदेशसभाको दुईतिहाइ बहुमतबाट जुराइएको नामलाई संघीय सरकारकै मन्त्रीले अस्वीकार गरेको भन्दै नियमापत्ति गरेका थिए।
उनले यति गम्भीर विषयमा मन्त्रीले लापरबाही गरेको भन्दै सच्याएर नल्याएसम्म संसद् अघि बढ्न नदिने चेतावनी दिए। एमालेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै सुदन किरातीलाई बोल्न समय दिएका थिए ।
‘विनियोजन विधेयकमाथिको छलफलका सिलसिलामा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट छलफलका लागि ल्याइएको पुस्तिकाको पृष्ठ ११ देखि १८ सम्म कोशी प्रदेशको नाम १ नम्बर हुन गएको कुरालाई सच्याएर सबैका हातहातमा ल्याउने छु’, उनले भने।
तर त्यसलाई लिएर एमालेले सन्तुष्टि जनाए। उक्त कुरा नसच्चिएसम्म एमालेले उक्त मन्त्रालयको विषयमा छलफल नहुने अडान लिइरह्यो। एमालेको लगातार आपत्ति सभामुख घिमिरेले उक्त कुरा सच्याएपछि मात्रै पर्यटन मन्त्रालयमाथिको छलफल अघि बढ्ने बताए।