विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल पूर्वाधार कोशी अस्पताललाई प्रयोग गर्ने व्यवस्था गर्दै अस्पताल पूर्वाधारका लागि बजेट प्रबन्ध गराउन भूमिका निर्वाह गरेका मन्त्री जीवन आचार्यको पहलमा विराटनगर रिङरोडको योजना अघि बढ्ने भएको छ ।
संघीय योजनामा विराटनगर रिङरोडका लागि बजेटको प्रबन्ध गर्न आचार्यले गरेको पहल अनुसार बजेटको व्यवस्था भएको उनको सचिवालयले जनाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्री आचार्यको सचिवालयका अनुसार विराटनगर रिङरोडको काम अगाडि बढाउन यस पटक संघीय सरकारले बजेट प्रबन्ध गरेको हो । उक्त बजेटबाट सडक कालोपत्रेको बाँकी काम अगाडि बढ्ने बताइएको छ ।
रिङरोड निर्माणलाई गौरवको आयोजनाको रुपमा समावेश गर्न मन्त्रीको लेटरप्याडमै लेखेर संघीय सरकारलाई अनुरोध गरेका थिए । त्यसलाई बजेटमा सम्बोधन गरेको उनका प्रमुख स्वकीय सचिव इश्वरी आचार्यले जानकारी दिए ।
स्वकीय सचिव आचार्यका अनुसार केशलिया खोलामा तटबन्ध निर्माण गर्ने कार्यका लागि पनि बजेटको व्यवस्था गरिएको छ । केशलिया खोला तटबन्ध र विराटनगर रिङरोडको योजनाबाट मन्त्री आचार्यको निर्वाचन क्षेत्रले बढी लाभ लिनसक्ने भएकोले पनि उनले ती दुई योजनालाई प्राथमिकतामा राखेका हुन् ।
त्यस बाहेक बुढीगंगा खानेपानी आयोजनाका लागि पनि बजेटको प्रबन्ध भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसबाट स्वच्छ र गुणस्तरीय पिउने पानीको अभाव झेल्दै आएका बुढीगंगाबासीलाई ठूलो राहत पुग्ने छ ।
प्रदेश सरकारसँग सीमित स्रोत भएका कारण ठूला र धेरै बजेटका योजनाहरु सञ्चालन गर्न मन्त्री आचार्यले संघीय सरकारसँग समन्वय गरिरहेका छन् । यतिबेला संघीय सरकारमा पनि आफ्नै पार्टीको नेतृत्व रहेकोले विकास योजनाका लागि सकारात्मक वातावरण रहेकोले पनि उनले त्यसलाई अवसरको रुपमा उपयोग गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा मन्त्री आचार्यको अगुवाईमा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का सांसद डा. शेखर कोइराला र क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्मासमेतले संयुक्त पहल र लबिइङ गरेका थिए । उनीहरुको पहलकै कारण उक्त योजनाले सकारात्मक परिणाम हासिल गरेको थियो ।
त्यस बाहेक मन्त्री आचार्यले सुन्दरहरैंचा, बुढीगंगा र विराटनगर ४ का केही रणनीतिक सडकहरुको निर्माणका लागि पनि पहल जारी राखेका छन् । आगामी आर्थिक वर्ष २०८०÷८१ मा केही महत्वपूर्ण सडकको निर्माण कार्य अगाडि बढ्ने तय भएको प्रमुख स्वकीय सचिव इश्वरी आचार्यले जानकारी दिएका छन् ।