डुबानले मोरङमा हजारौं कुखुरा मरे, चिन्तामा किसान, सरकारको उपस्थिति देखिएन

विराटनगर । कात्तिक पहिलो साता परेको अविरल वर्षात्का कारण मोरङका फार्महरुमा पालिएका २० हजारभन्दा बढी पंक्षी मरेको किसानहरुले बताएका छन् ।

स्थानीय पालिकाहरुले क्षतिको विवरण संकलन गरिनसकेका कारण यकिन विवरण नआएपनि ३० हजार भन्दा धेरै कुखुरा मरेको व्यवसायी बद्री पराजुलीले जानकारी दिएका छन् ।

अधिक वर्षाका कारण दर्जनौं फार्महरु डुबेको र साना चल्लादेखि बिक्रीयोग्य कुखुरा मरेपछि किसानलाई लाखौं नोक्सानी भएको छ । विराटनगर ४ स्थित जोलाटोलस्थित बलराम थापाको फार्ममा पालिएको २ हजार ५ सय कुखुरा सबै मरेका छन् । ‘मेरो एक हजार लोकल कुखुरा बिक्री गर्न लायकको भइसकेको थियो, तिहारमा कुखुरा बेच्ने तयारीमा रहेको बेला सबै कुखुरा डुबेर मरे,’ किसान थापाले भने ‘दाना, औषधि र अन्य व्यवस्थापन खर्च बाहेक मेरो झण्डै ३ लाख रुपैयाँ सावाँ नै डुब्यो ।’

थापाको फार्म नजिकै रहेको अर्का किसानको फार्ममा पनि एक महिना अघि हालेको एक हजार लेयर्सको चल्ला डुबेर मरेको थापाले जानकारी दिए । जोलाटोलको दुई वटा फार्ममा मात्र ३ हजार ५ सय कुखुरा मरेको र विराटनगर क्षेत्रमा मात्र २० हजार हाराहारीमा कुखुरा मरेको किसानहरुले बताएका छन् ।

विराटनगर र आसपासका एक दर्जन किसानहरुमा लगानी गरेर कुखुरा पाल्दै आएका व्यवसायी बद्री पराजुलीले आफू मातहतमा किसानहरुले पालेको ८ हजार बढी कुखुरा मरेको जानकारी दिएका छन् । उनले किसानहरुलाई झण्डै १५ लाख बराबरको नोक्सानी भएको बताए ।

यस्तै कुखुरा व्यवसायी नवराज काफ्लेले आफू मातहतमा रहेका किसानहरुको चार वटा फार्म डुबेको जानकारी दिएका छन् । चार वटा फार्ममा पालिएका ४ हजार बढी कुखुरा मरेको भन्दै उनले विराटनगर ३ का किसान जमुना न्यौपानेको बिक्री गर्न तयारी अवस्थामा रहेको १५ सय कुखुरा र ५ सय चल्ला डुबेर मर्दा १० लाख भन्दा बढी नोक्सानी भएको जानकारी दिए । विराटनगर १ का बिक्रम राईले पालेको ७ सय, मणिराम न्यौपानेले बुढीगंगा ४ मा पालेको ७ सय कुखुरा मरेको व्यवसायी काफ्लेले जानकारी दिए ।

ठूलो परिमाणमा कुखुरा लगायतका पंक्षी डुबेर किसानलाई क्षति भएपनि सरकारले राहत दिने विषयमा कुनै पहल नगरेकोमा किसानहरु निराश छन् । व्यवसायलाई निरन्तरता दिने गरी सरकारले पीडित किसानहरुलाई सम्बोधन गर्नुपर्ने कुखुरापालक किसान बलराम थापाले बताए ।

मोरङ जिल्लामा कुखुरापालक किसान र कुखुरा व्यवसायीहरु दुवैको संगठन निष्कृय रहेका कारण सम्पूर्ण क्षतिको विवरण संकलन हुन सकेको छैन । भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बाढी र डुबानबाट पंक्षी पालन गरिरहेका किसानमा भएको क्षतिको विवरण मंगलबारसम्म आइपुग्ने बताए । ‘हामीले सबै पालिकाहरुलाई विवरण संकलन फारम पठाइसकेका छौं र वडा तहसम्म पुगेर पालिकाहरुले विवरण संकलन गरिरहेका छन्,’ प्रवक्ता उप्रेतीले भने ‘केही ठाउँबाट विवरणहरु आउन थालेका छन् मंगलबारसम्म सबै विवरण आइपुग्ने अनुमान छ त्यसपछि मन्त्रालयले यकिन गरेर क्षतिको बारेमा जानकारी गराउँछौं ।’

मङ्गलबार, ०९ कार्तिक, २०७८, दिउँसोको १२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर