विराटनगर । नेपाली कांग्रेसको आसन्न असोज ५ गतेदेखि हुने १४ औं महाधिवेशनको चहलपहल गाउँगाउँसम्म पुगेको छ । कांग्रेसको महाधिवेशनको चर्चा भइरहँदा मोरङको नेतृत्वका लागि थुप्रै नेताहरु दौडमा छन् ।
मोरङमा नेपाली कांग्रेसका १४ हजार ५०० जना नयाँसहित ३० हजार ७ सय क्रियाशिल सदस्य छन् । ती सदस्यहरुबाट निर्वाचित जिल्लाका झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रियाबाट जिल्ला समितिको चयन हुनेछ ।
को–को छन् चर्चामा ?
कांग्रेसको १३ औं अधिवेशनबाट मोरङको सभापतिमा डिकबहादुर लिम्बू निर्वाचित भएका थिए । यसपटकको अधिवेशनबाट पनि लिम्बूले आफूलाई सभापतिको दाबेदारको रुपमा अगाडि सारिरहेका छन् । उनी पौडेल–कोइराला प्यानलबाट उम्मेद्वार बन्ने तयारीमा छन् ।
जिल्ला सभापतिकै रुपमा देउवा प्यानलबाट दिलिप गच्छदार र रमेशजंग रायमाझी उम्मेद्वार बन्ने कोशिसमा छन् । यस्तै कृष्ण सिटौला प्यानलबाट यदु विष्ट र मदन संग्रौला पनि सभापतिको दाबी गरिरहेका छन् । विष्टले आफू १ सय प्रतिशत सभापतिको उम्मेद्वार रहेको बताए ।
यस्तै उपसभापतिमा भक्ति माझी, भीम पराजुली, नागेश कोइराला, सुवोध सिंह र मोदराज घिमिरेको चर्चा रहेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । माझी नेता विजय गच्छदार निकट हुन् भने विराटनगर महानगरका प्रमुख पराजुली सिटौला प्यानल, कोइराला र घिमिरे पौडेल–कोइराला प्यानलबाट तथा देउवा प्यानलबाट सुवोध सिंहले उम्मेद्वारी दिने तयारी गरेको स्रोतले बताएको छ ।
यस्तै सचिवमा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र अर्का नेता ललित श्रेष्ठको तथा सहसचिवमा सञ्जय मण्डलको नाम चर्चामा छ । कांग्रेसको विधान अनुसार कोषाध्यक्ष भने निर्वाचित जिल्ला समितिका सदस्यहरुबाट चयन गरिनेछ ।
विधान अनुसार जिल्ला समितिको सभापति १, उपसभापति २, सचिव २, सहसचिव २ जना र १७ वटै पालिकाबाट ३ जना जिल्ला सदस्य निर्वाचित हुने व्यवस्था छ । कांग्रेसको जिल्ला नेतृत्वका लागि पुराना, इमान्दार र निष्ठावान नेताको छवि बनाएका गोपालराज भण्डारी, राणाशासन विरोधी आन्दोलनमासमेत सहभागी भएका शम्भुप्रसाद रिजालका छोरा निरन्जनप्रसाद रिजाल पनि सभापतिको रुपमा चर्चामा छन् ।
मोरङ कांग्रेसको राजनीतिमा कोइराला खेमाको बर्चस्व रहेको चर्चा हुने गरेको छ । तर, सोही खेमामा भएको गुटउपगुटले सो समूहलाई यसअघि कमजोर बनायो । हाल केन्द्रमा शेखर कोइराला, सशांक कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, गुरु घिमिरेलगायतका नेताहरु एकीकृत ढंगले जाने परिस्थिति बनेको खण्डमा मात्रै जिल्लामा पनि जित्न सकिने सो समूहको विश्लेषण छ ।
कोइराला पक्षबाट अन्तिममा डिकबहादुर लिम्बूलाई नै कांग्रेसको सभापतिमा एक्लो उम्मेदवार बनाउने सम्भावना रहेको छ । यता, देउवा पक्षबाट भने गच्छदार नै उम्मेदवार हुने कांग्रेसीहरु बताउँछन् ।
गच्छदारलाई पार्टी सभापति देउवाको मात्रै नभएर यसअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापा र फोरम लोकतान्त्रिकबाट कांग्रेसमा मिसिएका विजयकुमार गच्छदारको पनि समर्थन रहेको बुझिएको छ । थारु तथा मधेशीको बाहुल्य रहेको मोरङमा गच्छदारलाई अगाडि सारिए कोइराला प्यानललाई भारी पर्नसक्ने विश्लेषण गरिएको छ ।
कसरी छानिन्छन् क्षेत्रीय प्रतिनिधि ?
क्षेत्रीय प्रतिनिधिको सहभागीताको लागि विधानको परिच्छेद–३ मा व्यवस्था गरिएको छ । उक्त परिच्छेदको ३ मा गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्बन्धी व्यवस्था छ । बिधान अनुसार १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तिमा ३ जना महिलासहित ९ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नेछ । १५० भन्दा बढी क्रियाशील सदस्य भएको अवस्थामा बढीमा ७५ को सीमाभित्र रही प्रति एक सय थप क्रियाशिल सदस्यमा २ महिलासहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ ।
महिला, दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट (क) बमोजिम प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुई तिहाई संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा तोकिए बमोजिम प्रतिनिधि निर्वाचित हुनेछन् । वडा सभापति प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् ।
प्रदेश १ का अन्य १३ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश १ का ११५७ वटा वडामध्ये मोरङको भने अधिवेशन हुन बाँकी छ । असोज ५ गते वडाको अधिवेशन सकिएपछि असोज ९ गते पालिका अधिवेशन हुनेछ ।
प्रदेश निर्वाचन क्षेत्रमा असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि अधिवेशन सारिएको छ । प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म हुनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।