अर्जुन आचार्य
छिनछिनमै बोली र व्यवहारको टुंगो नभएकाहरूलाई नेपाली शब्दमा दहिचिउरे, नपुंशक जस्तो, द्वैधचरित्र भएको, द्वैधशासन, पिंध बिनाको लोटा, दुईजिब्रे, छेपाराको जस्तो रंग भएको, सकुनी जस्तो व्यवहार भएको, दोक्लागिरी गर्ने, चाप्लुसी, चाटुकार, फिरङ्गीलगायतका शब्दबाट गालीगलौज गरिन्छ । यी सबै चरित्र गत पुस ५ यता नेकपा एमालेका नेताहरुमा देखियो । यसको नेतृत्व स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका अपरिपक्क र दम्भी कदमले पुस ५ यता देश दिशाहिन र गतिहिन बन्यो । कोरोनाले आक्रान्त जनताले उपचार पाएनन्, सहानुभूति पाएनन्, राहत पाएनन् र राज्यको अनुभूति गर्न पनि पाएनन् । यसले हाम्रो राज्यको चरित्र उदाङ्गो भयो र विश्वसामू फेरि आम नेपाली जनता लज्जित हुनुप¥यो । शासक त्यसैमा रमाए, झगडा गरे, गम्भीर भएनन्, जनताको जीवन मरणको विषयलाई मजाक बनाए । समग्र देश र राजनीतिप्रति जनताको वितृष्णा बढेर गयो । नेताहरुको ढुलमुले चरित्रले जनतालाई आक्रोशित बनायो ।गणतन्त्रको बुई चढेर सत्तामा पुगेकाहरुले गरेको अलोकतान्त्रिक र गणतन्त्र विरोधी कदमले व्यवस्थामाथिको प्रहार बढेर गयो । कुँडाकर्कट र पुराना शक्तिहरुले मशान जगाउने कोशिस गरे । अन्ततः सर्वोच्चको असार २८ को फैसलाले मात्र त्यसखालका पश्चगामी तत्व पराजित बने । तर, यसबीचमा भएको एउटा गम्भीर र चुनौतिपूर्ण प्रवृत्ति देखा परेको छ । यसलाई ‘एमाले चरित्र’को रुपमा हामीले व्याख्या गर्न आवश्यक छ ।
एमाले चरित्र नै पूँजीवादी चरित्र हो । आफूलाई जता फाइदा हुन्छ, त्यतै फड्को हान्ने अवसरवादी चरित्र नै पूँजीवादी चरित्र हो । यो कम्युनिष्ट चरित्रभन्दा ठिक विपरित चरित्र हो । पहिलो संसद विघटन भएपछि तत्कालिन नेकपाका नेता तथा सांसदहरु विभाजित भए । अधिकांश सांसद र नेताहरु प्रचण्ड–माधव समूहमा थिए । जसमध्ये पूर्व एमालेसमूहका १२१ सांसदमध्ये माधव–खनाल समूहमा मात्रै ४० भन्दा बढि थिए । प्रतिनिधिसभा विघटन प्रतिगामी हो भन्दै सडकमा आन्दोलन गर्ने र ओलीविरुद्ध आक्रोश व्यक्त गर्ने उनै सांसदहरु जब अदालतले संसद पुनःस्थापना गर्यो विस्तारै दायाँबायाँ गर्न लागे । झनै अदालतले नेकपा विवादमा फागुन २३ गते पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलगअलग हुने निर्णय सुनायो, त्यसपछि भने माधव समूह र ओली समूहमा ओहोरदोहोर गर्नेको लहर नै चल्यो ।
पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेको थियो । ओलीले प्रगतिगामी कदम चालेको भन्दै आलोचना गर्नेहरु विस्तारै ओलीकै पक्षमा लागेर जयजयकार गर्नथाले । त्यसको अग्रपंक्तिमा शेरबहादुर तामाङ दम्पत्ती र विष्णु रिजाललगायत देखिए । दुई दिनअगाडि ओलीको विरोधमा माधव समूहमा लागेका तामाङ दम्पत्ती मन्त्री पाउने भित्री सहमतिपछि ओली समूहमै लागेका थिए ।
ओली समूहले माधव समूहभित्र विभाजन ल्याउन निक्कै कसरत गरिरहेकै थियो । गत चैतमा ओली समूहले नेता नेपालसहित ३१ सांसदलाई स्पष्टीकरण सोधेको थियो । माधवकुमार नेपाल, झलनाथ खजाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई त ६ महिना पार्टीबाट निलम्बनसमेत गरियो । ओली पक्षबाट स्पष्टिकरण, कारबाही, धम्की र प्रलोभनका श्रृंखलाबद्ध प्रयास छताछुल्ल भए । स्मरणीय छ, संविधानको धारा ७६(५) अनुसार राष्ट्रपतिबाट सरकार गठनका लागि आव्हान भयो । त्यसबेला शेरबहादुर देउवालाई समर्थन गर्दै एमालेका २६ सांसदले हस्ताक्षर गरेर बुझाए । त्यसको नेतृत्वकर्ता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल र घनश्याम भुषालहरु नै थिए । दोस्रो पटक जेठ १९ मा प्रतिनिधिसभा पुनः विघटन भएपछि त्यसको विरोध गर्दै ओलीको कदमविरुद्ध नेपाल पक्षले अदालतमा मुद्दा हाल्दा केही दिनअगाडि हस्ताक्षर गर्ने २६ सांसद संख्या घटेर २३ जनामा आइपुग्यो । विचार र राजनीतिक मुद्दाका आधारमा पक्षविपक्ष भइरहेका कम्युनिष्ट पार्टी एमालेका सांसद डर, धाक, धम्की, प्रलोभन र अवसरवादको चंगुलबाट २३ जना बचेका थिए । अदालतमा हस्ताक्षर गर्ने त्यो समूहको संख्या शेरबहादुर देउवालाई विश्वासको मत दिने समयसम्ममा १४ जनामा झ¥यो ।
यसअघि नै एमालेका दोस्रो पुस्ताका युवा र ‘आशालाग्दा’ नेता मानिएका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेका खुट्टी ‘मकैका ढोड’ भइसकेका थिए । धेरैले माधवकुमार नेपाललाई पनि ‘मकैको ढोड’नै भन्ने गर्छन् । तर, यसपटक माधवकुमार नेपालले आफ्नो चट्टानी अडान लिए र ठूलो चुनौतिको सामना अहिले पनि गरिरहेका छन् । आफ्नै पहल र प्रयत्नबाट आएको संसदलाई बचाउनुपर्ने दायित्व नेपाललगायत नेताहरुमा थियो । अन्य पार्टीका नेताहरु (जसपाका)बाहेक खासै यताउता नगरिरहेका बेला एमालेका सांसदहरुको यता र उताको चोचोमोचोले एमाले चरित्र उदाङ्गो पा¥यो । एकातिर सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै परेको मुद्दामा हस्ताक्षर गर्ने र अर्कोतिर पार्टी एकताको नाममा आफ्नै हस्ताक्षर प्रभावित हुनेगरी असार २७ गते राति भएको १० बुँदे सहमतिले त दोस्रो पुस्ता र वैचारिक भनिएका नेताहरु रसातलमा भासिए ।
१० बुँदेका रणनीतिकार बन्न पुगेका माधव समूहका नेता भीम रावल अहिले संकटमा छन् । कसैको सल्लाह नमान्ने र आफैं ठूलो हुने केपी ओलीमा समस्या रहेको बताइरहेको बेला भीम रावलले पत्रकारका सामुन्ने अर्का आफ्नै समूहका नेता सुरेन्द्र पाण्डेमाथि झम्टिएको दृश्यले उनका अघिल्ला कुराहरूलाई नै गिज्याइरहेको थियो । केही दिनसम्म ओली पार्टीको अध्यक्ष र प्रधानमन्त्री केही पनि स्वीकार गर्न नसकिने अभिव्यक्ति दिने उनी अहिले ओलीका ‘प्यारा’ भएका छन् । अर्कोतिर, ओली क्याबिनेटमा मन्त्री पड्काएका प्रेम आलेलगायतका ८ जना सांसदहरुले अप्रत्याशित ढंगले एमाले चरित्र देखाए । आलेले मात्रै होइन आफूले हस्ताक्षर गरेको निवेदनको पक्षमा अदालतले गरेको फैसला अनुसारका प्रधानमन्त्रीलाई मत दिन नसक्ने भन्दै राजीनामा पढ्ने भीम रावल, मत नदिने घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलगायतका ८ जनाले पनि एमाले चरित्र नै देखाइरहेका थिए ।
आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव हाल्ने अर्का एमाले नेता भीम आचार्यको चरित्र त यसअघि नै उदांगिएको हो । केही कसै गरेर भएपनि मुख्यमन्त्री बन्नुपर्ने चाहना र सत्तालिप्साको मृगतृष्णाले आफ्नै नैतिक धरालत छोडेर उनी ओलीको टाङमुनी छिर्न लागेको चर्चा छ । यहाँ स्मरणीय छ माओवादी छोडेर एमालेमा लागेका नेताहरु बादल, टोपबहादुरहरु अपमान सहेर पनि एमालेमै छन् । एक हदसम्म सबै गुम्दा पनि उनीहरु त्यही टाँसिएका छन् । उनीहरुले आफ्नो पक्षधरतालाई ढुलमुल हुन दिएका छैनन् । तर, एमालेका फिरंगीहरुको यता र उताको चरित्र उदेकलाग्दो छ ।
एमालेको अहिलेको असली चरित्र भनेकै एमाले ओली चरित्रको रुपमा पनि व्याख्या गर्न सकिन्छ । किनकी सबैभन्दा बढी ढुलमुले र १८० डिग्रीमा फर्केर आफ्नो स्वार्थ पुरा गर्नेमा स्वयं पार्टी अध्यक्ष केपी ओली पनि छन् । उनले पहिलो पटक प्रधानमन्त्री हुँदा सुशील कोइरालाको अडानले लागेको भारतीय नाकाबन्दीको आफूले सामना गरेको भन्दै जस लिए । तर, त्यसको खास खेलाडी सुशील कोइराला नै थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा चुच्चे नक्साको विषयमा आएर ओलीले झनै ठूलो जस लिन खोजे । उनका वरिपरिका चाटुकारहरूले संसदमा भएको सर्वसम्मती मतदान र तत्कालिन नेकपाको निर्णय जस्ता महत्वपूर्ण कुरालाई ओझेलमा पार्ने प्रयास गरे । तर, थुन्सेले छोप्न खोजेको ओलीको कथित राष्ट्रवादी अनुहार सामन्त गोयल आएर थुन्से हटाएर डोकोले छोपेपछि सबै सामू उदाङ्गो भयो । ओली किर्ते र जालसाँजी गर्छन् भन्ने कुराको प्रमाण त असार २८ मा आएको अदालतको आदेश पढ्नेले थाहा पाइनै सके । त्यसबाहेक आफ्नो कुकर्मलाई ढाकछोप गर्न र आफू कमजोर हुँदा जे पनि गर्न सक्ने ओलीको असली चरित्र अध्यादेश र नागरिकता प्रकरणमा पनि देखियो । त्यति मात्रै होइन राष्ट्रवादको मुखुण्डो निकालेर महतोहरुसँगको साँठगाँठले त उनी रसातलमै भासिए । यसर्थ असली एमाले (कम्युनिष्ट आचरण) अहिले नक्कली एमाले (किर्ते, जालसाँजी, कमिसनखोर, गुण्डागर्दी र अवसरवाद)ले कब्जा गरेको छ । आफ्नो प्रवृत्ती र गरेका व्यवहारसँग मेल खाने गरि पछिल्लो पटक भएको हनुमाने आन्दोलनले एमालेका ओली ‘बा’ र उनका समर्थककको असली चरित्र झनै व्यवहारसँग मिल्दो बनेको छ । यसको उदाहरण नेकपारुपी घर ओलीले भत्काए, त्यसपछि भएको सग्लो एमाले पनि फुटाउने कोशिस गरिरहेका छन् । घरमा आगो लगाएर खरानी ताप्ने प्रवृत्ती अर्थात्, हनुमाने प्रवृत्ती यसैलाई भनिन्छ ।
एमालेसँग अहिले छ नाम ‘एमाले’ र कथित ‘जबज’ भन्ने तीन शब्दको वाक्यभन्दा केही छैन । एमाले एकताको आधार भनेको एमाले नाम र भावनाको ‘जबज’मात्रै बन्न पुगेको छ । तर, यसको संगठन भताभुङ्ग पारिएको छ, व्यक्ति व्यक्तिबीचमा प्रतिशोध, चरम गुटबन्दी, भ्रष्टाचारी चरित्र, लुटी ल्याउँ भुटी खाउँ भन्नेहरु र कमिसन खोरको जमातलाई बढावा दिइएको छ । तर, दोस्रो पुस्ता भनिएकाहरु त्यही तीन शब्दको एमाले र जबजको घण्टी बजाएर आफ्नो अवसरवादी चरित्रलाई छोप्न खोजिरहेका छन् । एमालेले भन्ने गरेको उसबेलाको ९ महिने शासनकालको लोकप्रियताबाहेक अन्य केही गर्न सकेको छैन । जुन ९ महिने शासनकालपछि पनि एमालेका माधव नेपाल, झलनाथ खनाल र केपी ओली (२ पटक) गरी ४ पटक प्रधानमन्त्री बनिसकेका छन् । तर, अहिले एमालेसँग २५ वर्ष अगाडिको ‘वृद्धभत्ता’को घण्टी र स्वर्गीय मदन भण्डारीले लेखेको तत्कालिन कार्यक्रम ‘जबज’को घण्टीभन्दा अरु बजाउने केही छैन ।
चुच्चे नक्साको ‘घण्टी’ सामन्तले अपहरण गरेको एमालेजनलाई थाहा नै होला । अहिले यहि एमाले चरित्रलाई कम्युनिष्ट चरित्रले जित्ने कि हार्ने भन्ने बहस भइरहेको छ । माधव नेपाल कम्युनिष्ट चरित्र (विधि र पद्दती)ले जित्नुपर्छ भन्ने लडाई लडिरहेका छन् । तर, त्यो लडाइँमा कति नेता तथा कार्यकर्ताले अन्तिमसम्म साथ देलान् हेर्न बाँकी छ । किनकि नैतिकताहिन, चरित्रहिन, पूँजीवादी, सामन्ती, भ्रष्टाचार, कुशासन, गुण्डागर्दी, अवसरवादी र विभेदकारी द्वैधचरित्र नै अहिलेको ओली एमालेको चरित्र हो । त्यही चरित्रले कम्युनिष्ट चरित्रलाई पराजित गर्न खोजेको छ । त्यसमाथि विजय हासिल नभएसम्म नेपालमा कम्युनिष्ट आन्दोलनले गति लिन सक्दैन । नभए परम्परागत र पुरानै राज्य प्रणालीमा फर्काउने अहिलेका ओली एमाले प्रवृत्तीले देश र जनतालाई डुबाउने असम्भव कसरत मात्रै गरिरहने देखिन्छ ।