विराटनगर । कोरोनाकालमा मान्छेका लागि घरको चार दिवार नै सबैथोक थियो । घरबाहिर उन्मुक्त भएर हिँड्न बिर्साउने लामो लकडाउनको बोझ थियो । त्यहि बोझ भोग्नेमध्येका एक तन्नेरी थिए, कृशल आले ।

जसले सुरुमा घरभित्रै समय काटे पनि लामो समय त्यसरी बसेनन् । लकडाउनमा अलपत्र परेकालाई खाना खुवाउने अभियानमा सक्रिय रुपमा आफूलाई सामेल गराए ।

विराटनगर ११ का १७ वर्षीय आले विकेभिएम स्कूलमा १२ कक्षामा अध्ययनरत छन् । सधैँ साथीभाईसँग रमाइलो गर्दैै हिँड्ने कृशललाई एकाएक कैदीबन्दी झैं घरभित्र थुनिनुपर्दा दैनिकी बिताउन सकस परेको थियो ।

‘सँधै कलेजको, छिमेकी साथीभाइसँग रमाईलो गर्दै हिँडिरहेको एक्कासी लकडाउन हुँदा अब के गरेर दिन बिताउने भन्ने कुराले सताउँथ्यो’, उनले भने, ‘तर कलेज जानु नपर्ने हुँदाचाहिँ ठिकै हुन्थ्यो । त्यो पनि हप्तादिनसम्म मात्रै रमाइलो भयो । त्यहाँदेखि त कलेज, साथीभाई धेरै मिस हुनथाल्यो ।’

लकडाउनको समयमा मानिसहरु समस्यामा परेका खबर सञ्चार माध्यममा आउनथाले । त्यस्ता पीडादायी समाचारले के गरौं, कसो गरौं हुनथाल्यो, उनलाई । स्कूल पढ्दादेखि आफूभन्दा सिनियरहरुसँग सामाजिक कार्यमा रुची राख्ने कृशललाई लकडाउनको समयमा अप्ठारोमा परेका मानिसहरुलाई सेवा गर्ने इच्छाले नै निःशुल्क खाना खुवाउने ‘हाम्रो अभियान’को टिमसँग जोडेको थियो ।

लामो समयको लकडाउनले अधिकांश सडकपेटीमा जीवन व्यतित गर्ने मानिसहरुको दैनिकी अहसज बन्दै गएको थियो । त्यही समयमा युवा नेता ओसिम आलमको नेतृत्वमा निःशुल्क खाना खुवाउने अभियान अगाडि बढ्यो । त्योबेला निःशुल्क खाना खुवाउने हाम्रो अभियानको कामको बारे सामाजिक सञ्जाल साथै विभिन्न संचार माध्यममा आएको समाचारले रोगसँगभन्दा पनि भोकसँग लड्ने मानिसहरुको सेवामा खटिने निधो गरेको कृशल बताउँछन् ।

‘आफ्नै परिवार टाढाबाट आउँदा एकले अर्कालाई छुने, सँगै बस्ने अवस्था नभएको समयमा घामपानी, रोग नभनी हाम्रो अभियानको टिम खटेको देख्दा मलाई उहाँहरुसँग घुलमिल भएर सामाजिक काम गर्ने इच्छा जाग्यो,’ उनले भने, ‘मैले ओसिम अंकलसँग सल्लाह लिएर हाम्रो जनपथ टोलबाट सेवागर्ने निर्णय गरें ।’ उनले छिमेकी साथीहरुसँग सल्लाह गरेर आफ्नै गोजी र टोलबासीको सहयोगमा निःशुल्क खाना खुवाउन सुरुवात गरे ।

बन्दाबन्दीको अवस्थामा होटलहरु सबै बन्द भएपनि निःशुल्क खाना खुवाउने अभियानलाई श्रीकृष्ण होटलले खाना बनाउनका लागि अभियानभरी निरन्तर सहयोग गरेको थियो । कतिपयले कोरोना सार्छस भन्दै हतोत्साही नबनाएका होइनन् । उनले भने, ‘खाना बाँडेर घर फर्किंदा परिवारले भन्दा पनि साथीभाइले कोरोना लाग्ला है भन्दै आत्मबल घटाउने कुरा गर्थे ।’ घरपरिवारको साथ र टिमको सहकार्यले आत्मबल कहिले नघटेको बताउने उनलाई रोगदेखि कहिले डर लागेन । उनलाई सडक मानव, साथै यातायात ठप्प भएर अलपत्र परेका मानिसहरुको चिन्ता नै बढी भयो ।

‘संकटको बेला सहयोग नगरेर अरु बेला समाजसेवा भन्दै निस्किने हो भने त्यो त स्वार्थ हुन्छ जस्तो लाग्छ’ उनी थप्छन्, हामी त्यो अवस्थामा थियौँ भने हामीलाई पनि त कसैको सहयोगको आवश्यकता पर्दछ, सेवा आफूलाई सम्झेर गर्ने हो जस्तो लाग्छ ।’ पहिलो चरणको लकडाउनमा उनीहरुले ५० दिनसम्म निरन्तर खाना खुवाएका थिए । दोश्रो चरण विराटनरमा समुदायस्तरमा नै कोरोना फैलिएसँगै निषेधाज्ञा जारी भएपश्चात पुनः निःशुल्क खाना खुवाउन सुरुवात गरेका उनीहरुको टिमले १ सय २० दिनसम्म खाना खुवायो ।

निःशुल्क खाना खुवाउने अभियान स्थगित भएसँगै हाल उनीहरु तराईमा लुगा, जुत्ता, चप्पल साथै खाद्यान्न वितरण अभियानमा सक्रिय छन् । अभियानले कसैको सेवा गर्न मात्रै नभएर टिममा काम गर्न पर्छ भन्ने ज्ञान सिकाएको उनको भनाइ छ । ‘हाम्रो टिममा सबैभन्दा सिनियर दाईदेखि घरगृहस्थ चलाउने दिदीहरु पनि हुनुहुन्छ’ उनी भन्छन्, ‘सबै मिलेर काम गर्छौ, यहाँको सिनियर, को जुनियर भन्ने नै छैन । टिम मिले धेरै काम गर्न सकिने रहेछ ।’

जन्मदिन होस् या कुनै चाडपर्व, अभियानको टिमले वस्ती, आश्रममा गएर मनाउने गरेको छ । पैसा अन्य विषयमा खर्च गर्नुभन्दा वस्ती, आश्रममा गएर थोरै दिननसके पनि केहि खुशी बाँड्न सके आर्शिवाद मिल्ने उनको विश्वास छ ।

किशोर अवस्थाको १६ देखि १७ वर्षको उमेर रमाइलो गर्ने उमेर हो । तर, कृशललाई समाजका लागि गरौँ भन्ने धारणा मात्रै आउने गरेको छ । उनलाई सामाजिक कार्यमा आवद्ध नहुँदा कहिलेकाँही साथीहरुले आफूसगैँ धुम्रपान, मद्यपानलगायत सेवनका लागि धेरै दबाब पनि दिने गर्थे । ‘म पहिले सामाजिक काममा आवद्ध नहुँदा मेरा साथीभाइले चुरोट, रक्सी खानलाई भन्थे, तर अहिले त्यो समस्या पनि छैन’ उनले भने ।