कोरोनाको सन्त्रास र हामी

छिमेकी मुलुक चीनको बुहानबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेको छ । विश्वका अधिकांश देशमा यसको संक्रमण फैलिसकेको छ । यसको संक्रमण हाम्रो अर्को छिमेकी मुलुक भारतमा पनि देखा परेको छ । शक्तिशाली राष्ट्रहरु यसको प्रभावबाट जोगिने विभिन्न उपायको खोजमा जुटेका छन् । सार्क राष्ट्रका प्रमुखहरुले समेत यसको प्रभावलाई न्यूनिकरण गर्न र यो महामारीसँग जुध्न मतैक्यता कायम गरेका छन् ।

जसरी कोभिड–१९ को संक्रमण विस्तार भइरहेको छ, त्योभन्दा द्रुत गतिमा यसको विषयमा जोडिएका भ्रमपूर्ण सूचनाहरु फैलिएका छन् । कतिपय सञ्चारमाध्यमले यसका विषयमा सतही समाचार सम्प्रेषण गरेको पाइन्छ । सामाजिक सञ्जालहरुले त बे–लगाम भ्रम फैलाइरहेको पाइन्छ ।

कोभिड १९ लाई लिएर बजारमा कृत्रिम अभाव र कालोबजारीसमेत शुरु भएको छ । यसो हुनुमा तपाईहामी सामाजिक सञ्जाल प्रयोगकर्ताको समेत भूमिका छ कि भन्ने बुझ्न आवश्यक छ । तपाईहामीले गर्ने पोष्ट, सेयर र लाइक गर्ने सामाग्री कतिको आधिकारिक छन् भन्ने बुझ्न आवश्यक छ । किनकि हामीले पोष्ट वा शेयर गर्ने सामाग्रीहरुलाई हामीसँग जोडिएका सयौं÷हजारौंले पनि हेर्छन् भन्ने बिर्सन हुदैन । भनिन्छ नि राम्रो कुराको प्रचार गर्न समय लाग्छ । तर, भ्रम फैलाउन कति पनि लाग्दैन ।

हाम्रो लागि खुसीको कुरा, अहिलेसम्म नेपालमा कोभिड १९ संक्रमित फेला परेका छैनन् । सरकारले यो कुरा बताइरहेको छ । तर, हाम्रो समाजमा बेलाबेला कोरोना संक्रमित फेला परे भन्ने समाचार वा सूचनाले आतंकित बनाउँदै आएको छ । वास्तविकता के हो ? यसको जानकारी हामीले नपाउने वा निकै ढिलो मात्र पाउने गरेका छौं । यसको कारण भनेको हामीले गर्ने हतारको सूचना सम्प्रेषण र आधिकरिक सूचना दिने निकायको अभाव ।

केहि दिनअघि कोरोना संक्रमित ब्यक्ति काठमाडौंबाट भागेर विराटनगर आए भन्ने समाचारले धेरैलाई चिन्तित बनायो । तर, उनलाई कोरोनाको पुष्टि भएको नभई आशंकामा उनी आफंै अस्पताल पुगेका थिए । ढिलो मात्र अस्पतालले उनी कोरोना संक्रमित नभएको जानकारी गरायो । यता कोशी अस्पतालबाट कोरोनाको आशंकामा धरान रेफर, धरान पुगेनन् बिरामी भन्ने समाचारले उसैगरि स्थान जमायो । तर, ती पनि कोरोना संक्रमित भएको पुष्टि छैन ।

कोभिड १९ नभित्रियोस् भनेर सरकारले सीमा नाकाहरुमा सतर्कता अपनाउन थाल्यो । त्यस अनुरुप बाह्य (तेस्रो मुलुक) बाट नेपाल प्रवेश गर्नेहरुका लागि निश्चित नाका तोकियो । तर, भारत सरकारको सूचनाबारे स्पष्ट नहुँदा जोगवनी नाका पूर्ण ठप्प भएको हल्ला फैलियो । यसको प्रभाव ग्यास र नुनमा देखियो । मानिसहरुले आवश्यकताभन्दा बढी जोहो गर्नथाले । यस्ता हल्लाले आम मानिसलाई ठूलो प्रभाव पारेको छ । सन्त्रास फैलाउँछ । यसले अनेकन समस्याहरु सृजना गरिरहेको हुन्छ । यस्तै कारणले बढ्ने हो, कृत्रिम अभाव र कालोबजारी ।

एकातर्फ कोरोनाको कहर बढ्दै गएको छ भने यो मौसम पनि रुघाखोकी लाग्ने समयको रुपमा मानिन्छ । गर्मी चढ्दै गएको मौसममा चल्ने हावा र धुलोका कारण पनि रुघामर्की लाग्ने गर्दछ । कोरोनाको प्रारम्भिक लक्षण पनि रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, घाँटी, टाउको र शरिर दुख्ने, निमोनिया हुनेलगायत रहेको चिकित्सकहरुको भनाई छ । त्यसैले यस्ता लक्षण देखिए चिकित्सकको परामर्श लिनु अनिवार्य हुन्छ । तर, वर्षेनी हामीमा देखा पर्ने यस्ता मौसमी रुघाखोकीका लक्षण देखिदैमा बिनाकारण आत्तिन हुदैन । संक्रमण फैलिएको स्थानमा गएका छैनौं, संक्रमितहरुसँग भेट भएको छैन, बाह्य मुलुकबाट आएका आंशका गरिएका मानिसहरुसँग पनि भेट छैन भने आत्तिनु पर्ने अवस्था छैन ।

यो बेला राज्य संयन्त्रसँगै सबै नागरिकले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । राज्यले आधिकारिक सूचनाहरु समयमै सम्प्रेषण गर्न ढिलाई गर्न हुदैन । सचेत नागरिकले पनि भ्रम चिर्दै सत्यको प्रचार गर्न आवश्यक छ । यसमा सबैको ध्यान जाओस् । कोरोनाको संक्रमणबाट बचौं र बचाऔं ।

बुधबार, ०५ चैत, २०७६, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर