विराटनगर । निष्ठा र आदर्शका लागि पत्रकारिता गर्दागर्दै प्रहरी हिराशतमै हत्या गरिनुभएका पत्रकार कृष्ण सेन इच्छुकको आज १८ औं स्मृति दिवश हो । परिवर्तनका संवाहक अग्रज पत्रकार इच्छुकलाई आज प्रेस संगठन नेपालले देशभर विभिन्न कार्यक्रम आयोजना गरेर सम्झिदैछ ।
पत्रकारिता र साहित्यको माध्यमबाट राजनीतिक चेतना प्रवाह गर्ने क्रममा २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लबमा उहाँको हत्या गरिएको थियो ।
तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले गिरफ्तार गरी चरम यातना दिएर उहाँको हत्या गरेको भएपनि अहिलेसम्म घटनाको सत्यतथ्य छानविन र दोषिलाई कारवाही हुन सकेको छैन ।
वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिनुभएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक हुनुहुन्थ्यो सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उहाँले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिनुभएको थियो । सामान्य लाहुरे परिवारमा जन्मिनु भएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गर्नुभएको थियो ।
बहुआयामिक व्यक्तित्वका धनी उहाँ शिक्षक र राजनीतिकर्मी पनि हुनुहुन्थ्यो । उहाँ एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धासमेत हुनुहुन्थ्यो । नेपाली प्रगतिवादी काव्य फाँटमा उहाँले दरिलो स्थान बनाउनुभएको थियो ।
शहिद कृष्ण सेन इच्छुकको संक्षिप्त परिचय
नाम : कृष्ण सेन ‘इच्छुक’
जन्म : २०१३ कातिक ३
जन्मस्थान : भारतको देहरादुन
आमा : भीमकुमारी सेन
बुबा : यमबहादुर सेन
पत्नी : तक्मा केसी
छोरी : समीक्षा केसी
शिक्षा : बी।एड, एम.ए
आबद्धता :
अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ
संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति
क्षेत्रीय ब्यूरो सदस्य, नेकपा (माओवादी)
केन्द्रीय पार्षद्, प्रगतिशील लेखक संघ, नेपाल
केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ
सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ
प्रकाशित कृतिहरु ः
शोकाञ्जली –२०४८
इतिहासको यस घडिमा (२०५५)
बन्दी र चन्द्रागिरी (२०५७)
सम्पादन :
कलम साहित्यिक त्रैमासिक,
जनादेश साप्ताहिक,
जनदिशा दैनिक, योजना आदि
पुरस्कार :
साहित्य सन्ध्या (२०५७)
पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९)
कृष्णमणि साहित्य पुरस्कार (२०५९)
प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त
प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त
जेल जीवन : दाङ कारागार (६ वर्ष)
बन्दीगृह (१ वर्ष)
सिराहा र राजविराज (२ वर्ष)
शहादत : वि।सं. २०५९ जेठ १३
(महेन्द्र पुलिस क्लबको हिरासतमा)
शहादतपछि प्रकाशित कृतिहरु ः
कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ
इच्छुक रचनावली भाग १,२,३
कवि इच्छुक कविताका सन्दर्भमा
आस्था र निष्ठाका शतिसाल इच्छुक ।