काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक सकिएको छ । नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली भने उपस्थित हुनुभएको थिएन ।
शनिबार अपरान्ह बसेको बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनाबारे छलफल भएको नेताहरुले बताएका छन् । दुबै अध्यक्षको सहमतिमा बैठक बसेको भएपनि आफू आराम गर्ने भन्दै प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ ।
सरकारले आगामी संसद अधिवेशनबाट एमसीसी सम्झौता सदनबाट पारित गर्ने बताउँदै आएको छ । तर, नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा बनाएको कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाब दिएको थियो ।
सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए। बैठकमा नेकपा अध्यक्ष प्रचण्डले एमसिसी परियोजनालाई पार्टीमा छलफल गरेरमात्रै अगाडि बढाइने बताउनुभएको नेताहरुले बताएका छन् ।
बैठकमा बोल्ने स्थायी समिति सदस्यहरूले स्थायी कमिटीको बैठकमा एमसिसीबारे छलफल हुनुपर्ने धारणा राखेका थिए। एमसिसी कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सम्झौताको विश्वसनीयताका लागि पनि अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।
फायल फोटो