तेह्रथुम । तेह्रथुमका २० जना सक्रिय पत्रकारहरुको सामूहिक कोरोना बीमा गरिएको छ ।
कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका १३ जना र समृद्ध तेह्रथुमका लागि अभियानद्वारा सञ्चालित रेडियो तेह्रथुमका ७ जना पत्रकार तथा कर्मचारीको एक–एक लाख रुपैयाँको बीमा गरिएको हो ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको समन्वयमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति लक्ष्मीनारायण मिश्रले स्वर्गीय आमा लक्ष्मीदेवीको स्मृतिमा पत्रकारको कोरोना बीमा गरिदिनुभएको हो । महासंघको सिफारिसमा मिश्रले १३ जना क्रियाशील पत्रकारको बीमा गरिदिनुभएको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताउनुभयो ।
बीमाका कारण अग्रपंक्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको छ । जिल्लामा चार वटा रेडियोमा काम गर्ने रेडियोकर्मीले संकटका बेलासमेत ज्यान जोखिममा राखेर निरन्तर सूचना प्रवाह गरिरहेको भन्दै तीनको पनि बीमा गरिदिन उहाँले आव्हान गर्नुभएको छ ।
बीमा गरिदिएपछि मिश्रले १३ जना पत्रकारको बीमालेख शुक्रबार पत्रकार महासंघका जिल्ला अध्यक्ष ढुंगानालाई हस्तान्तरण गर्नुभएको छ । मिश्रकी आमा लक्ष्मीदेवीको गत वर्ष ९० वर्षको उमेरमा देहावसान भएको थियो । मिश्र जिल्लामा क्रियाशील सञ्चार गैरसरकारी संस्था समृद्ध तेह्रथुमका लागि अभियानका निर्देशकसमेत हुन् ।