कोरोना देखिएपछि शिल गरिएको धनकुटा अस्पताल पुनः संचालन हुने

धनकुटामा हाल सम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ

विराटनगर । अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ ।

१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि धनकुटा अस्पताल संचालनमा आउने जानकारी दिनुभएको हो ।

जेठ ४ गते धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ गते सामाजिक विकास मन्त्रालयका मन्त्री जीवन घिमिरे, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव सहितको विज्ञ टोलीले अनुगमन तथा अध्ययन गरेको थियो ।

अस्पतालको स्थलगत अनुगमनपछि सरोकारवालाहरुको बैठक गरी धनकुटा अस्पताललाई तत्कालका लागि सिल गर्ने निर्णय गरेको थियो ।

जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा धनकुटा अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पताल संवन्धि कार्ययोजना तय गर्न टोली पठाएको थियो । ‘टोलीको सुझाव अनुसार मन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे, प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेन्डेन्ट डा. पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको अनलाइन बैठकवसी धनकुटा अस्पताल पूर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पताल सञ्चालनका लागि आवस्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

धनकुटाको अवस्था अहिले सामान्य तर्फ उन्मुख रहेको छ । धनकुटामा हाल सम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, ०९ जेठ, २०७७, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर