विराटनगर । सरकारले संविधान संशोधनको प्रकृया अगाडि बढाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले संविधान संशोधन सम्वन्धि प्रस्ताव अगाडि बढाउने निर्णय गर्ने बताइएको छ ।
प्रधानमन्त्रीले आज बिहान १० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठकमा संविधान संशोधन गरी अनुसुचि ३ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा अंकित निसान छाप परिवर्तन गर्ने निर्णय लिने बताइएको छ ।
नेपालको संविधानमा देशको पूर्ण नक्सा नभएपनि निसान छापमा नेपालको नक्साको नमुना अंकित गरिएको छ । सरकारले त्यसलाई परिवर्तन गर्न खोजेको छ । संविधानविद् भीमार्जुन आचार्यले भने निसान छापमा अंकित गरिएको नमुना नक्सालाई परिवर्तन गरिरहन आवश्यक नरहेको बताउनुभएको छ । निसान छापमा धेरै प्रकारका अंकित चिन्हहरु भएकोले त्यसलाई पूर्ण चित्रको रुपमा बुझ्न आवश्यक नभएको बताउनुभएको छ । यद्यपी सरकार आगामी दिनमा द्वीपक्षीय वार्तामा बस्दा सकेसम्म सबै प्रमाणहरुलाई बलियो रुपमा प्रस्तुत गर्न देखिएका कमजोरीहरु सुधार्दै अगाडि बढ्न खोजेकोले संविधान संशोधन गरेरै व्यवस्थित गर्ने तयारीमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिन अघिको प्रतिनिधिसभाको बैठकमा बैल्दै संविधान संशोधन गर्न आवश्यक रहेको तर त्यो निसान छाप परिवर्तनका लागि मात्र तत्काल जरुरी परेको बताउनुभएको थियो । संविधान संशोधनका लागि मधेशका विभिन्न मुद्धा र असन्तुष्टि भएपनि सरकारले अरु विषय अहिले नचलाउने देखिएको छ ।