उर्लाबारी । टिपर ब्यवसायीहरुले असुरक्षित बनेको भन्दै काम गर्ने सहज वातावरण तयार गरिदिन माग गरेका छन् ।
मंगलबार मोरङको उर्लाबारीमा पत्रकार सम्मेलन गरी टिपर व्यवसायीहरुले सरकारको नीति नियम पालना टिपर सञ्चालन गरिरहँदासमेत विभिन्न बहानामा अवरोध सिर्जना भएको गुनासो गरे ।
तीन दिनभित्र सहज वातावरणमा काम गर्ने वातावरण तयार नभए सम्पूर्ण निर्माण सामाग्री ढुवानी ठप्प पार्ने टिपर ब्यवसायी समन्वय समितिका संयोजक गोविन्द भट्टराईले चेतावनी दिनुभयो । उहाँले सरकारले तोकेको समयमा टिपर सञ्चालन गर्न तयार गरेको उल्लेख गर्दै कुनैपनि बहानामा सडक अवरोध नगर्दिन सबै पक्षलाई अनुरोध गर्नुभयो ।
इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी, उर्लाबारी नगरपालिकालगायतलाई टिपरलाई सहज वातावरणमा काम गर्ने वातावरण मिलाइदिन टिपर ब्यवसायी संघ उर्लाबारीका अध्यक्ष बबी निरौलाले आग्रह गर्नुभयो । उर्लाबारीमा ४० भन्दा बढी टिपर ब्यवसायी रहेको र करोडौं रुपैयाँ लगानी असुरक्षित बनेकाले सम्बन्धित निकायले चासो दिनुपर्ने उहाँको माग छ ।
कोरोना भाइरसबाट बच्न÷बचाउन टिपर ब्यवसायीहरु सचेत रहेको र सरकारको नीति नियमलाई पूर्ण रुपमा पालना गरेको बताएका छन् । टिपर आंतकका नाममा अनावश्यक रुपमा सडक अवरोध गरी टिपरमाथि आक्रमण गर्ने तथा चालकमाथि धाकधम्की दिने काम भइरहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी प्रशासनलाई टिपर ब्यवसायी योगराज लाबुङले माग गर्नुभएको छ ।
उर्लाबारीमा बबी निरौलाको संयोजकत्वमा उर्लाबारी टिपर ब्यवसायी संघ र गोविन्द भट्टराईको संयोजकत्वमा समन्वय समिति गठन भएको छ । टिपर ब्यवसायी समितिको उपाध्यक्षमा योगराज लाबुङ, सचिबमा रकम श्रेष्ठ र कोषाध्यक्षमा दिपेन खड्का रहनुभएको छ । त्यस्तै, सदस्यमा मिलन श्रेष्ठ, सुदन वदेवा, सुविन श्रेष्ठ, मिलन निरौला, उमेश धिमाल, अर्जुन श्रेष्ठ र रमेश गौतम रहनुभएको छ ।
केही दिन अगाडि टिपर आंतक भएको भन्दै उर्लाबारी–मधुमल्लामा सडक अवरुद्ध गरेपछि टिपर ब्यवसायी संगठित बनेका हुन् ।