विराटनगर । श्रीमति मीना श्रेष्ठ दुलालको योजनामा हत्या गरिएका विराटनगरका औषधि देवीप्रसाद दुलाल श्रीमतिबाट पीडित रहेको उनले लेखेको सामाजिक सञ्जालको स्टाटसले देखाएको छ ।
हत्याको ११ दिन अगाडि वैशाख २३ गते मंगलबार ४ बजेर ३९ मिनेटमा दुलालले फेसबुकमा गरेको पोष्ट उनको मृत्युसँग मिलेको छ । स्टाटसमा उनले श्रीमति कोराना भाइरसलाई तुलना गर्दै दुबैको औषधि नरहेको उल्लेख गरेका छन् ।
‘कोरोनासित लड्ने हो, डराउने हैन । श्रीमतीसित डराउने हो, लड्ने हैन । किनभने अहिलेसम्म दुईवटैको औषधि आएको छैन’ फेसबुकमा दुलालले लेखेको पाइएको छ । श्रीमतिसँग डराउनुपर्ने स्टाटस लेखेको ११ औं दिनमा उनको श्रीमतीकै योजना र संलग्नतामा हत्या भयो ।
हत्यापछि अनुसन्धानका क्रममा फेला पारिएको स्टाटस प्रहरीले पनि नोटमा राखेको छ । यो स्टाटसले श्रीमतिसँग उनको सम्बन्ध पहिलेदेखि नै नराम्रो रहेको र श्रीमतिसँग उनी डराएको देखाएको छ । श्रीमतिसँग सम्बन्ध राम्रो नभएकै कारण उनीहरु एउटै कोठामा छुट्टाछुट्टै बेडमा सुत्ने गरेको देखिएको छ । शनिबार राति मदिरा सेवन गरी निदाएको बेला श्रीमति र उनले बोलाएका दुई जनाले उनको हत्या गरेका थिए ।
स्टाटसको भाव हेर्दा श्रीमतीले धेरै तनाव दिने गरेको हुनसक्ने प्रहरीको बुझाइ छ। श्रीमतीसँग त्रसित र आतंकित थिए रहेको अनुमान प्रहरीले पनि गरेको छ । तर, उनी किन थप प्रक्रियामा नगई बसे भन्ने अनुसन्धानको क्रमा रहेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।
दुलालको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहाको लाहान नगरपालिका–१० घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी–१२ का २० वर्षीय सोनु साहको संलग्नता रहेको पुष्टि भइसकेको छ । उनीहरु तीनै जना पक्राउ परिसकेका छन् ।
सुतेको समयमा तीनै जनाले प्लाष्टिकको डोरीले घाँटी कसेर दुलालको हत्या गरेका थिए । हत्यापछि दुई जनालाई पठाएर मिनाले ३ घण्टापछि श्रीमान बेहोस रहेको भन्दै छिमेकी बोलाएर गोल्डेन असपताल लगेकी थिइन् ।
अस्पतालले मृत्यु भइसकेको बताएपछि रुवाबासी गरेकी मीनालाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सुरुदेखि नै हत्यामा उनकै संलग्नता रहेको आशंका गरेको थियो । नभन्दै २४ घण्टा नवित्दै प्रहरीले हत्यामा संलग्न तीनै जना पक्राउ गरि सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न तीनै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।