काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको नक्सा सच्याउँदै लिम्पियाधुरासहित समेटिएको नयाँ नक्सा स्वीकृत गरेको हो ।
भूमि सुधार मन्त्रालयले लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सा पेश गरेको थियो। भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई सरकारले स्वीकृत गरेको हो ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । यसअघि संसदले नयाँ नक्सा जारी गर्न ६ महिना अगाडि नै सरकारलाई निर्देशन दिएकोमा ढिलाई भइरहेको थियो । भारतले नेपाली भूमिमा सडक बनाएर उद्घाटन गरेपछि चौतर्फी दबाबबीच सरकारले नयाँ नक्सा पारित गरेको हो ।
‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको नक्सा पारित गरिएको हो । अब यो नक्सा नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरूमा लागू गर्नेगरी अगाडि बढाएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।
नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । यो नक्सा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुने खतिवडाले बताउनुभयो ।
भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।