लकडाउन लम्ब्याउन सिफारिस

काठमाडौं । सरकारले गठन गरेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईंश्वर पोखरेल नेतृत्वको समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको समितिका सचिब नारायण विडारीले जानकारी दिनुभयो ।

लकडाउनको निरन्तरताले संक्रमण विस्तार रोकेको समितिको निश्कर्ष छ । यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । सम्भवत १५ दिनको लागि लकडाउन थप हुनसक्छ । सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण २ जनाको मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो । जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रमा लकडाउन कडा पारेर अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन् ।

स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाउने र मापदण्ड अनुसार सञ्चालन गर्ने, स्वास्थ्यकर्मी र अग्रभागमा रहेकाहरुको सुरक्षालाई प्रथमिकता दिने, आपूर्ती व्यवस्थालाई मजबुद् बनाउने समितिले निर्णय गरेको बिडारीले जानकारी दिनुभयो । समितिको बैठकमा भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्नेबारे पनि छलफल भएको छ । यूएई लगायतका देशले आफ्नो नागरिक लैजाऊ भनेर दबावसमेत दिन थालेकोले उद्दारका लागि गृहकार्य थालिएको हो ।

यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सो विषय अलपत्र बनेको थियो । अब प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।

आइतबार, ०४ जेठ, २०७७, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर