लेखा सभापति पाेखरेलले भने: मेरी श्रीमती घरमै छिन्

विराटनगर । माेरङ धनपालथान ३ मा रहेकाे उमागाैरी कृषि सहकारी ठगी प्रकरणमा फरारकाे सूचीमा रहेकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पाेखरेलकी पत्नी अञ्जला काेईराला घरमै रहेकाे खुलेकाे छ ।

लेखा समिति सभापति पाेखरेलले मंगलबार हुलाक खबरलाई दिएकाे अन्तरवार्ताका क्रममा आफ्नी श्रीमती घरमै रहेकाे बताएका हुन् ।

तपाईंको श्रीमती अहिले कहाँ हुनुहुन्छ भन्ने प्रश्नमा पाेखरेलले उल्टाे प्रश्न गरे, तपाईंको श्रीमती चाहिँ कहाँ हुनुहुन्छ ?´ । जवाफमा पत्रकारले मेराे श्रीमती घरमै हुनुहुन्छ भनेपछि पाेखरेलले पनि मेराे पनि त्यही हाे, कहाँ जानू जङ्गलमा जाने कुरा भएन´ भनेका छन् । अदालतले भनेकाे समयमा उपस्थित हुने पनि उनले बताएका छन् ।

सहकारी ठगी मुद्दामा फरार रहेकी श्रीमती अञ्जला कोइरालाको विदा थप गरिदिन पोखरेलले विद्यालयमा फोन गरेको खुलेको थियाे । तर, साेमबार बसेकाे सार्वजनिक लेखा समितिकाे बैठकमा जवाफ मागेका सांसदलाई फरार श्रीमतीकाे विषयमा केही बाेलेका थिएनन् । मंगलबार नै पनि पाेखरेलले आफ्नी श्रीमती कहाँ रहेकाे भन्नेबारे थाहा नभएकाे जवाफ दिँदै आएका थिए ।

सहकारी ठगी विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेकी सहकारीकी पूर्वसञ्चालक कोइराला कार्यरत विराटनगरको महेन्द्र रात्री माविमा प्रतिनिधिसभाको लेखा समितिका सभापति रहेका उनका श्रीमान पोखरेलले फोन गरेर विदा थप गरिदिन आग्रह गरेकाे मंगलबार नै सार्वजनिक भएकाे थियाे ।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले मंसिर २७ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि शिक्षिका कोइराला फरार छन् । मुद्दा दर्ताको भोलिपल्ट २८ गते विद्यालयमा हाजिर भएकी उनी त्यसपछि ५ दिनको विदा लेखेर फरार भएकी थिइन् ।

सहकारी ठगीमा श्रीमतिविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लेखा समितिको आइतबार बसेको बैठकमा सांसदहरुले सभापति पोखरेलको राजिनामा मागेका थिए । माओवादीका सांसदले राजीनामा माग गर्दा एमालेका सांसद योगेश भट्टराईले पनि त्यसबारे पोखरेलले जवाफ दिनुपर्ने र श्रीमति अदालतमा हाजिर हुनुपर्ने बताएका थिए ।

श्रीमती कोइरालाले लिएको ५ दिनको विदा गत शुक्रबार सकिएको छ । थप विदाको पत्र पाेखरेलले नै डिजिटल माध्याम मार्फत साेमबार पठाएकाे महेन्द्र रात्री माविका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले बताएका थिए ।

पराजुलीका अनुसार पोख्रेलले पठाएको पत्रमा अनिश्चितकालकाे लागि बिरामी विदन माग गरिएकाे छ ।
उमागौरी सहकारीको २२ करोडभन्दा बढि रकम अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । सो मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले फरार रहेकाहरु विरुद्ध ३५ दिने अदालती पूर्जी जारी गरिसकेको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ ।

अनुसन्धानमाअसहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३०० रुपैयाँ शेयर रकम र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ । जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७हजार ८३२ उठ्न बाँकी देखिएको उल्लेख छ ।

धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी सहकारी प्रकरणमा सभापति पोखरेलपत्नी अञ्जलासहितका फरार २५ जनाविरुद्ध पुस ३ गते मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

बुधबार, १० पुष, २०८१, बिहानको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर