विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारले तय गरेको लगानी सम्मेलन भव्य हुनुपर्ने बताउँदै सम्मेलनमा निजी क्षेत्रलाई नजुधाउन सरकारलाई सुझाब दिएको छ ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार पत्रकार सम्मेलन गरी सरकारको गतिबिधिको कारण लगानी सम्मेलन सफल हुनेमा अन्यौलता देखिएको बताए ।
सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने सुझाब दिँदै आङ्बोले प्रदेशमै पहिलो चोटी हुन लागेको लगानी सम्मेलनमा एउटा निजी संस्थालाई मात्र च्याप्ने प्रयास गलत भएको बताए । लगानी सम्मेलन सरकारले नै भव्य रुपमा गर्नुपर्ने भन्दै उनले टेण्टभित्र सम्मेलनको उद्घाटन गर्ने प्रयास प्रदेशकै लागि लज्जाको विषय हुने बताए ।
माघको दोस्रो सातामा तय गरेको लगानी सम्मेलनको व्यवस्थापन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग संगठन मोरङलाई दिने मौखिक निर्णय गरेपछि विराटनगरका उद्योगी नै विभाजित भएका छन् । नेपाल उद्योग परिसंघले एउटा संस्थालाई च्यापेर लगानी सम्मेलन व्यवस्थापनको जिम्मा दिएमा बहिष्कार गर्ने चेतावनी दिएको थियो ।
सम्मेलनको उद्घाटनको व्यवस्थापनको जिम्मा आफूहरुलाई दिएको उद्योग संगठनले जनाएको थियो । नेपाल उद्योग वाणिज्य संघले सरकारले उद्योग संगठनलाई लागनी सम्मेलनको व्यवस्थापनको जिम्मा दिएको भन्दै धन्यवादसमेत दिएको थियो । मुख्यमन्त्री कार्कीले उद्योग संगठनले आयोजना गर्ने व्यापार मेलामा सम्मेलनको उद्घाटनको तयारी गरेका थिए । त्यसप्रति आलोचना भइरहेकोमा माओवादी केन्द्रले पनि सरकारको तयारीप्रति असहमति जनाएको हो ।
सम्मेलनमा देश तथा विदेशबाट आउने लगानीकर्तालाई मेला उद्घाटनको टेण्टमा राख्नु गलत हुने भन्दै आङ्बोले सम्मेलन सरकारी संरचनाले नै गर्नुपर्ने बताए । ‘सम्मेलन व्यवस्थापनको नाममा कुनै अमुक संस्थालाई जिम्मेवारी दिने प्रयासले सरकारकोअ अक्षमता मात्र प्रकट हुनेछ’ उनले भने, ‘सम्मेलनको तयारीको लागि पनि सरकारले पर्याप्त गृहकार्य नगरेको अनुभूति भएको छ ।’ लगानी सम्मेलनको तयारी हेर्दा अहिलेसम्म जम्मा ३७ वटा योजनालाई लगानी सम्मेलनमा ल्याउने तयारी भएकोले सम्मेलनको तयारी असाध्यै कमजोर रहेको आङ्बोले टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा आङ्बोले सरकार निरिह र लाचार बनेको भन्दै तत्काल प्रदेश सभा अधिवेशन बोलाउन पनि माग गरेका छन् । सरकार बेथितिपूर्ण ढङगले चलेको भएपनि संसदमा जनताले थाहा पाउने गरि बहस गर्न चाहेको उनको भनाइ छ ।
सरकार सञ्चालनका लागि बनेको दुई दलीय संयन्त्रले संविधान र कानून विपरित गतिबिधि गरेको भन्दै आङ्बोले निर्वाचनमा पराजित भएका व्यक्तिले संयन्त्रको नाममा प्रदेश सरकार र संसदमाथि हस्तक्षेप गर्ने निर्णय गरेको दावी गरे । काँग्रेस र एमालेको सरकार संचालन संयन्त्रमा रहेका पूर्वमुख्यमन्त्री शेरधन राईप्रति लक्षित गर्दै उनले मुख्यमन्त्रीको कुर्सीमा बसेर जनताबाट पराजित भएका व्यक्तिहरुले असंवैधानिक निर्णय गरेको आरोप लगाए ।
राई संयोजक रहेको संयन्त्रले कोशी सरकारको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको थियो । सो निर्णय सुनाउँदा राई मुख्यमन्त्री कार्यालयमा रहेको सभाहलको मुख्यमन्त्री बस्ने आसनमा बसेका थिए । संविधान र कानुन अनुसार बजेट पुनरावलोकनको कुनै विषय नभएको भन्दै आङ्बोले आफैं मुख्यमन्त्री र उहिँ अर्थमन्त्रीले ल्याएको बजेट गलत रहेको भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरक बजेट संसदमा ल्याएमा छलफल गर्न तयार रहेको बताए ।
‘संविधान र कानूनमै नभएको बजेट पुनरावलोकनको विषयमा संयन्त्रले फर्मान जारी गरेको छ’ उनले भने, ‘संविधान र कानूनले नचिनेको तथा जनताबाट पराजित भएको व्यक्तिले बजेट पुनरावलोकन गर्ने फर्मान गरेको त्यसको माओवादीले प्रतिवाद गर्छ ।’