विराटनगर । ग्रामथान ३ झसटोलीका मनोज शर्माकी श्रीमति सुत्केरी भएको बेला वडाध्यक्ष रमेशकुमार भगत घरमै भेट्न पुगे । केही वडा सदस्य र टोलका भद्रभलाद्मीसहित सुत्केरी भेट्न पुगेका वडाध्यक्ष भगतले सुत्केरीका लागि साथमा लगेको कुखुराको भाले र केही पोषण सुत्केरीलाई भेटेर उपहारस्वरुप प्रदान गरे । अनि सुरक्षित मातृत्वका लागि शुभकामना र बधाई दिए । साथै उनले सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य र पोषणप्रति ध्यान दिन अनुरोध गरे ।
ग्रामथान ३ का वडाध्यक्ष रमेशकुमार भगतले झटोलमा पहिलो पटक उनलाई भाले उपहार दिएका भने होइनन् । वडाध्यक्षमा निर्वाचित भएपछि भाले उपहार दिने अभियान चलाएका उनले धेरै टोलमा पुगेर सुत्केरीहरुलाई भाले उपहार दिइरहेका छन् । वडाध्यक्षले प्राप्त गर्ने सेवा सुविधा वापतको रकम खर्चेर उनले सुत्केरीलाई भाले उपहार दिने गरेका छन् ।
अहिलेसम्म भगतले २५० वटा भन्दा बढी भाले वितरण गरिसकेका छन् । ‘मैले सुत्केरी आमालाई पोसिलो आहार उपलब्ध गराउनु पर्छ भन्ने सचेतना फैलाउनका लागि भाले उपहार दिने अभियान सुरु गरेको हुँ, यो अभियान नितान्त मेरो व्यक्तिगत खर्चमा संचालित छ, वडाको बजेट यसमा खर्च गरिँदैन,’ वडाध्यक्ष भगतले भने ‘हाम्रो समाजमा चेतनाको अभाव छ, सुत्केरी स्याहार गर्ने परम्परागत शैली र तरिका छ, कतिपयलाई यस्तो बेलामा बढी पोषणको आवश्यकता पर्छ भन्नेसम्म थाहा हुँदैन त्यसैले मैले प्राप्त गर्ने मासिक सेवा सुविधाकै रकम खर्चेर यो अभियान चलाइरहेको छु र यो निकै प्रभावकारी भएको छ ।’
हुन पनि त्यस्तै छ ग्रामथान गाउँपालिका ३ का वडाध्यक्ष भगतको उक्त अभियानको चर्चा । रमेश कुमार भगतलाई भाले बाँड्ने वडाध्यक्ष भनेरै अरु वडाका मानिसले सजिलै चिन्दछन् ।वडाध्यक्ष भगत निर्वाचित भएपछि उक्त वडाको विकासमा पनि निकै परिवर्तन देखिएको छ । उनले त्यहाँका बाटाघाटाहरुको स्तरोन्नतिमा विशेष ध्यान दिएका छन् । कार्यकालको ३० महिनाको अवधिमा उनले दर्जनौं बाटो ग्राभेल गरेका छन् भने पाँच वटा बाटोमा कालोपत्रे सुरुवात गरेका छन् ।
अहिलेसम्म रंगटोली, भौंसाबारी, राजवंशी टोल, झसटोली, शर्माटोलीमा गरी करिब ४ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेका छन् । ती सडकहरुको कालोपत्रे सबै अधुरा रहेकाले आगामी दिनमा क्रमागत योजनाको रुपमा विस्तार गर्दै सम्पन्न गर्ने योजना उनको छ । त्यसबाहेक संघ र प्रदेशको योजना वडामा ल्याउन उनले भूमिका खेलेका छन् । सामुदायिक भवन, विद्यालय सुधार, स्वास्थ्य सेवामा सुधार आदिमा उनले प्रयत्न गरिरहेको स्थानीय झलककुमार भगत बताउँछन् ।
सरकारको सीमित स्रोत साधनबाट जनताको असीमित विकासको चाहना पूरा गर्न सक्ने अवस्था छैन । त्यो अप्ठ्यारो भगतले पनि ब्यहोरिरहेका छन् । त्यसैले उनले वडामा अनावश्यक खर्च कटौती गर्न जोड दिइरहेका छन् । ग्रामथान गाउँपालिकाले वडाध्यक्षको सुविधाका लागि मोटरसाइकल खरिद गरेर राखेको छ तर भगतले सरकारी मोटरसाइकल लिएका छैनन् । ‘मेरो आफ्नै मोटरसाइकल छँदैछ मैले किन सरकारी मोटरसाइकल चलाउनु प¥यो र ?’, भगतले भने ‘यातायात खर्च भनेर वडालाई यस वर्ष ३ लाख रुपैयाँ बजेट छुट्याइएको रहेछ मैले त्यो रकम बराबरको खर्च गरेर एउटा सडकमा ग्राभेल गर्न लगाएँ ।’
उनी वडामा कुनै पार्टी छुट्याएर काम गर्दैनन् । सबैलाई समान व्यवहार गर्ने भएका कारण वडावासी उनीसँग प्रभावित छन् । यसअघिका वडाध्यक्षहरुको व्यावहारसँग जानकार स्थानीय रमेशकुमार भगत निकै सरल र असल जनप्रतिनिधि भएको बताउँछन् । वडाका कुनै व्यक्ति विरामी परेको सुनेपछि उनी सकेसम्म भेट्न घरमै पुग्छन् । आवश्यकता अनुसार अस्पतालमा पुगेर सहजीकरण गरिदिन्छन् । कतिपय विरामीलाई वडाबाट दिने सेवा सुविधाका अतिरिक्त हजार पन्ध्र सय रुपैयाँ गोजीबाटै खर्च पनि दिन्छन् । यसरी उनले वडावासीलाई सकेसम्म सहयोग गर्नुपर्छ भन्ने भावना विस्तार गरिरहेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका ३ पुरानो सिध्राह नेपाली कांग्रेसको बलियो उपस्थिति भएको क्षेत्र हो । त्यस्तो ठाउँमा नेकपा माओवादी केन्द्रबाट रमेशकुमार भगत निर्वाचित हुनुको कारण पनि उनको सरलपन र सबैलाई समान व्यवहार गर्ने शैली एउटा प्रमुख कारण हो । माओवादीबाट निर्वाचित वडाध्यक्षले यसरी काम गर्न सक्छ भन्ने विश्वास उनी निर्वाचित भइसक्दा पनि धेरैलाई लागेको थिएन रे !
उनी भन्छन्, ‘जित्न त जित्यो कस्तो काम गर्ला भन्थे एकथरी मासिनहरु, अहिले मेरो कामको प्रसंशा उहाँहरुले नै गरिरहेको सुन्छु, त्यसबाट मलाई खुसी पनि लाग्छ । मेरो कामको चर्चा विस्तारसँगै सिध्राहमा माओवादी केन्द्रप्रतिको विश्वास र जनमत पनि बढिरहेको अनुभूति मैले गरेको छु । माओवादीले नै राम्रो काम गर्ने रहेछ भन्ने छाप यहाँका जनतामा परेको छ ।’ यिनै कारणले गर्दा हुन लागेको उपनिर्वाचनमा ग्रामथान ३ बाट माओवादी केन्द्रले पहिलेको तुलनामा राम्रो मत प्राप्त गर्ने उनको दावी छ ।