विराटनगर । मोरङ ग्रामथान गाउँपालिका–१ लखन्तरीका बद्रीनारायण चौधरी पूर्व शिक्षक हुन् । उनको घर अगाडिको बाटोमा पार्टीका झण्डाको तुल र ब्यानरहरु झुण्डिरहेका छन् । उम्मेद्वारका पोष्टर र पर्चा उत्तिकै छन् । उपनिर्वाचनको माहोलले उनलाई पनि छोएको छ । नयाँ मान्छे पुग्ने वित्तिकै उनलाई सोधिखोजी गर्छन् । चुनाव कसले जित्छ ? कसको माहोल छ ? कुन उम्मेद्वार कस्तो ?
पूर्व शिक्षक र नेपाली काँग्रेसका क्रियाशिल सदस्य रहेका चौधरी आफूले जानेको बताउँछन् । हामीले पनि उनलाई सोध्यौं, ‘चुनावी माहोल के छ ? ।’ उनले भने, ‘यहाँ तीन पार्टीको प्रतिस्पर्धा देखिन्छ । यो वडामा सबै पार्टी उस्तै देख्छु ।’
चौधरीले भनेका तीन पार्टी सत्तारुढ नेकपा एमाले, नेपाली काँग्रेस र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र हुन् । एमालेबाट उम्मेद्वार बनेका तुलसीराम विश्वास उनका भान्जा हुन् । काँग्रेसका उम्मेद्वार बलराम सरदार उनकै पार्टीका उम्मेद्वार हुन् । माओवादीबाट उठेका उम्मेद्वार नमोनारायण माझी सोही वडाका हुन् ।
कुनै न कुनै हिसावले उम्मेद्वारसँग कनेक्सनमा रहेका उनलाई कसलाई हराउने, कसलाई जिताउने भन्ने दोधार छ । ‘तुलसी मेरो भाञ्जा हो । उनको विरुद्धमा लाग्ने कुरा पनि भएन । आफ्नै घरपरिवारको मान्छे भयो । बलराम आफ्नै पार्टीको मान्छे हो । नमोनारायण यहि वडामा पहिले वडाध्यक्ष भएर काम गरेको मान्छे हो । त्यही भएर म सक्रिय रुपमा चुनावी अभियानमा छैन,’ उनले भने, ‘भोट हाल्ने बेलामा कसलाई जान्छ भन्न सकिँदैन ।’
ग्रामथानमा आगामी १६ गते हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले आ–आफ्ना गतिविधिलाई तीब्रता दिइरहेका छन् । सँगसँगै कोशी प्रदेशको एउटा पालिकामा निर्वाचन हुँदा जिल्ला र प्रदेशकै नेताहरू त्यहाँ केन्द्रीत भएका छन् ।
नेपाली काँग्रेसका उम्मेद्वार बलराम सरदारलाई सघाउनका लागि पूर्वमन्त्रीहरु महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, नेता गुरु घिमिरे, सांसद भीम पराजुलीलगायत खटिएका छन् । काँग्रेसले पनि घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहेको छ ।
नेकपा एमालेका पनि केन्द्रदेखि प्रदेशका नेताहरू चुनावमा खटिएका छन् । तुलसीराम विश्वासलाई सघाउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईदेखि, अध्यक्ष घनश्याम खतिवडा, नेताहरु विनोद ढकाल, जीवन घिमिरे पनि चुनावमा खटिरहेका छन् । एमालेका ग्रामथान गाउँपालिका अध्यक्षसमेत रहेका सत्यनारायण माझीलाई चुनावी कमाण्डर बनाइएको छ ।
एमालेले वडावडाका समितिलाई छुट्टाछुट्टै प्रचारटोली बनाएर खटाएको छ । यस्तै टोल र सेल कमिटी ९० वटा भन्दा बढी रहेको नेता माझी बताउँछन् । ‘हामी गाउँगाउँमा पुगेका छौं । घरघरमा पुगेका छौं,’ माझी भन्छन्, ‘चुनावी माहोल कसको पक्षमा जान्छ अहिले नै भन्न सकिँदैन । तर, रौनक भने बढिरहेको छ ।’
ग्रामथान–४ मोतिपुरमा भेटिएका माओवादी उम्मेद्वार नमोनारायण माझी भोट माग्न व्यस्त थिए । उनका साथमा चुनावी कमाण्डर बनेर खटिएका छन् पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी । माझीलाई सघाउन माओवादीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका माओवादी दलका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायत दैनिक खटिरहेका छन् ।
रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, समाजवादी पार्टी, जनमत, मंगोल अर्गनाइजेसनलगायतका पार्टीहरुले पनि प्रचारलाई तीब्र बनाएका छन् । ग्रामथान–२ झोराहाटदेखि नेताचोकसम्मको घिनाघाट–विराटचोक सडकमा पार्टीका झण्डाहरु प्रसस्तै देखिन्छ । विगतमा भन्दा बढी ग्रामथानको केन्द्र तेतरियामा भीडभाड बढेको छ । बजार र चिया पसलमा चुनावी गफ गर्ने थलो बनेको छ ।
ग्रामथानमा विभिन्न १५ वटा राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । ग्रामथानको साविक विजेता नेपाली कांग्रेस, निकटतम प्रतिस्पर्धी नेकपा एमाले र तेस्रो अवस्थामा रहेको दल नेकपा माओवादी केन्द्रले नै ग्रामथान हाँक्ने सम्भावित विजयी पार्टी हुन् । गत २०७९ साल वैशाख ३० मा सम्पन्न निर्वाचनमा ती दलहरुले प्राप्त गरेको मतको हिसाब यस पटक मेल नखाने स्थानीयले बताएका छन् ।
यसअघि अध्यक्ष जितेको कांग्रेसलाई ३० महिनाअघि प्राप्त गरेको मत जोगाउन सकस पर्ने देखिएको काँग्रेसकै कार्यकर्ताहरुले स्वीकार गरेका छन् । कांग्रेसको केहि नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले तान्ने संभावना रहेको उनीहरु बताउँछन् । रास्वपाका उम्मेदवार नविनकुमार विश्वास नेपाली कांग्रेसमा योगदान गरेको परिवारसँगै जोडिएकोले उनले काँग्रेसको मत प्रभावित गर्ने अनुमान छ ।
त्यसो त माओवादीका उम्मेदवार नमोनारायण माझी पनि काँग्रेसका पुराना कार्यकर्ता हुन् । काँग्रेस छोडेर माओवादीबाट उम्मेदवार भएपनि उनको काँग्रेसभित्र रहेको प्रभावले काँग्रेसको राम्रै मत उनले तान्ने अनुमान नेताचोकमा भेटिएका एक काँग्रेस कार्यकर्ताले गरे । त्यसो त एमालेबाट उम्मेदवार भएका तुलसीराम विश्वासको पनि पृष्ठभूमि काँग्रेस नै भएकोले कतिपय मत प्रभावित पार्ने देखिएको तेतरीयाका स्थानीय राजेन्द्रकुमार चौधरीले सुनाए ।
ग्रामथान मोरङको क्षेत्र नं. ४ मा पर्छ । सो क्षेत्रबाट प्रतिनिधिसभामा दोस्रो पटक चुनिएका माओवादी नेता अमनलाल मोदीको क्षेत्रमा राम्रो प्रभाव छ । संघीय मन्त्रीसमेत भएका मोदीको पहलमा क्षेत्रमा धेरै विकास आयोजना सञ्चालन भएका छन् । कोशी प्रदेशका पूर्वसांसद एवं माओवादी नेता विजयकुमार विश्वासको पहलमा पनि क्षेत्रमा धेरै काम भएकोले माओवादीको पक्षमा जनमत बढेको पार्टीका गाउँ कमिटि अध्यक्ष रमेशकुमार भगतले दावी गरे ।
पालिकाका पूर्वअध्यक्ष रहेका एमाले नेता शिवनारायण माझीले टिकट नपाएकोले पनि एमालेको केहि मत प्रभावित हुने देखिएको स्थानीय बताउँछन् । त्यसो त संघीय सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पछिल्ला गतिविधिप्रति स्थानीय सन्तुष्ट छैनन् । ग्रामथान ७ की देबका घिमिरेले केपी ओलीकै कारण यसपटक यस ठाउँको मत एमालेमा कम जाने सम्भावना रहेको दावी गरिन् । ‘हामीले पहिले एमालेलाई नै भोट दिएका हौं । तर, केपी ओलीको पछिल्लो व्यवहार हामीलाई चित्त बुझेको छैन’ उनले भनिन्, ‘हाम्रो एरियाबाट यसपटक एमालेलाई सहयोग हुदैन । कसलाई भोट दिने भन्ने निर्णय गरिसकेका छैनौं ।’
ग्रामथान नेपाली कांग्रेसको पुरानो आधार क्षेत्र नै हो । पछिल्लो समय नेकपा एमालेले पनि बलियो अवस्थामा छ । एमालेले २०७९ को निर्वाचनमा ७ मध्ये ५ वडाध्यक्षसहित उपाध्यक्ष जितेको थियो । ‘ग्रामथानमा एमालेको मत कमजोर छैन’ एमाले अध्यक्ष माझीले भने, ‘तर, २०७९ को भन्दा मत बढाउने अवस्था छैन । त्यहि मत जोगाउन सकियो भने जितिन्छ ।’ कांग्रेसको मत यसपटक यताउता चल्ने सम्भावना रहेको उनले विश्लेषण गरे ।
नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बू भने यसपटक ग्रामथानमा माओवादी केन्द्रले अध्यक्ष जितेर विजयको झण्डा गाड्ने दाबी गर्छन् । माओवादीप्रति देशब्यापी बढेको समर्थन, सहानुभूति, भ्रष्टाचारको विरोधमा उभिएको पार्टीको रुपमा जनतामा परेको प्रभाव चुनाव जित्ने आधार बनेको उनको दावी छ ।
नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक विरेन्द्र साहले आफ्नो पार्टीले चुनाव जित्ने दावी गरे । ‘ग्रामथानका जनताको साथ र समर्थनले हाम्रो हौसला बढाएको छ । उहाँहरूले कांग्रेसलाई नै जिताउने प्रतिबद्धता देखाएर आशा र भरोसाको किरण देखाउनुभएको छ । यो जित केवल उम्मेदवारको हुनेछैन, यो ग्रामथानको भविष्यको जित हुनेछ,’ उनले भने ।