सहकारीको उदाहरणीय मोडेल

पछिल्लो समयमा सहकारी ठगीका विषय चर्चामा छ । कतिपय ठूला भनिएका सहकारीका सञ्चालक र सीमित हर्ताकर्ताले बचतकर्ताको अरबौं रकम ठगेर बिचल्ली बनाएका छन् । कतिपय त्यस्ता ठग जेलमा छन् भने कतिपय फरार छन् । तर, पीडितहरुको बचत फिर्ताको पहल भने हुन सकेको छैन । सहकारी ठगीलाई राजनीतिक रोटी सेक्ने हतियारको रुपमा प्रयोग गर्ने प्रयास पनि भइहरको छ । जसले गर्दा सिंगो सहकारी क्षेत्र नै बद्नाम बन्ने खतरा छ । तर, सबै सहकारी गलत छैनन् । सबै सञ्चालक ठग छैनन् । उद्देश्य अनुरुप र पारदर्शी रुपमा सदस्यहरुको सहभागितामा सञ्चालित सहकारीहरु नमुना पनि छन् । त्यसकै उदाहरण हो, झापाको काँकडभिट्टामा कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) हो । २०५० सालमा २६ जना सदस्य र २ लाख ५३ हजार रुपैयाँको शेयर पुँजीबाट सुरु भएको यो सहकारी अहिले १ लाख ७० हजार सदस्य र १ अर्ब ४७ करोडको शेयर पुँजीसहित नेपालको सहकारी आन्दोलनको एक स्तम्भ बनेको छ । यसले सहकारी मात्र नभएर आर्थिक रूपान्तरण र सामाजिक समृद्धिको उत्कृष्ट नमूना प्रस्तुत गरेको देख्न सकिन्छ ।
सहकारीको मूल उद्देश्य सदस्यहरूको आर्थिक सशक्तीकरण हो । एनएमसीले यस सीमाभन्दा पर जान सकेको छ । संस्थाले बचत तथा ऋण व्यवसायलाई मूख्य आयस्रोत बनाएर कृषि, डेरी, चिया प्रशोधन, सहकारी पसलजस्ता क्षेत्रहरूमा लगानी गर्दै आर्थिक गतिविधिलाई बहुआयामिक बनाएको छ । व्यवस्थित व्यवसायिक संरचना भएको सहकारीले। डिजिटल कारोबारलाई प्राथमिकता दिंदै एटीएम सेवा सुरु गर्ने पहिलो सहकारीका रूपमा एनएमसीले उदाहरणीय कदम चालेको छ । डेरी व्यवसायमा एनएमसीले २०७२ मा २० करोड लगानीमा स्थापना गरेको उद्योगमार्फत दैनिक १७ हजार लिटर दूध संकलन र प्रशोधन गर्दै आएको छ । यसले ६,५०० भन्दा बढी कृषकलाई प्रत्यक्ष रूपमा जोड्न सफल भएको छ । गाईपालन, माछापालन, तरकारी उत्पादन, र साइलेज उत्पादनजस्ता कृषि उद्यमहरूलाई प्रवद्र्धन गरेर सहकारीले ग्रामीण विकासमा ठोस योगदान पु¥याएको छ । चिया उद्योगमा गरेको लगानीले ग्रीन टी, ब्ल्याक टी, र मसाला चियाजस्ता उत्पादनलाई बजारमा पु¥याउँदै स्वदेशी उत्पादनको प्रवद्र्धन गरेको छ ।
एनएमसीको वित्तीय प्रगति पनि प्रशंसनीय छ । हाल संस्थामा बचत १० अर्ब ७१ करोड र कर्जा प्रवाह १० अर्ब ६६ करोड पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ मा सहकारीले २९.७२ करोड नाफा गर्दा डेरी उद्योगबाट मात्र ३ करोडभन्दा बढी कमाइ गरेको छ । कृषि फार्म र चिया उद्योगबाट घाटा व्यहोरे पनि संस्थाले आफ्नो दीर्घकालीन योजनालाई लिएर अघि बढ्ने आत्मविश्वास देखाएको छ । सहकारीको सफलता पछाडिको प्रमुख कारण भनेको पारदर्शिता र व्यवस्थापन हो । कर्जा प्रवाहमा धितोको आधार, आन्तरिक कार्यविधि, र ऋण स्वीकृतिमा सेवा केन्द्रगत उपसमितिहरूको भूमिका सहकारी क्षेत्रका लागि अनुकरणीय छन् ।
एनएमसीले मात्र आर्थिक क्षेत्रमै नभएर सामाजिक क्षेत्रमा पनि प्रभावकारी भूमिका खेलेको छ । ११ सयभन्दा बढी रोजगारी सिर्जना गर्दै सामाजिक सुरक्षा कोषमा कर्मचारीलाई समावेश गर्नु सहकारीहरूको व्यवसायिक मान्यता र सामाजिक दायित्वलाई सँगै अघि बढाउने उदाहरण हो । तर, सहकारीको यो यात्रा चुनौतिबाट मुक्त भने छैन । कृषि फार्म र चिया व्यवसायमा घाटा, जोखिम व्यवस्थापनका सवालहरू, र संस्थागत खर्चलाई सन्तुलनमा राख्नु महत्वपूर्ण रहनेछ । यद्यपि संस्थाले १ अर्ब १४ करोडभन्दा बढी जगेडा कोष र जोखिम व्यवस्थापनका लागि पर्याप्त कोषको व्यवस्था गरेर आगामी चुनौतीलाई सामना गर्ने आधार तयार गरेको छ ।
नेपालजस्तो कृषि प्रधान देशमा सहकारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर, पछिल्लो समय सहकारी क्षेत्र विवादास्पद र अविश्वसनीय बन्दै गएको सन्दर्भमा एनएमसीले सबै सहकारी गलत छैनन् भन्ने विश्वास जगाउन भूमिका खेलेको छ । सहकारीका सिद्धान्त, मूल्य, र मर्मलाई व्यवहारमा उतार्न सकिने हो भने एनएमसीजस्तै अन्य सहकारीहरू पनि समाजको आर्थिक विकासमा योगदान पु¥याउन सक्छन् । एनएमसीले देखाएको मार्गदर्शन सहकारी क्षेत्रमा सकारात्मक संकेत हो ।

बुधबार, ०५ मंसिर, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर