विराटनगर । मोरङको प्रहरी प्रमुख छँदा मर्यादा विपरित काम गरेको र आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानबिनको लागि प्रहरी प्रधान कार्यालयमा तानिएका एसपी नवराज कार्कीले कुनै कार्वाहीविना नयाँ जिम्मेवारी पाएका छन् ।
अनलाई जुवा खेलाउनेसँग २५ लाख रुपैयाँ लिएको आरोप लागेपछि गत कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखबाट हटाएर उनलाइए प्रहरी प्रधान कार्यालयले तानेको थियो ।
अनलाइन जुवा खेलाउने र अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने व्यक्तिलाई मुद्दा नचलाउने आश्वासन दिएर रकम आरोप एसपी कार्कीमाथि थियो । कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम दाहालको संयोजकत्वमा छानबिन समिति बनाएर एसपी कार्कीमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानको निश्कर्षबारे प्रहरीले बोल्न मानेको छैन ।
अनुसन्धानको निश्कर्ष सार्वजनिक नगर्दै कार्कीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पठाइएको बुझिएको छ । एसपी कार्कीसँग छानविन समितिले बयान लिएको थियो । स्रोतका अनुसार बयानमा उनले आफूबाट केही कमजोरी भएको स्वीकार गरेका छन् ।
छानबिनका क्रममा एसपी कार्कीले रकम बुझ्न जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) बिक्रमबहादुर भट्टराईलाई पठाएको पाइएको स्रोतले जनाएको छ । समितिले इन्सपेक्टर भट्टराईसँग समेत बयान लिएको थियो । भट्टराईले रकम लिएर एसपी कार्कीलाई बुझाएको स्वीकार गरेको स्रोतको दावी छ ।
समितिले सो प्रकरणमा हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ, इलाका प्रहरी कार्यालय बेलबारीका हवल्दार खगेन्द्र राउतलाई पनि प्रदेश प्रहरी कार्यालय विराटनगरमा राखेर बयान लिएको थियो । रकम लिएको सूचना चुहिएपछि एसपी कार्कीले उक्त रकम फिर्ता गरेको बताइन्छ । सो घटनामा मोरङको सुन्दरहरैंचा भएका एक बिचौलियालाई समेत नियन्त्रणमा लिएर समितिले सोधपुछ गरेको थियो ।
कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेर खापुङले भने छानबिन अहिले पनि चलिरहेकाले यो विषयमा अहिले केही बोल्न नमिल्ने बताएका छन् । ‘छानबिनकै क्रममा रहेकाले अहिले केही बोल्न सक्ने अवस्था छैन’, उनले भने ।