अधिकारीसहित ९ जनाको ५ दिन म्याद थप

विराटनगर । मानव बेचबिखन तथा ओसारपसार र किर्ते अभियोगमा पक्राउ परेका नेकपा एमाले कोशी प्रदेशका सांसद तथा पूर्वममन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ९ जना प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए ।

यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को ७ दिने कार्यक्रममा सहभागी हुन भन्दै सरकारको स्वीकृति नलिई तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारी कात्तिक ११ गते जापानतर्फ उडेका थिए । उनीसँगै नक्कली कागजात बनाएर खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटा पनि जापान जान लागेको खुलेपछि त्यहाँको अध्यागमनले उनीहरुलाई फिर्ता गरेको थियो ।

अध्यागमनबाट फिर्ता भएपछि तीन जना पक्राउ परेका थिए भने अधिकारी मन्त्री भएको भन्दै विमानस्थलबाट बाहिरिएका थिए । सो प्रकरण बाहिरिएपछि पदबाट राजीनामा दिएका उनलाई एमालेले निलम्बन गरेको थियो । अधिकारीमाथि छानविनको माग बढेपछि अघिल्लो आइतबार उनी विराटनगरस्थित निवासबाटै पक्राउ परेका थिए ।

जापान प्रकराण्मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यस्तै किर्ते कागजात बनाइदिने गुडी राई र नवीन राईलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । प्रहरीले सुरूमा यसको अनुसन्धान कीर्ते कसुरमा अघि बढाएको थियो । पूर्वमन्त्री एवं कोशी प्रदेश सांसदसमेत रहेका अधिकारी पक्राउ परेसँगै मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।

मङ्गलबार, ०४ मंसिर, २०८१, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर