संसारमा उद्यमशीलताको मात्रा कति छ भनेर मापन गर्न गाह्रो छ । उद्यमशीलताको मापन गर्न स्व–रोजगार वा स्टार्ट–अप दर जस्ता स्पष्ट सूचकहरू समेत पूर्ण रुपमा उपयोगी छैनन् । ‘उद्यमशीलता’को परिभाषा के हुनुपर्छ भन्ने कुरा पनि थप विवादास्पद छ । उद्यमशीलता केवल व्यावसायिक गतिविधि हो वा ‘सामाजिक उद्यमशीलता’ वा अन्य गतिविधि हो भन्नेमा पनि मत – अभिमत छ । यद्यपि, त्यस्ता व्यक्ति जो निरन्तर आफ्नो सीप, क्षमताहरू र स्रोतहरूलाई प्रयोग गरेर आफ्ना लागि सबैभन्दा कम समय, पैसा र प्रयासको लागतमा बढी मूल्य सिर्जना गर्न प्रयासरत छन् ति सबैलाई उद्यमी हुन्, सबैलाई उद्यमी मान्न सकिन्छ । यसैको आधारमा हेर्दा उद्यमशीलताका गतिविधि विश्वका सबै कुनाहरुमा पाउन सकिन्छ ।
व्यावसायिक उद्यमशीलताको कुरा पनि सर्वव्यापी सत्य हो । यो धनी, औसत वा गरिब जुनै देशमा पनि विद्यमान छ । अमेरिकादेखि नर्वे, टर्की, दक्षिण अफ्रिका, एंगोला र ग्वाटेमाला जस्ता देशहरूमा उद्यमशीलताले उन्नति गरेको छ । खुला बजारका सिद्धान्तहरु निषेध गरिएको वा गैर बजार अर्थतन्त्रहरूमा पनि उद्यमशील सोचको उपस्थिति देखिन्छ तर अधिकतर त्यस्ता बजारमा उद्यमशीलताको उपयोग भ्रष्टाचारको औपचारिक नियन्त्रणलाई वा कालो बजारी मार्फत बजारको नियन्त्रण गर्नमा देखिन्छ । खुला बजारको दैनिक ‘मतपत्र’ ( पैसा ) निकै प्रभावकारी हुन्छ तर त्यस्ता गैर–बजारहरूले आपूर्ति र माग समन्वय गर्न समान तरिकामा काम गर्छन् । फरक यति हो कि गैर–बजारका
उद्यमीहरूले कानुन तोड्न तयार हुनुपर्छ ।
उद्यमशीलता सबै ठाउँमा विद्यमान छ तर केही देशहरूमा विशिष्ट रुपमा उपस्थित छ । केही देशहरूले धेरै संख्यामा अर्बपति सुपर–उद्यमी उत्पादन गर्छन् जसले सामान्य रूपमा ती देशहरु उद्यमशीलताको लागि राम्रो ठाउँ हो भन्ने जनाउँछ । हङकङ, इजरायल, अमेरिका, स्विटजरल्याण्ड, सिंगापुर, नर्वे, आयरल्याण्ड, ताइवान, क्यानडा र अस्ट्रेलिया लगायत देशहरु यस बिषयमा अगाडि छन् । यस्ता देशहरूले स्वतन्त्र मूल्य–मान्यता र संस्थाहरूप्रति पक्षधरता कायम गर्छन् जसले सफलताका लागि प्रोत्साहन गर्छ । यस्ता प्रयत्नहरुले सामान्य मानिसहरूलाई तिनीहरु सफल र आफ्ना प्रयासहरूको लागि पुरस्कृत हुन सक्छन् भन्ने विश्वास दिन्छ । उद्यमशीलताका लागि राम्रो मानिने यी देशहरुमा कानुनको शासन, सीमितसरकार र बलियो सम्पत्ति अधिकार प्रतिको प्रतिबद्धता पनि पाइन्छ र यी कारकहरू उद्यमशीलताको विकासका लागि महत्त्वपूर्ण हुन् भन्ने संकेत गर्छ ।
यस्ता अधिकांश देशहरुमा रहेको सहज कानुनी प्रणालीले उद्यमीहरुलाई कानुनी झन्झट र कानुन पालना गराउने अधिकारीको अनुमति बिना प्रयोग तथा प्रशिक्षण गर्न अनुमति दिन्छ । यस्ता कुराहरुले माथि उल्लेखित देशहरु (अमेरिकाको हकमा ः धेरै गुणा बढी उद्यमशील) युरोपका अधिकांश देशहरु भन्दा बढी उद्यमशील किन छन् भन्ने प्रश्नको उत्तर समेत दिन्छ । युरोपका अधिकांश देशहरु साझा सिद्धान्तको आधारमा शासन भैरहेका भैरहेको हुन्छ । अमेरिकी अर्थशास्त्री एडम थियररलेका अनुसार अमेरिका माइक्रोसफ्ट, याहू, यूट्यूव, अमेजन, गुगल, पेपल, ट्विटर, ड्रपबक्स, फेसबुक, स्न्यापच्याट लगायत आविष्कारात्मक कम्पनीहरूले भरिएको छ तर युरोपमा यिनको समकक्षी एक वा दुई आविष्कारहरूको नाम दिन गाह्रो छ । थियेरेरले यसलाई युरोपको तुलनामा अमेरिकाको ‘अनुमति–रहित आविष्कार’ नीतिको
प्रतिफलको रुपमा ग्रहण गर्छन् जहाँ आविष्कार सुरू गर्न अनुमति आवश्यक हुँदैन जुन युरोपको व्यावहारिक परिवर्तन प्रतिको विपरीत
दृष्टिकोण हो (थियेरेर २०१४) :
यदि हामी हाम्रो अधिकांश समय निरन्तर नराम्रो परिदृश्यको डरमा बिताउँछौ र सार्वजनिक नीतिलाई यस्ता डरको परिवेशमा निर्माण गर्छौ भने यस्तो अवस्था कहिले राम्रो परिदृश्य उत्पन्न हुँदैन । ज्ञान र प्रगति अनुभवबाट जन्मिन्छन् जसमा जोखिम र यदाकदा गल्तीहरू र असफलताहरू समावेश हुन्छन् ।
संस्कृतिको भूमिका पनि स्पष्ट रूपमा महत्त्वपूर्ण हुन्छ । सायद उद्यमी उत्पादन गर्ने देशहरूको संस्कृति व्यक्तिगत सफलताप्रति कम शत्रुता पूर्ण र अधिक स्वागतयोग्य, व्यक्तिगत महत्वाकांक्षालाई प्रोत्साहन गर्ने किसिमको हुन्छ । तर गरिब र अनुदार देशहरूमा पनि यी गुणहरु पाइन्छ । मध्य पूर्व र उत्तर अफ्रिकाका मानिसहरूले एक सर्वेक्षणमा उद्यमी बन्नु राम्रो करियर हो भन्ने जनाएका छन् जबकि क्यारेबियन र ल्याटिन अमेरिकाका मानिसहरूले एक सर्वेक्षणमा उद्यमी हुनुलाई उच्च प्रतिष्ठा हुनु मानेका छन् । त्यस्तै, ल्याटिन अमेरिकीहरुले असफलता प्रतिको डर कम रहेको बताएका छन् । वास्तवमा जहाँ
व्यापार असफलता उच्च हुन्छ त्यहाँ उद्यमशीलता सबभन्दा बलियो हुन्छ र यसले असफलतालाई सांस्कृतिक रूपमा स्वीकार गर्नुले मानिसहरूलाई जोखिम लिन र सम्भावित अवसरहरू समात्न प्रोत्साहन गर्छ भन्ने विश्वास व्यक्त गर्दछ ।
उद्यमशीलताको भविष्य
केही पाश्चात्य पर्यवेक्षकहरू व्यवसायको गतिशीलतामा ठूलो कमी देखिरहेका छन् । ब्रुकिङ्स संस्थानले यही विषयमा गरिएको अनुसन्धानको सर्वेक्षणले अमेरिकी बजारमा नयाँ स्टार्ट अपको घट्दो प्रवृत्ति र विद्यमान कम्पनीहरूले बजारबाट बाहिर जाने दरमा देखिएको गिरावटलाई सूचित गर्दछ । सोही समयमा अमेरिकी भर्खरै स्थापित भएका युवा कम्पनीले प्रदान गर्ने रोजगारको हिस्सा समेत घटिरहेको छ । १९८० को दशकदेखि स्टार्ट–अपहरूबाट प्राप्त हुने रोजगारको हिस्सा २० प्रतिशतबाट १० प्रतिशतमा घटेको छ जबकि ठूला, परिपक्व कम्पनीहरूले दिने रोजगारी ४० प्रतिशतबाट बढेर ५० प्रतिशतमा पुगेको छ ।
यद्यपि यस्ता सूचकहरू पूर्ण छैनन् । यदि व्यवसायको गतिशीलता वास्तवमै घटिरहेको छ भने त्यसको विभिन्न कारण हुन सक्छ । गतिशीलता घट्नुमा स्थानीय, अस्थायी, गैर उत्पादक ‘जाम्बी’ कम्पनीहरूलाई संचालन गराई राख्न कम ब्याजदर लगायत विभिन्न कारणहरु हुन सक्छ । तर, समग्रमा प्रमाणले घट्दो व्यवसाय गतिशीलताका कारण अमेरिका, बेलायत, जर्मनी र अन्य विकसित अर्थतन्त्रहरूमा उत्पादकत्वको वृद्धि घटिरहेको प्रष्ट संकेत गर्दछ ।
त्यसैले यो गिरावट किन ? यसका वैकल्पिक उत्तरहरु छन् ( डुमिट्रिउ २०१९ ) । केहि व्यक्तिहरूले उन्नत अर्थतन्त्रहरूमा जनसंख्या वृद्धि कम भएकोले सम्भावित उद्यमीहरूको संख्या थोरै भएको तर्क गरेका छन् तर उद्यमीहरुले उत्पादक क्षेत्रमा स्टार्ट–अप गर्छन् भने यो तर्कले त्यति वजन राख्दैन । केहीले भने ब्रान्डिङको बढ्दो महत्त्व र महँगो आईटी प्रणालीहरूले स्टार्ट–अपहरूलाई प्रतिस्पर्धा गर्न गाह्रो बनाएको भनेर तर्क गर्छन् (वैश्विक खोज इन्जिनहरू, कार्यालय सफ्टवेयर वा अनलाइन किनमेल प्लेटफर्महरू ) ।
तर वास्तवमा फाइदाको स्केल धेरै बढेको छैन किन भने आईटीले धेरै साना व्यवसायहरूको लागतलाई महत्वपूर्ण रूपमा घटाएको छ ।यसको अर्को गम्भीर सम्भावित कारक आकारसँग जोडिएर आउने नियमन हो । उत्पादन (जस्तै लेबलिङ नियमहरू), प्रक्रिया (जस्तै उत्पादन विधिहरू) वा रोजगार (जस्तै न्यूनतम ज्यालादारी, कार्य घण्टा, सुत्केरी बिदा) मा नियमनको बोझ साना व्यवसायहरूमा पर्छ । ठूला कम्पनीहरूले नियमनले ल्याउने लागतलाई ठूलो संख्यामा उत्पादन बिक्री गरेर व्यवस्थापन गर्न सक्छन् साना स्टार्ट–अपहरूले भने सक्दैनन् । यस्तै नियमनको वृद्धिले ठूला कम्पनीहरूको नाफा वृद्धिमा मद्दत गर्दछ भन्ने अमेरिकाको २०१० को डड–फ्र्यांक वित्तीय सेवाहरूको नियन्त्रणले देखाइसकेको छ । त्यस्तै हामीले तुलनात्मक रूपमा सामान्य किसिमले नियमन गरिएका जस्तै दक्षिण कोरिया, ताइवान, हङकङ, थाइल्याण्ड र सिंगापुर जस्ता अर्थतन्त्रले उद्यमीहरू र सुपर–उद्यमीहरूको संख्या बढाउँदै गएको देखेको छौं । यसको विपरित, अत्याधिक नियमन गरिएका युरोपमा जस्ता स्थानहरुमा नविन विचार र आविष्कारहरु अधिकतम ठूला कम्पनीहरूको भित्रको अन्तर उद्यमशीलतामार्फत आउने गर्दछ ।
ठूला कम्पनीहरूले त्यस्ता परैवीकर्ताहरुको सेवा खरिद पनि गर्न सक्छन् जसप्रति कानुन निर्माताहरु अनिवार्य रूपमा जटिल नियमहरूको विषयमा विशेषज्ञ जानकारीको लागि निर्भर रहन्छ । तर, ती पैरवीकर्ताहरूले प्रतिस्पर्धीलाई बाहिर राख्नको लागि बढी चासो राख्छन् । पैरवीकर्ताहरुको चासो स्टार्ट–अप उद्यमीहरूलाई बढी आकर्षक उत्पादनहरू सिर्जना गर्ने सट्टा कठिन नियमहरूको सामना गर्न लगाउन बाध्य परिरहँदा सम्बोधन हुन्छ । तर, जनताको चासोहरूलाई सम्बोधन गर्ने र संरक्षण गर्ने काम अत्यधिक नियमन गरिएका, सुस्त, प्रतिक्रिया नदिने उद्योगमा भन्दा खुला, गतिशील, प्रतिस्पर्धी उद्योगमा गरिन्छ । बेलायतको वित्तीय सञ्चालन प्राधिकरणको ‘नियामक स्यान्डबक्स’ जस्ता नीतिहरू जसले नियमन, दण्डको व्यवस्था बेगर फिनटेक स्टार्ट–अपहरूलाई नयाँ व्यापार मोडेलहरू प्रयोग गर्न अनुमति दिन्छ त्यस्ता नीतिहरु सही दिशा तर्फको कदम जस्तो देखिन्छ ।
(साभारः इमन बटलरको एन इंट्रोडक्शन टु एंटरप्रेन्योरशिप नामक पुस्तकको नेपाली अनुवाद, उद्यमशीलता : एक परिचय; बाट )