सात वर्षमा फेरिएको ग्रामथानको चित्र

विराटनगर । मुलुककै दोस्रो ठूलो सहर विराटनगरको नजिकै रहेर पनि दशकौंदेखि विकास देख्न नपाएको मोरङको ग्रामथान (साविकको लखन्तरी, झोराहाट, सिद्राहा, बनिगामा)को स्वरुप पछिल्लो सात वर्षमा उल्लेख गर्न योग्य ढंगले फेरिएको छ । सडक, पुल, खानेपानी, शिक्षण संस्थाहरुको दुरुह अवस्थामा परिवर्तन भई छोटो समयमा विकासको रुपरेखा देखापर्दै गएको छ ।

धार्मिक तथा सामाजिक महत्वका मठ, मन्दिर, ग्रामथान र देवालयहरुको संरक्षण, विकास र स्तरोन्नतिका हिसाबले पनि यस अवधिमा धेरै प्रगति भएको स्थानीयहरुले बताएका छन् ।

ग्रामथानमा जति पनि विकासका कामहरु भएका छन् तीमध्ये सबैभन्दा उपयोगी र प्रभावकारी चाहिँ घिनाघाट–विराटचोक चारलेन सडक आयोजना नै हो । जुन योजनाले प्रदेश राजधानीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने र त्यसबिचमा पर्ने ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ । पाँच वर्षअघिसम्म विराटनगरबाट विराटचोक जाने सडक जीर्ण अवस्थामा थियो । यो सडक हरेक चुनाका लागि नेताहरुले चुनाव जित्ने औजार बन्ने गरेको थियो तर सडकको दुदर्शा कसैले पनि बदल्न सकेको थिएन । जब जनताले मत बदले त्यसपछि ग्रामथानको विकासको चित्र पनि बदलेको देखिन्छ ।

नयाँ संविधान जारी भएपछि २०७४ सालमा सम्पन्न आम निवार्वचनबाट ग्रामथानसमेत रहेको मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी र प्रदेश निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकै नेता विजय विश्वास थारुले चुनाव जिते । नेपाली कांग्रेसको विराशतको रुपमा चिनिएको त्यस क्षेत्रले परिवर्तनका लागि संघर्ष गरेका दुई युवाले चुनाव जितेसँगै ग्रामथानमा विकासको लहर सुरु भएको ग्रामथान ३ का झलककुमार भगत बताउँछन् । ‘तपाईंहरुले देख्नुभएकै थियो विराटचोक जाने सडक कुन अवस्थामा थियो भनेर, तेतरियाबाट मोतिपुर जाने सडक कुन अवस्थामा थियो, यहाँका विद्यालय, खेलमैदानहरुको अवस्था एकदमै राम्रो थिएन, खोलाहरुमा वर्षौंदेखि पुल बनेका थिएनन्, विराटनगरबाट नजिकै भएर पनि यो टाढाको दुर्गम र अविकसित गाउँ थियो । तर अहिले तपाईंहरु आफैं हेर्न सक्नुहुन्छ ६ वर्षको अवधिमा यो ठाउँ कति बदलियो भनेर, यहाँ विकासको राम्रो लहर सुरु भएको छ, यसका लागि नेकपा माओवादी केन्द्रबाट जितेका संघीय र प्रदेश सांसदहरुको ठूलो योगदान छ भनेर सबैले निःसंकोच भन्नुहुन्छ,’ भगतले भने ।

भगतको भनाइसँग ग्रामथान २ का बाबुराम मुडियारी पनि सहमत छन् । पत्रकारसमेत रहेका उनी समग्र ग्रामथानलाई आधकार बनाएर पटक पटक चुनाव जितेर देशकै अर्थमन्त्रीसमेत भएका महेश आचार्यले आफ्नो कार्यकालमा गर्न नसकेको विकासको काम माओवादीका अमनलाल मोदी र विजय विश्वास थारुको जोडी गरेर देखाइदिएको बताउँछन् ।

दशकौंसम्म विकास देख्न नपाएको ग्रामथानका ती गाउँहरुमा भर्खर विकासको रुपरेखा कोरिएका मात्र हुन् । प्रदेश राजधानीसँग जोडिएको गाउँलाई हेर्न लायकको बनाउन अझै धेरै काम गर्न बाँकी रहेको मुडियारीले बताए । ‘अहिले पनि धेरै बस्तीहरुमा पुग्ने बाटोको स्तरोन्नति गर्न बाँकी छ, खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । तर अहिले यो क्षेत्रले जुन नेतृत्व पाएको छ त्यसले विकासका लागि पहल गर्छ भन्नेमा यहाँका नागरिकहरु विश्वस्त छन्,’ उनले भने ।

विकासका दृष्टिले पाँच वर्ष लामो अवधि होइन । यो छोटो अवधिमा त्यस क्षेत्रमा विकास भित्र्याउन माओवादी जनप्रतिनिधिहरु मोदी र विश्वासले अथक मिहेनत गरेको देखिन्छ । प्रदेश सरकार स्थापना हुनासाथ कस्ता योजनामा काम गर्ने भनेर प्रदेश सरकार अलमलिएको बेलामा प्रदेशसभा सदस्य विजय विश्वास र संघीय सांसद मोदीले नै घिनाघाट–विराटचोक सडक चारलेनमा निर्माण गर्न तात्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कन्भिन्स गरेका थिए । त्यतिबेला आर्थिक मामिला तथा योजना मन्त्री माओवादीकै नेता इन्द्रबहादुर आङ्बो रहेका कारणले पनि उक्त योजना अगाडि बढाउन सहयोग पुगेको थियो । झण्डै डेढ अर्ब लगानीको उक्त योजनाले त्यस क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्याइदिएको छ ।

२०७४ सालको बाढीले लोहोन्द्रा खोलामा आएको बाढीले त्यहाँको मोटरेबल पुल बगायो । पूर्वी मोरङसँग जोड्ने र कृषि नगरको साइफनसमेत पुलसँगै बगाइदिएका कारण ठूलो नोक्सानी भएको थियो । उक्त पुल निर्माणका लागि दुवै सांसदहरुले निरन्तर पहल गरेर ४५ करोड बजेट निकासा गराई समयमै पुल निर्माण गराउन उनीहरुले भूमिका खेलेका थिए ।

ग्रामथान गाउँपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष पदमा जितेको थियो भने २०७९ सालमा नेपाली कांग्रेसले जित्यो । यो ६ वर्षको अवधिमा गाउँपालिकाले पुगनपुग १० किलोमिटर सडक कालोपत्रे गरेको छ । तर संघ र प्रदेशबाट यस अवधिमा एक अरब भन्दा बढी बजेट त्यस क्षेत्रमा गएर विभिन्न विकासका कामहरु भएका छन् भने कतिपय योजनाहरु क्रमागत अवस्थामा रहेको पूर्वमन्त्रीसमेत रहेका विजयकुमार विश्वासले जानकारी दिए ।

ग्रामथानमा मोतिपुर–गिदनिया सडक ३८ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको छ भने दशकौंदेखि अलपत्र छोडिएको गिदनिया खोलाको पुल यसै अवधिमा निर्माण सम्पन्न भएको छ । उक्त खोलामा पुल नहुँदा रोजगारका लागि सुनसरीको दुहबी र मोरङको बुढीगंगा जाने कामदार श्रमिकहरुले लामो दुरी घुम्न बाध्य थिए ।

सामाजिक र सामुदायिक विकास तर्फ पनि यस अवधिमा निकै काम भएको पाइएको छ । ग्रामथानका ७ वटा वडाहरुमा ८ वटा सामुदायिक भवनहरु निर्माण भएका छन् । विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित मठ, मन्दिर, ग्रामथान, चर्च आदिको विकासमा समानुपातिक रुपमा योजनाहरु विनियोजन गर्न उनीहरुले पहल गरेको भन्दै स्थानीयहरुले सन्तुष्टि व्यक्त गरेका छन् । लखन्तरीको राधाकृष्ण मन्दिर, ७ नम्बर वडाको बजरंगाबली मन्दिर आदिको स्तरोन्नतिका लागि पूर्वसांसद विश्वासले बजेट व्यवस्थापन गरिदिएको स्थानीयले सम्झना गरेका छन् ।
स्थानीय रोशन माझीले भने ‘चुनाव अघिसम्म ग्रामथानमा धेरै काम भयो, अहिले पनि कामहरु भइरहेका छन्, सबैलाई समान ढंगले योजना बाँड्ने काइदाले गर्दा माओवादीले यहाँबाट चुनावमा फाइदा पनि लिइरहेको छ ।’

अहिले नेताचोकबाट सुनसरीको खनारजाने नहरमा झण्डै १४ करोड रुपैयाँको बजेट कार्यान्वयनकै चरणमा छ । सिद्राहा, मोतिपुर र लखन्तरी खानेपानी आयोजना निर्माणाधीन रहेको सांसद अमनलाल मोदीले जानकारी दिए । मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएको बेला तराई मधेश समृद्धि कार्यक्रम अन्तरगत विनियोजन भएकहो एक अर्ब रुपैयाँ मध्ये करिब ३० करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममार्फत खर्च गरेका थिए । सोही कारणले तत्कालीन समयमा विपक्षी दलले संसदमा उनको विरोधसमेत गरेको थियो ।

यस अवधिमा ग्रामथानको वडा नम्बर ३ र ७ मा दुईवटा खेलमैदान निर्माण भएको छ । मोतिपुर र कोरियाडाँगीको मर्चनीयामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।
पब्लिक क्याम्पसमा चारतले भवन निर्माण भई पूर्वाधारको समस्या समाधान गर्नेतर्फ दुवै सांसदहरुले अधिकतम योगदान गरेको प्राध्यापकहरु खुलेरै बताउँछन् । त्यसबाहेक भूमिहीन सुकुम्बासीका लागि नमूना बस्ती, जनता आवास, बजरंगबली सिमसार संरक्षण आदि थुप्रै पूर्वाधार विकासका कामहरु ग्रामथानमा भएका छन् ।
झोराहाटस्थित सरस्वती माध्यामिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन सुरु गर्न, विद्यालय परिसर सुधार गर्न, अन्य विद्यालयहरुको कक्षा कोठा र स्वच्छ खानेपानी आदि योजनाहरु सञ्चालन हुनुमा पनि सांसदद्वयको भूमिका रहेको पाइएको छ ।

आइतबार, ०२ मंसिर, २०८१, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर