संखुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजनाप्रभावित क्षेत्रमा ९८ प्रतिशत बढी मुआब्जा रकम वितरण गरिएको छ ।
अरुण आयोजनाका लागि भोटखोलामा २ हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजना प्रभावित क्षेत्रमा हालसम्म ९८ प्रतिशत मुआब्जा रकम वितरण भइसकेको आयोजनाले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रमा अहिलेसम्म २ अर्ब २३ करोड ६८ लाख ३४ हजार रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको आयोजनाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । हालसम्म २ हजार ५ सय ४३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको उनको भनाइ छ । विभिन्न कारणले ४८ रोपनी जग्गाको करिव ३ करोड ४३ लाख रुपैयाँ रकम भने वितरण हुन बाँकी छ ।
अप्पर अरुण आयोजनाबाट ७८८ कित्ताका ३१९ घरधुरी प्रभावित हुनेछन् । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयले मुआब्जा पाउने छन् । आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढाएको छ ।
आयोजनाले उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरेको छ । यस्तै कोशी राजमार्गले छोएको तर बस्ती नभएको हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब २६ करोड रुपैयाँ छ ।