विराटनगर : विराटनगरस्थित मुस्लिम समुदायका युवाहरुले रमजानको अवसर पारी गरिब तथा विपन्न वर्गका परिवारलाई मिठामिठा खानाका परिकारहरु बनाएर खुवाउने गरेका छन ।
उनीहरुले गत चैत्र १३ गतेदेखि सुरु भएको १ महिना लामो रमजानमा दिनभरि ब्रत बसेर बेलुका ब्रत तोडन नसक्ने परिवारलाई बेलुकीको समयमा मिठामिठा परिकार बनाएर खुवाउने गरेका हुन । स्थानीय पप्पु अन्सारीको नेतृत्वसहित युवाहरुको साथ र सहयोगमा उनीहरुले लकडाउनबाट प्रभावित घरपरिवारलाई रमजान सुरु भएदेखि नै साँझ ब्रत खोल्ने बेलामा फरक किसिमका स्वादिष्ट परिकारहरु बनाएर खुवाउँदै आएका छन । कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढदो जोखिमलाई मध्यनजर गर्दै गत चैत्र ११ गतेदेखि लागु गरिएको लकडाउन अझै पनि जारी नै छ । यस्तो परिस्थितिमा मुस्लिम समुदायका अधिकांश घरपरिवारको आयस्रोत ठप्प भई रमजानको ब्रत बस्नेहरुमा पानी खाएर ब्रत खोल्ने परिस्थिति सिर्जना भएपछि अभियानको थालनी गरिएको युवा समाजसेवी पप्पु अन्सारीले बताउनुभयो ।
उहाँले हालसम्म दैनिक २ सय देखि ३ सय घरपरिवारलाई मिठामिठा खानाका परिकारहरु पकाएर घरमै पुर्याउँदै आएको जिकिर गर्नुभयो । उहाँले रमजानभरि उक्त अभियानलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
उक्त अभियानमा भने सफिक अन्सारी, मोहम्मद अमजद अन्सारी, मोहम्मद जाबेद, मोजशीम खान, मोहम्मद अफताब, सहजाद अन्सारी र सन्दिप बसक लगायतका युवाहरुले सहजीकरण गर्दै आएका छन ।