काठमाडौं । परीक्षणको दायरा विस्तार भएसँगै मंगलबार थप २६ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति जानकारी दिएको छ ।
मंगलबार अपरान्ह नै ५७ जनामा कोरोना पुष्टि भएको थियो । थप २६ जनामा कोरोना पुष्टि भएपछि मंगलबार एकै दिन ८३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सक्रमितको संख्या २१७ पुगेको छ ।
मंगलबार अपरान्ह पर्सामा मात्र ३९ जना संक्रमित थपिएका थिए । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जनामा कोरोना पुपष्टि भएको थियो । थप परीक्षणमा पर्सामा ६ महिला र १२ पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै महोत्तरीमा २ पुरुष, धनुषामा एक महिला र एक पुरुष, सर्लाहीमा एक पुरुष, काठमाडौंमा एक महिला र भक्तपुरमा एक महिला र एक पुरुष गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।
सरकारले परीक्षणलाई विस्तार गरेसँगै ठूलो संख्याम संक्रमितहरु फेला पर्न थालेका छन् । नेपालमा अहिलेसम्म ३४ संक्रमित उपचारपछि निको भएका छन् ।