विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले हालको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरूबारे गम्भीर आपत्ति जनाएका छन् । उनका स्वकीय सचिव दिवश राजबंशीद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेविका र शैलजा आचार्य हृदयरोग केन्द्रका लागि बजेट व्यवस्थापन गरेको भन्ने दाबीलाई खण्डन गरिएको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार, कार्कीको कार्यकालमा कोशी प्रदेशका चार ठूला स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरी १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गरिएको थियो । तर वर्तमान सरकारले यो सेवा हटाएको आरोप उनले लगाएका छन् ।
साथै, महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि ल्याइएको प्रोत्साहन कार्यक्रम पनि कटौती गरिएको र शैलजा आचार्य हृदयरोग केन्द्रमा पर्याप्त बजेट र जनशक्तिको अभाव रहेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्व मुख्यमन्त्री कार्कीले वर्तमान सरकारलाई “सर्वहारा र समाजवादका नामको जनविरोधी, झुठो र भ्रामक सरकार” भनी आरोप लगाएका छन् । उनले प्रदेशवासीहरूलाई सरकारको कथित दुष्प्रचारप्रति सचेत रहन पनि भनेका छन् ।