काठमाडौं । सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो।
लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो।
ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन्।
के काठमाडौं उपत्यका जोखिमबाट मुक्त भएको हो त ? देशका विभिन्न स्थानमा कोभिड–१९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाडौं सुरक्षित नभएको विज्ञहरूको भनाइ छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाडौं उपत्यका उच्च जोखिमको सूचीमा छ।
सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ।
काठमाडौं ‘उच्च जोखिम’ मा पर्नुको कारण
श्रेष्ठ भन्छन्, ‘काठमाडौं अहिले पनि रेड जोनमा छ।’
जनसङ्ख्याको अनुपातमा काठमाडौं उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ।
तर, मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकालेु उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।
त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन्।
काठमाडौं उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्।
काठमाडौं उपत्यकामा बाहिरबाट मानिसहरू नआउन सकुन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्।
परीक्षण बढाइँदै
अधिकारीहरूका अनुसार जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित सङ्क्रमितहरूको सम्पर्कमा रहेका र सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन।
यसअघि ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण नगरिएको समाचारहरू आएका थिए।
– बिबिसी