कोशी प्रदेशमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या नबढाउने बताएका छन् ।

नेपाली काँग्रेसले मन्त्रालय संख्या बढाउनुपर्ने दबाब दिइरहेको बेला काठमाडौं पुगेर फर्किएका मुख्यमन्त्री कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने स्पष्ट पारे ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् । प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँग पनि मन्त्रालय नफुटाउने कुराकानी भएको उनले बताए ।

‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ’ उनले भने, ‘अहिले कायम रहेकै मन्त्रालयमा एक–दुई दिनभित्र काँग्रेस सरकारमा सहभागी हुन्छ ।’ काँग्रेसले नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार हुने उनले दोहोर्याएका छन् ।

यसअघि काँग्रेसका नेताहरुले शीर्ष तहमा मन्त्रालयको संख्या ११ पुर्याउने सहमति भइसकेको दावी गर्दै आफ्नो तर्फबाट ५ जना मन्त्री पठाउने बताएका थिए । काँग्रेस संसदीय दलका नेता उद्धब थापाले पनि मन्त्रालय बढाउनु प्रदेशको आवश्यकता रहेको जिकिर गर्दै त्यसबारे करिब सहमति जुटेको बताएका थिए ।

आन्तरिक गुटको झगडा मिलाउन नसकेपछि गठबन्धन बनेको २ महिना पुग्न लाग्दा पनि कोशी प्रदेशमा नेपाली काँग्रेस सरकारमा सहभागी हुन सकेको छैन ।

आइतबार, ०९ भदौ, २०८१, दिउँसोको ०३:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर