अश्लिल म्यासेज पठाउने काँग्रेसका जिल्ला सदस्य घिमिरे ६ महिनाका लागि निलम्बन

विराटनगर । नेपाली काँग्रेस मोरङले जिल्ला सदस्य देवचन्द्र घिमिरेलाई ६ महिनाका लागि कारबाही गरेको छ । काँग्रेस मोरङका कार्यबहाक सभापति भक्तिनाथ माझीले गत साउन २३ गते एक पठाउँदै उनलाई कारबाही गरेको जनाएका हुन् ।

घिमिरेलाई नेविसंघकी केन्द्रीय सदस्य एक महिलालाई चरित्र हत्या हुने गरी अश्लिल शब्दहरु वाट्सएप र म्यासेन्जरमा पठाएको आरोप लागेको थियो । ‘नेविसंघ केन्द्रीय सदस्य…. लाई चरित्र हत्या हुने गरी अश्लिल शब्दहरु वाट्सएप र म्यासेन्जरमा पठाई पार्टीको साख गिराउने काम गरेको एवम् जिल्ला पार्टी पदाधिकारीहरुलाई समेत म्यासेन्जर मार्फत गाली गलौजका शब्द लेखि प्रसारण गरी पार्टीको गरिमा एवं विधान विपरीत अनुशासनहित काम गरेको’, घिमिरेलाई पठाएको पत्रमा उल्लेख छ ।

काँग्रेसको विधान २०१७ (संशोधन सहित) परिच्छेद ९ को दफा ३४ (१) को (क), (ङ), (च) बमोजिम पूर्ण रुपमा कसूर गरेको देखिएको हुँदा सो सम्बन्धमा नेपाली काँग्रेस मोरङ अनुशासन विभागबाट छानविन एवम् अनुसन्धान समेत सम्पन्न गरी घिमिरेलाई काँग्रेसको साधरण सदस्यता समेतबाट निलम्बन गर्ने भनि सिफारिस भएको थियो । सोही सिफारिसलाई आधार मानि काँग्रेसको गत साउन २१ गते बसेको पदाधिकारी बैठकले जिल्ला कार्य समिति सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको जनाइएको छ ।

 

शनिबार, ०८ भदौ, २०८१, साँझको ०६:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर