एमालेको कलह : पार्टीभित्रकै विपक्षीलाई पेल्न आचारसंहिताको फण्डा

‘कार्यकर्ताले शीर्ष नेताहरू कसैलाई भेट्न जाँदा पनि किन गइस् भनेर प्रश्न उठाउँछन्’

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको अन्तरविरोध भुसको आगो जस्तै भएको छ । उक्त अन्तरविरोधको समाधानका लागि भन्दै एमाले कोशी प्रदेश समितिले १३ बुँदे आचार संहिता जारी गरेको छ । जुन आचारसंहिता पार्टी भित्रकै विरोधी खेमालाई अनुशासनको डण्डा चलाउने हतियार बनाउन सक्ने भन्दै फरक विचार राख्नेहरु सबै सशंकित छन् ।

एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले जारी गरेको आचारसंहितामा पार्टीको गोपनीयता भङ्ग गरी अनधिकृत मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न बन्द गर्न, नेतृत्वविरुद्ध फेसबुकमा नलेख्न, ठाउँ कुठाउँ पार्टी विरुद्ध नबोल्न चेतावनी दिइएको छ ।

एमालेले कार्यकर्तालाई मात्रै होइन पार्टीभित्र भइरहेको गुटबन्दीमा नेताकै तहबाट हुने गुटगत गतिविधिलाई पनि नियन्त्रण गर्ने मनसाय राखेको देखिन्छ । सोही अनुसार आचारसंहितामा गुटबन्दी पूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका बैठकहरू गर्ने काम नगर्न, कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिंड्ने खेती नगर्न र कुनै पनि अन्तरविरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्तालाई मुछ्न वा विभाजित गर्ने कार्य नगर्न भनिएको छ ।

एमाले कोशी प्रदेश कमिटीले गरेको उक्त निर्णयप्रति एमालेकै कतिपय नेताहरु असन्तुष्टी व्यक्त गर्छन् । ‘हाम्रो पार्टीले अहिले नै यस्तो आचारसंहिता किन जारी गर्नुप¥यो ? एमालेमा गुटबन्दीको अभ्यास सुरु भएको हो र ? या पार्टी कमिटीहरुमा अन्तरविरोध चुलिएको हो ? हो भने त्यसको समाधान त राजनीतिक तरिकाले हुनुपर्छ । यो त सिधै कारबाहीको धम्की दिइएको छ,’ एक नेताले भने ।

एमालेका कतिपय नेताहरु मोरङका अध्यक्ष बाबुराम कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अन्तरविरोधलाई बढाउने प्रयास गरिरहेको बताउँछन् । ‘विधि एकातिर छ, निर्णय अर्कोतिर भइरहेको छ,’ एमालेका अर्का कार्यकर्ता भन्छन्, ‘ पार्टीभित्र फरक विचार राख्ने सबै सशंकित छन् । विधि विधान मिचेर उहाँहरुले नै काम गरिरहनु भएको छ । जिल्लाको अन्तरविरोध प्रदेशमा पुगेको छ । त्यही भएर उहाँहरुले आचारसंहिताको फण्डा ल्याउनु भयो ।’

उनले पार्टी कमिटीभित्र फरक विचार राख्नै नपाउने परिस्थिति निर्माण भएको बताए । ‘उहाँहरुले पार्टी भित्रका असहमत पक्ष सबैलाई हान्दै जाने योजना बनाए जस्तो देखिन्छ । विपक्षमा बोल्ने, गलत कुराको विरोध गर्नेहरुलाई आउट गरेर ‘मेरो पक्षमा बोल्छस् कि बोल्दैनस्’ भनेर सोधेर मात्रै पार्टी कमिटीमा राख्ने नीति लिएको देखिन्छ,’ ती कार्यकर्ता भन्छन्, ‘पार्टी कार्यकर्ताले शीर्ष नेताहरु कसैलाई भेट्न जाँदा पनि किन गइस् भनेर प्रश्न उठाउँछन् । हाम्रो नेतालाई हामी कार्यकर्ताले भेट्न नपाउने ? यसले मिसन ८४ सफल बनाउने होइन, ८१ मै पार्टी कमजोर हुने देखियो ।’

कार्यकर्तालाई अनुशासनमा राख्नका लागि पार्टीको विधान छ । विधान अनुसार नियमावली छ । अनुशासन विभाग पनि छ । तर, कोशी प्रदेशमा किन छुट्टै आचारसंहिता चाहियो ? विधान पालना गरे हुँदैन भन्ने प्रश्न गर्दै अर्का एमाले नेता भन्छन्, ‘यो बेकारको कुरा हो । पार्टी विधान छँदैछ । विधानअनुसार पार्टी चल्ने हो । अहिले महाधिवेशन पनि छैन । केही छैन । यस्तो अवस्थामा के आइलागेको हो ? अलिअलि विगतका तुष्टि होलान् साथीभाइहरूको । नपाउनेले के पायो के सित खायो भनेजस्तै भएको छ अहिले पार्टी ।’

एमालेको २०८० असोज १२ र १३ गते भएको कोशी प्रदेशको अधिवेशनदेखि नै आन्तरिक अन्तरविरोध चुलिएको हो । त्यसबेला एमालेका नेता विनोद ढकालले पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । यद्यपि निर्वाचनबाट घनश्याम खतिवडा निर्वाचित भए ।

खतिवडा निर्वाचित भएपछि ढकाल पक्षका नेता कार्यकर्तालाई हेर्ने दृष्टिकोण फरक हुन थालेको ढकाल पक्षका कतिपय नेताहरु नै बताउँछन् । अहिले आएको आचारसंहिताले पनि ढकाल पक्षका नेता कार्यकर्तालाई तर्साउन ल्याइएको कतिपय बताउँछन् ।

यस्तै एमालेमा अन्तरविरोध बढ्ने दोस्रो कारण भनेको विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचन हो । उक्त निर्वाचनमा एमालेका तत्कालीन नगर अध्यक्ष सागर थापा समूह र मोरङ एमाले अध्यक्ष बाबुराम कार्की पक्षले छुट्टा छुट्टै उम्मेद्वार बनाएको थियो । त्यसपछि पार्टी निर्णय विपरीत गएको भन्दै थापासहितका नेता कार्यकर्तालाई जिल्ला अध्यक्ष कार्कीले कारबाही सिफारिस गरिएको थियो । उनले गरेको कारबाहीको विषयलाई प्रदेश समितिले अनुमोदन गरेको छ । तर, विराटनगर महानगरपालिका र मोरङको पार्टीभित्र पकड जमाएको थापा समूहले तीब्र विरोध गर्दै कुरा उठाउन थालेपछि उनीहरुलाई कन्ट्रोल गर्न प्रदेश समिति नै लाग्नु पर्ने देखिएको छ । एमाले भित्रको आन्तरिक विवादकै कारण अहिलेसम्म मोरङ, इलाम र तेह्रथुम जिल्लाको अधिवेशन हुन सकेको छैन ।

मङ्गलबार, ०४ भदौ, २०८१, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर