प्रदेशसभा बैठक बोलाउन एमालेको पनि माग

नेपाली काँग्रेसलाई सत्ता पक्षमा राख्ने कि प्रतिपक्षमा भन्ने समस्या छः सभामुख

विराटनगर ।कोशी प्रदेशसभालाई बन्धक बनाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाइरहेको बेला नेकपा एमालेले पनि प्रदेशसभाको बैठक राख्न माग गरेको छ ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभाको वर्षे अधिवेशन स्थगित भएको दुई महिना पुग्न लागेको भन्दै तत्काल बैठक बोलाउन सभामुखलाई आग्रह गरेका छन् ।

‘प्रदेशसभा बैठक अब बोलाउनु पर्छ, अधिवेशन कन्टिन्यु रहेकोले स्थगित भएको बैठक सभामुखले बोलाउनुपर्छ’ उनले भने, ‘दुईवटा बिधेयकसँगै जनसरोकारका धेरै विषय छलफल गर्नुपर्ने भएकोले बैठक बोलाउनुपर्छ ।’ सभामुखले दलका नेताहरुलाई जानकारी दिएर अब बैठक बोलाउनुपर्ने उनले बताए ।

चालु आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित भएको प्रदेशसभाको बैठक अझै बसेको छैन । बजेट कार्यान्वयनको विषय, दैवि प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए ।

यसअघि सरकारले नेपाली काँग्रेस पनि मन्त्रिपरिष्दमा सहभागी भएपछि बैठक राख्नुपर्ने बताइरहेकोमा सरकारको नेतृत्वकर्ता दल नै बैठक राख्नुपर्ने पक्षमा उभिएको छ । ‘मैले सभामुखसँग पनि परामर्श गर्छु, मुख्यमन्त्रीसँग पनि कुरा गरेको छ’ भण्डारीले भने, ‘एमालेका सांसदहरुले पनि तत्काल बैठक राख्न दबाब दिनुभएको छ ।’

भण्डारीले बाढी पहिरो गएको, जनताको अनेक समस्या रहेको अवस्थामा पनि संसद नचल्नु उचित नभएको बताएका छन् । ‘अब नियमित अधिवेशनको नियमित बैठक बोलाउनु आवश्यक छ । सरकारमा काँग्रेस कहिले आउँछ भनेर पर्खिएर संसदलाई रोक्नु हुँदैन,’ उनले भने, ‘सभामुखलाई दलका नेताहरुलाई भनुन् भन्ने लागेको होला । दलका नेताहरुले उहाँहरुलाई नभन्नु भएको होला । तर, अब चाँडै बैठक बस्नुपर्छ ।’

प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टले भने आफूलाई प्रदेशसभा बैठक बोलाउन कुनै समस्या नभएपनि केही प्राविधिक अप्ठ्यारो रहेको बताएका छन् । नेपाली काँग्रेसलाई सत्ता पक्षमा राख्ने कि प्रतिपक्षमा भन्ने स्पष्ट नभएको उनले बताए । ‘सरकारमा पनि गएको छैन । फेरि माओवादीले पनि समर्थन फिर्ता लिइसकेको अवस्था छैन’ उनले भने, ‘सरकारले भदौको पहिलो हप्ताभित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताएकोले त्यसपछि बैठक बस्नुपर्छ भन्ने मुख्यमन्त्रीसँग सल्लाह भएको छ ।’

बैठक बोलाउन एमालेले पनि माग गरेको विषयमा सभामुख बिष्टले एमाले प्रमुख सचेतकले जानीजानी बुझ पचाएको आरोप लगाएका छन् । आफूले बैठक रोक्नुपर्ने कुनै कारण नभएको भन्दै उनले सांसदहरुले पनि जनताको कुरा उठाउन नपाएकोमा आफूलाई पनि समस्या भएको जनाए । ‘मेरो त काम नै सभा चलाउने हो । मैले रोक्नु पर्ने कुनै कारण छैन । कैयौं विधेयकहरु आएको छ’ उनले भने, ‘मैले त साउनको ३–४ गते नै बस्नुपर्छ भनेर मुख्यमन्त्रीसँग सल्लाह गरेको हुँ, उहाँले नै केहि दिन भन्दै साउन कटाउनु भयो ।’

अझै भदौको १२ गतेभन्दा अगाडि प्रदेशसभा बैठक बस्छ भन्ने विश्वास नरहेको बिष्टले बताएका छन् । ‘७–८ गतेसम्ममा सरकारको विषय सक्नुहोला, ११ गते राधाकृष्ण रथयात्रा छ’ उनले भने, ‘त्यसपछि १२ गते, १३ गतेतिर बैठक बस्ला कि ?’

असार ८ गतेको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित भएको थियो । बजेट पारित भएको एक हप्तापछि केन्द्रीय समीकरणमा फेरबदल हुँदा काँग्रेस र एमाले मिलेका थिए । त्यसपछि एक्लिएको माओवादी केन्द्र प्रदेश सरकारबाट गत साउन ११ गते बाहिरिसकेको छ ।

माओवादी सरकारबाट बाहिरिएको एक महिना पुग्न लाग्दा पनि काँग्रेस सरकारमा सहभागी भएको छैन । काँग्रेस सरकारमा सहभागी भएपछि मात्रै प्रदेशसभा बैठक राख्ने टुंगो हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । ‘उहाँहरु (काँग्रेस)ले केही दिन प्रदेशसभाको बैठक रोकौं भन्नु भएको छ, त्यही कारण रोकिएको हो’ उनले भने, ‘सम्भवतः भदौको पहिलो साता प्रदेशसभा बैठक बोलाउँछौं ।’

सोमबार, ०३ भदौ, २०८१, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर