मनमोहनबाट एक हजारले लिए सीप परीक्षण प्रमाणपत्र

विराटनगर । व्यवहारिक रुपमा बजारमा विभिन्न सीपमूलक काम गर्दै आएका जनशक्तिहरुले मनमोहन प्राविधिक विश्वविश्द्यालय पोलिटेक्निकबाट सीप परीक्षण गराएर प्रमाणपत्र लिन थालेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकले फुटकर रुपमा काम गरिरहेका जनशक्तिहरुको सीप परीक्षण गरी आधिकारिक रुपमा योग्यताको प्रमाणपत्र उपलब्ध गराइरहेको छ । विभिन्न क्षेत्रमा काम गर्दै आएका सीम जानेका जनशक्तिहरुले विश्वविद्यालयको यस कार्यक्रमबाट लाभ लिइरहेका छन् ।

पोलिटेक्निकबाट पेन्टर, इलेक्ट्रिक, मार्वल, प्लम्बर, भवन निर्माण, एसी, वेल्डिङलगायत विभिन्न १३ क्षेत्रमा काम गर्दै आएका ७० जनाको सीप परीक्षण गरी उत्तीर्ण भएकाहरुलाई बुधबार दक्षताको प्रमाणपत्र प्रदान गरिएको छ । सीप परीक्षणमा उत्तीर्ण भएका जनशक्तिहरुलाई कोशी प्रदेश समाजिक विकास मन्त्रालयका अधिकृत ढुण्डिराज पौडेल र पोलिटेक्निका प्राचार्य सुदिप अधिकारीलगायतले प्रमाणपत्र प्रदान गरे ।

इन्जिनियर अधिकारीका अनुसार सिटिइभिटी मार्फत् अनुमति प्राप्त गरेपछि पोलिटेक्निकले विभिन्न क्षेत्रमा स्वतःस्फुर्त सिकेर काम गर्ने जनशक्तिहरुलाई शिक्षालयमा सीप परीक्षण गराएर प्रमाणपत्र प्रदान गर्दैआएको छ । उनका अनुसार हालसम्म मनमोहन पोलिटेक्निकबाट एक हजार भन्दा बढीले सीप परीक्षण गराएर प्रमाणपत्र लिइसकेका छन् । मनमोहनमा कोशी प्रदेशभरका जिल्लाहरुबाट मिस्त्रीहरु सीप परीक्षणका लागि पुग्ने गरेका छन् । त्यसरी सीप परीक्षण गराउन आवेदन दिनेहरुको सीप परीक्षण गरी उनीहरुको योग्यता मापन गर्ने र दक्ष, अर्धदक्ष आदि योग्यताको प्रमाणपत्र पोलिटेक्निकले जारी गर्ने गरेको छ ।

विभिन्न क्षेत्रमा काम गर्दै आएका जनशक्तिहरुले सीप परीक्षण नगराउँदा कामको गुणस्तर र त्यसमा विश्वसनीयता कायम गर्न नसकिने अवस्था थियो । सरकारले तोकेको प्राविधिक शिक्षालयमा परिक्षा दिएर सीप परीक्षण गराएपछि मात्र विभिन्न क्षेत्रमा काम गर्ने मिस्त्रीहरु दक्ष भएको मानिने व्यवस्था छ । सीप परीक्षण गराउने मिस्त्रीहरुले हरेक वर्ष आप्mनो पालिकामा प्रमाणपत्र नवीकरण गराउनु पर्ने व्यवस्थासमेत गरिएको छ । सीप परीक्षण गराएकाहरुले सरकारी सेवामा रोजगार गर्न चाहेको खण्डमा प्रमाणपत्रले मान्यता प्राप्त गर्दछ ।

बिहिबार, ३१ साउन, २०८१, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर