उडेको ३ मिनेटमै दुर्घटना : पाइलट र चार चिनियाँ पर्यटकको मृत्यु

विराटनगर । नुवाकोटमा बुधबार त्रिभुवन विमानस्थलबाट उडेको ३ मिनेटमै परेको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको खुलेको छ ।

टावरसँग सम्पर्कमा रहँदै नर्मलरूपमा उडान गरेको हेलिकप्टर एप्रोच कन्ट्रोलमा पुगेपछि सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर १ः५७ मा सम्पर्कविहीन भएको थियो । क्प्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा चार चिनिया पर्यटक सवार थिए । उनीहरु सबैको मृत्यु भएको छ ।

हेलिकप्टर उडान भरेको तीन किलोमिटरसम्म विमानस्थलको टावरसँग सम्पर्कमा रहन्छ । ३ किलोमिटर देखि १० किलोमिटरसम्म एप्रोच कन्ट्रोलमा सम्पर्कमा रहन्छ । त्यसपछि १ सय किलोमिटर पार गरेपछि एरिया कन्ट्रोलमा सम्पर्क गर्छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका ७ मा पहाडको चुचुरोमा ठोक्किएर हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । शिवपुरी ७ का वडाध्यक्ष वीरबहादुर तामाङका अनुसार ५ जनाको शव जलेको अवस्थामा फेला परेको छ । चुचुरोमा ठोकिएर दुर्घटना भएजस्तो देखिएको जानकारी दिँदै उनले हेलिकप्टर टुक्रा–टुक्रा भएको पाइएको बताए ।

दुर्घटनामा पाइलट मल्लसहित चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको छ । खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको स्थानीयले बताएका छन् ।

दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको थियो ।

बुधबार, २३ साउन, २०८१, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर