ड्रागन खेतीमा एसपी पोखरेल

विराटनगर । उच्च ओहोदामा पुगेका प्रहरी अधिकारीहरु पदमा छँदै कृषि कर्ममा लागेको बिरलै भेटिन्छ । प्रहरी उपरीक्षक (एसपी) दिपक पोखरेल कृषि कर्म गरिरहेका बहालवाला थोरै प्रहरी अधिकारीमध्येका एक हुन् । झापा मेचीनगर नगरपालिका १० का स्थायी बासिन्दा पोखरेल विगत पाँच वर्षदेखि ड्रागन फ्रुटको खेतीमा रमाइरहेका प्रहरी अधिकृत हुन् ।

एसपी पोखरेलले घर नजिकैको तीन बिघा जमिनमा २०७६ सालदेखि ड्रागन खेती गर्दै आएका छन् । सुरुमा एक करोड रुपैयाँ लगानी गरेर उनले एक हजार पोलमा ३ हजार ड्रागनका बिरुवा रोपे । अहिले तिनै बिरुवा हुर्केर नियमित उत्पादन दिइरहेको छ । ड्रागन खेतीबाट भएको आम्दानीबाट उनी सन्तुष्ट पनि छन् ।

कृषक परिवारमा जन्मिएका एसपी पोखरेल सानैदेखि बुबाआमाले झैं कृषि कर्ममा रुचि राख्थे । यसैले आफू प्रहरी सेवाको उच्च पदमा पुगे पनि उनले कृषि कर्मलाई बिर्सन चाहेनन् । बरु आफ्नो जन्मगाउँमै केही गर्नुपर्छ भनेर जागिरमा कमाएको पैसा सहरको घरजग्गामा खर्चिनु भन्दा उत्पादनमूलक पेसामा लगानी गर्ने सोच बनाए । यसैले उनले राम्रो अध्ययन गरेर नागरिक लगानी कोषबाट ऋण लिए । सुरुमा त्यो पैसा काठमाडौंमा घडेरी र घर बनाउन खर्चिने कि भन्ने पनि सोचेका थिए तर उनले त्यसो नगरी गाउँमै ड्रागन खेती गर्ने निधो गरे । त्यसपछि उनले भारतको हैदरावाद पुगेर ड्रागन खेतीको अध्यन गरे । खेतीको अध्ययनपछि उनले त्यहिँबाट उन्नत जातको बिरुवा ल्याएर रोपे । ती बिरुवाले करिब एक वर्षपछि नै उत्पादन दिन थाल्यो । भर्खरभर्खर बजारमा ड्रागनको परिचय भइरहेको बेलामा पूर्वी नेपालमा उनको उत्पादनले सजिलै बजार पायो । त्यसबाट उनले राम्रो आम्दानी लिन थाले । सुरुमा रातो ड्रागन मात्र लगाएका उनले अहिले सेतो र पहेंलो फल दिने बिरुवा पनि लगाएका छन् ।

पाराडाइज नामको कृषि फर्म दर्ता गरेर ड्रागनको व्यावसायिक खेती गरिरहेका एसपी पोखरेल चौविसै घण्टा सेवामा खटिनु पर्ने प्रहरी भएकोले सधैँ समय दिन भ्याउँदैनन् । खेतीमा पत्नी भावना अधिकारीले साथ दिँदैआएकी छन् । दिपकको निर्देशनमा पत्नी भावनाले नै खेतीमा नयाँ बिरुवा हुर्काउने, गोडमेल गर्ने, मलपानी मिलाउने, कामदार खटाउनेदेखि उत्पादन संकलन गरी बजारमा बिक्री गर्नेसम्मको काम गर्दै आइरहकी छन् । खेतीमा प्रत्यक्षरुपमा चार जनालाई र अप्रत्यक्ष रुपमा करिब दुई दर्जन व्यक्तिलाई रोजगारी दिएका छन् । ड्रागन तयार भएपछि टिप्ने, छनोट गर्ने, बजारमा लैजाने र बिक्री गर्ने आदि कामबाट ती जनशक्ति संलग्न हुन्छन् । ड्रागन खेतीमा एक वर्षमा २५ ट्रयाक्टरभन्दा बढि गोबर मल प्रयोग गर्छन् । ठूलो परिमाणमा गोबर मल आवश्यक पर्ने भएकोले स्थानीय पशुपालक किसानहरुले पनि उक्त खेतीबाट लाभ पाएका छन् ।

एसपी दिपकको ड्रागन फलको व्यवसायिक खेती भइरहेको बगैंचा मेचीनगरमा नमूनाको रुपमा छ । उनको खेती हेर्न दैनिक मानिसहरु पुग्ने गरेका छन् । खेती हेरेर हौसला बढाउन एमाले अध्यक्ष केपी ओलीदेखि अरु धेरै नेताहरु पनि उनको फर्ममा पुगेका छन् ।ड्रागन खेतीको बजार नेपालमा राम्रो रहेको तर अध्ययन बिना हल्लाकै भरमा हौसिएर लगानी गर्नेहरु पनि धेरै छन् । एसपी पोखरेल त्यसरी हौसिएर कसैलाई पनि खेती नगर्न सुझाव दिन्छन् । धेरै राम्रो कमाइ हुन्छ मेहनत पनि धेरै गर्न नपर्ने, एक पटक लगाएपछि वर्षांैसम्म उत्पादन लिनसकिन्छ भन्ने हल्ला सुनेकै भरमा मानिसहरुले अध्ययन नगरी खेतीमा लगानी गर्ने गरेका कारण सोचेजस्तो आम्दानी नहुँदा निरास हुने गरेको उनी बताउँछन् । ‘आम्दानी नहुने होइन तर अध्ययन नगर्दा जे सोचेर लगानी गर्छन् त्यसअनुसार कमाइ नभएपछि धेरैमा निराशा आएको पाएको छु त्यसैले अध्ययन गरेर लगानी गर्नु राम्रो हुन्छ,’ उनले भने ।

ड्रागन खेतीको नेपालमा राम्रो संभावना रहेकोले सरकारले नीति बनाएर कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् । सरकारले ड्रागन खेतीलाई सोझै अनुदान दिएर हैन उत्पादन भएको फल खरिद बिक्री गर्ने, र त्यसलाई लामो समय सुरक्षित राख्न कोल्ड स्टोरेजहरुको प्रबन्ध गर्ने तर्फ काम गरेर किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

एसपी पोखरेलका अनुसार उत्पादन कम भएकोले पहिले ड्रागनको बजार धेरै राम्रो थियो । तर, अहिले उत्पादन बढेसँगै मूल्यमा गिरावट आएको छ । यद्यपि लगानी नै डुब्ने गरी घाटा हुने अवस्था भने नभएको उनी बताउँछन् । उत्पादन बढेसँगै पहिलेको तुलनामा वस्तुको मूल्य पाउन सक्ने अवस्था नभएको तर बजारको कमी चाहिँ नरहेको उनी बताउँछन् ।

अहिले बजारमा ड्रागन फल प्रतिकेजी चारसय रुपैयासम्म बिक्री भइरहेको छ । तेस्रो मुलुक निर्यात गर्नसकेमा अझै राम्रो मूल्य पाउन सक्ने अवस्था कायमै छ ।ड्रागन स्वास्थ्यबर्धक र स्वादिलो फल मानिन्छ । तर फलको बजारीकरण र खाने बानीको विकास भइसकेको छैन । जसले गर्दा ठूला मल र मार्टहरुमा मात्र यसको बिक्री हुन्छ । खुद्रा बजारमा अन्य फलफुलझैं यो फलको बिक्री हुने अवस्था अझै बनिसकेको छैन । सरकारले प्रोत्साहन गरेमा फलफुल पसलमा स्याउ झैं ड्रागन पनि बिक्रि गर्न सकिने एसपी पोखरेल बताउँछन् । उनी भन्छन्, ‘हरेक पसलमा स्याउझैं ड्रागन फल बिक्री हुन थाल्यो भने मात्र व्यवसायिक खेती अझै राम्ररी फस्टाउँछ र धेरै जना कृषक र व्यापारीहरुले राम्रो आम्दानी गर्न सक्छन् ।’

हात्तीे प्रभावित ठाउँका लागि उपयुक्त !

एसपी पोखरेलका अनुसार महंगो भएकोले ड्रागन खेती गर्दा काँडेतार लगाएर घेराबारा गर्दा बढि सुरक्षित हुन्छ । यसैले हात्तीले हत्तपत्त नष्ट गर्दैन । हात्ती प्रभावित क्षेत्रमा ड्रागन खेती गरेमा बाली सुरक्षित हुनसक्छ । झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा सरकारले अनुसन्धान गरेर कृषकलाई अनुदान दिएर ड्रागन खेती गर्न प्रोत्साहन गर्न सक्ने एसपी पोखरेल बताउँछन् । भन्छन्, ‘मेरोमा एकपल्ट दुईवटा हात्ती छिरेका थिए तर बालीमा कुनै क्षति पु¥याएन । त्यसैले पनि मलाई लाग्यो हात्ती प्रभावित क्षेत्रमा या खेती उपयुक्त हुन्छ, यस विषयमा सरकारले अध्ययन गरेर योजना बनाउँदा राम्रो हुन्छ ।’

आइतबार, २० साउन, २०८१, बिहानको ०८:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर